PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोदीको वक्तव्य नआउन्जेल धैर्य गरेर बस्नुपर्छ : भारतका लागि नेपाली राजदूत



मोदीको वक्तव्य नआउन्जेल धैर्य गरेर बस्नुपर्छ : भारतका लागि नेपाली राजदूत

  • दीपकुमार उपाध्याय -
म अलिकति व्यस्त नै थिएँ, तैपनि व्यवसायी साथीहरुले अनुरोध गर्नुभयो र नाइँ भन्न नसकेर आएको हुँ । अहिलेको मेरो भूमिका हेर्नु हुन्छ भने म नेपालको राजदूत हुँ । त्यो भनेको म सिंगो नेपालकै दूत हुँ । यो अवस्थामा मेरो भूमिका भनेको नेपालमा आज असहज परिस्‍थिति किन आयो र यसको छिटो समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित होस् भन्ने हो।
 
मैले भन्ने गरेको छु, कसैले पनि आफ्नो घरमा आगो लगाउन चाहन्छ र ? चाँहदैन नि, तर कहिलेकाँही दुर्घटना त  हुन्छ, लाग्छ कहिलेकाँही। त्यसलाई पनि कसरी निभाउने भन्नेमा हामीले छिटोभन्दा छिटो काम गर्नुपर्छ । कसको कारणले लाग्यो भनेर हेरेर बस्न त हुँदैन। आज नेपालको अवस्था आगो लागेकै जस्तो छ। अरु काम हामी पछि गरौंला तर हामीले अहिले यो समस्या समाधान गर्नुपर्छ।
 
अहिले सबैभन्दा ठूलो समस्‍या पेट्रोलियम पदार्थको छ। परेको बेलामा हामीले महशुस पनि गरेका छौं। सरकारले क्षमता बढाउनेतिर काम गर्नुपर्थ्यो । यसबारे कुरा धेरै भयो तर काम भएन । यस्ता लाइफ लाइन वस्तुको भण्डार तीन महिनासम्मका लागि गर्नुपर्छ जसमा निजी क्षेत्रलाई पनि समावेश गराउनु पर्छ। आयल निगमलाई पनि थोरै मात्रै क्षमता बढाउने हो भने काम गर्नुपर्थ्यो तर भएन ।
 
अब यो वातावरण अन्त्य गर्नु अहिलेको ठूलो चुनौति भएको छ। पहिलो कुरा त हाम्रो आन्तरिक कारणले जे जति समस्या भएका छन् त्यसको निराकरण गर्नुपर्‍यो । मैले के पाएँ भने वार्ता गर्नुपर्छ भनेर सबैले भन्ने तर वार्ता चाँही कहिल्यै नहुने । समस्या समाधान गर्नैपर्छ भनेर अहिले वार्ता टोली पनि गठन भएको छ । म काठमाडौं आएर धेरै ठाउँमा धेरै कुरा गरेको छु र आशावादी पनि छु। वार्ता गरेरै राजनीतिक रुपबाट समस्या समाधान हुन्छ । दलभित्रका सभासद्ले पनि संविधान जारी गर्ने बेलामा यो कुरा उठाएका थिए । तर पहिले संविधान जारी गरौं अरु कुरा पछि मिल्छ भन्ने विश्वास सबैमा भयो । तर समस्या समाधान हुन सकेन । अहिले जति समस्या देखिएका छन् ती समस्या त्यति ठूला छैनन् । राष्ट्र र जनताको हितमा सबैले जिम्मेवार भएर निकास निकाल्नु पर्छ ।
 
भारतका प्रधानमन्त्री मोदी जीको दुई पटकको भारत भ्रमणपछि नेपाल भारत सम्बन्धको जनप्रियता उच्च रुपमा बढेको थियो । मोदीले बोलेकै भरमा पनि सम्बन्ध उचाईमा पुगेको थियो । अहिले जे जति समस्या आएका छन् त्यो हुन नपर्ने थियो तर भयो । अब लागिसकेको आगो निभाउन सबैले लाग्नु पर्छ । सबैभन्दा बढ्ता मारमा जनता परेका छन् । दुई महिना हुन लाग्यो उद्योग व्यवसाय ठप्प छन् । देशका आर्थिक गतिविधि ठप्प भएका छन् । अहिलेको अवस्था उच्चतम विन्दुमा पुगिसक्यो त्यसैले हामीले समस्या समाधान गर्न लाग्नुपर्छ । अहिले वार्ता टोली बनेको छ । मैले संकेतहरु राम्रै पाएको छु । कहिलेकाँही हाम्रो मन बहकिन पनि सक्छ । हामीलाई भगवानले बुद्धि विवेक दिएको छ । अब जे हुनु भयो भनेर त्यसलाई समाधान गर्न हामी लाग्नुपर्छ ।
 
नेपाल र भारतको सम्बन्ध धेरै पुरानो भइसकेको छ । सानातिना झोक्काले यसलाई प्रभावित पार्न दिन हुँदैन । हामी यस्ता सानातिना कुरा समाधान गरेर अगाडि बढ्नुपर्छ । जे हुनु भयो अब यसलाई अगाडि लामो समयसम्म जान नदिएर समस्या समाधान गरिहाल्नु पर्छ । हामी सबैको प्रयासले यसलाई अब समाधान गरिहाल्नु पर्छ । नेपाल र भारतको बीचमा विशेष सम्बन्ध छ । हाम्रो कारोबार भारतसँग तेस्रो मुलुकसँग भन्दा ७० प्रतिशत धेरै छ । यो हामी सबै नेपालीको लाइफ लाइन भएको छ । यसलाई पछि अहिलेको जस्तो अवस्‍था नआउने गरी समाधान गर्नुपर्छ । सकारात्मक सोच र प्रयास यसमा आवस्यक छ ।
 
हामी त बुद्ध जन्मेको देशको मान्छे, संयम र धैर्यता छोडेर अन्त लाग्नु हुँदै । अहिले त सामाजिक सञ्जालको युग छ । सामाजिक सञ्जालमा एउटा फोटो हाल्ने बित्तिकै संसारभर पुग्छ । हामीले दिल्लीमा पनि कुरा गर्न आउनेलाई सम्झाएर पठाउनुस् भनेका छौं । प्रधानमन्त्री मोदीजीको अन्तिम वक्तव्य नआउन्जेलसम्म हामीले धैर्यताका साथ बस्नुपर्छ । हामीले यसलाई सुल्झाउन सक्छौं भन्नेमा म विश्वस्त छु । अलि धैर्यता हामीलाई चाहिएको छ ।
 
मूल कुरा के हो भने अब यसपछि हामीले के गर्ने ? हामीले यी कुराबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ । पेट्रोलियम पदार्थको भण्डारण बढाउनु पर्छ । हामीले वर्षौंदेखि बढाउने कुरा गर्‍यौं तर कहिल्यै पनि बढाएनौँ । हामीले संविधानसभाबाट संविधान बनाएपछि नेपाल आर्थिक समृद्धिमा जान्छ भन्नेमा हामी विश्वस्त थियौं । यसको लेजिटिमेसीको कुरा भन्दा पनि वातावरण बनाउने कुरा पहिलो हो । हामीले भारत र नेपालको मित्रतालाई अझ कसरी प्रगाढ बनाउन सकिन्छ भन्नका लागि केन्द्रित हुनुपर्छ । यसका लागि नेपाल सरकार र भारत सरकारले काम गर्नुपर्छ । जनताले दु:ख पाएको कुराको निराकरण हुनुपर्छ । भारतसँग पनि जे भयो त्यसलाई आपसमा रिएलाइजेशन गरेर अन्त्य गर्नुपर्छ । मोदीजीको भाषणपछि जुन अवस्था थियो त्यही अवस्थामा हामीले पुर्‍याउनु पर्छ ।
 
आज विश्वमा अर्बौं रुपैयाँ खर्च गर्दा पनि शान्ति हुन सकेको छैन । अशान्ति बढ्दै छ । तर नेपाल विश्वकै नमूना देश हो भनेर मोदीजीले बजारीकरण पनि गर्नुभएको छ । नेपालमा आमने सामने भएका मर्ने मार्ने काम गरेका शक्तिहरु एक ठाउँमा आएर बसेका छन् । संविधान भनेको सहमतिको दस्तावेज पनि हो । यो अन्त्य होइन, यो सुरुवात हो । अब पूर्ण सहमतिको वातावरण बनाउन हामी लाग्नु पर्छ । आज विश्वभरी नेपालीहरु नमूना काम गरिरहेका छन् तर आफ्नै देश किन यस्तो भइरहेको छ यसको कारण खोज्नु पर्छ ।
 
हामीले अब सबै समस्या समाधान गरे आर्थिक समृद्धिको बाटोमा फड्को मार्नुछ । यसका लागि सरकार र अन्तर्राष्ट्रिय समुदायले वातावरण बनाउनु पर्छ । हामीले अब काम गर्ने भनेको पनि आर्थिक कुटनीति हो । मैले यसैका लागि कदमहरु अगाडि बढाएको छु । धेरै कुरा सकारात्मक रुपमा अगाडि बढेका छन् । त्यसैले सबै कुरा वार्ताबाटै मिल्छ भन्नेमा म विश्वस्त छु ।
 
नेपालले भूकम्पको लगत्तै धेरै कुराहरु सामना गरिरहेको छ । नेपालले अहिलेको समस्‍या समाधान गर्ने भनेको दुईवटा बाटोबाट हो । एउटा भनेको आन्तरिक समस्या समाधान गर्ने र अर्को कुटनीतिक माध्यमबाट  बाह्य समस्‍या समाधान गर्ने । जसरी एक्सप्रेस बाटोबाट संविधान जारी गर्‍यौं अबको समस्या त्यसरी समाधान गर्न सकिँदैन । नयाँ कानुन बनाउन पनि समय लाग्छ । संवैधानिक आयोग बन्न पनि  समय लाग्छ । संविधान संशोधन गर्न पनि समय लाग्छ । सबै कुराको आफ्नै प्रकृया र पद्धति छ । नेताहरुले प्रतिबद्ध भएर काम गर्ने हो भने सबै कुरा सहमतिबाटै गर्नु पर्छ । नेपालले सहमतिमा पुग्यौं भने भने भारतले किन टाउको दुखाउने ? दुख्ने कुरा पनि हुँदैन ।
 
मैले जति पनि कुरा बोलिरहेको छु, राजनीतिक तहबाट केही संकेत पाएर मात्रै बोलेको हुँ । राजनीतिक तहमा पनि केही कन्फ्लिक्ट हुन सक्छ । कहिलेकाँही पानी धमिलो हुँदा केही सल्बलाउन सक्छन् । त्यसमा त सबैले सचेत हुनैपर्छ ।
 
जहाँसम्म आर्थिक कुटनीतिको कुरा छ, त्यसका लागि म तयार छु । राजदूतावास पनि तयार छ । त्यहाँबाट केही पैसा लगाउन हामी तयार छौं । निजीक्षेत्रसँग मिलेर काम गर्न सकिन्छ । हामीले भारतको दूतावाससँग राय सल्लाह लिएर काम गर्नुपर्छ । हामीले हिजो जस्तो सरकारी कार्यक्रम भयो भन्ने जस्तो गर्ने होइन । केही उपलब्धि हुने गरी काम गर्नुपर्छ ।
 
भारतमा पेट्रोलियम पदार्थ भरेका ट्यांकर र ग्यासका बुलेट अड्किएका छन् । त्यसमा त्यस्ता ट्यांकरहरु सेन्सेटिभ कुराहरु हुन्छन् । यी कुराहरुलाई ध्यानमा ती कुराहरुलाई हाम्रोपट्टि ल्याउन सक्यौं भने त्यसलाई हाम्रै सिस्टमबाट गन्तव्यसम्म पुर्‍याउने काम गर्छौं । हामीले हाम्रो तर्फबाट काम गर्न सक्छौं भनेर उहाँहरुलाई विश्वस्त बनाएको छु । भूकम्पपछि जति सहयोग भारतबाट हामीले पायौं ती सबै कुराहरुलाई हेर्दा साना तिना कुरालाई हेर्दा हामी साना तिना कुरामा अल्झन हुन्न ।
 
अहिले म आएको पनि आफैं आएको हुँ । कसैले बोलाएर आएको होइन । प्रधानमन्त्री ज्यूलाई फोन गरें ल म त आउँछु भनेर आएको हो । मनमा चिन्ता त हुन्छ नि । म के भन्छु भने कर्तव्य गर्ने हाम्रो जिम्मा हो त्यसपछि त्यसको परिणाम आउँछ । त्यसैले सबै समस्या समाधान गर्ने हामीले हो । हामी मिलेर नै अगाडि बढ्नु पर्छ र यस्ता समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ ।
नेपाल भारत चेम्बर अफ कमर्सले आइतबार आयोजना गरेको कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले गरेको सम्बोधनको सम्पादित अंश



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell