PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​हाम्रो संविधान भारतसँग दाँज्न तयार छौंः एमाले महासचिव पोखरेल



​हाम्रो संविधान भारतसँग दाँज्न तयार छौंः एमाले महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानसभाबाट जारी संविधान भारतकोसँग दाँज्न तयार रहेको बताएका छन्।

आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भारतमा भन्दा लोकतान्त्रिक ढंगबाट नेपालमा संविधान बनेको भन्दै दाँज्न तयार रहेको बताएका हुन्। ‘भारतको संविधान नाम मात्रको थियो, यसले आयोगको रुपमा संविधान बनायो, जारी गर्दा ६५ प्रतिशत समर्थन थियो’ पोखरेलले भने ‘लोकतन्त्रको उत्कृष्ट नमुना भन्ने मुलुकको संविधान सँग दाँजिन तयार छौं।’ 

नेपाली नागरिकले मुलुकका लागि संविधान बनाउँदा नकारात्मक टिप्पणी भएको भन्दै महासचिव पोखरेलले नेपालीले नेपालीहरुकै निम्ति आफ्नै ढंगले काम गर्न नपाउनु दुखद भएको बताए। संविधान कुनै छिमेकी मुलुक विरुद्ध नभएको भन्दै पोखरेलले भने ‘हामी हाम्रो स्वाभिमानको झण्डा झुकोस् भन्ने चाहँदैनौं, कसैले अन्याय गर्छ भने हामी सहँदैनौं।’

उनले हामी सार्वभौम र स्वाधिन राष्ट्रको रुपमा गतिविधि गर्न पाउने कि नपाउने? भनेर प्रश्न गरे। भारतले गरेको ब्यवहार संयुक्त राष्ट्रसंघ, सार्क लगायतका फोरममा उठाउने पनि उनले बताए। पोखरेलले मधेशमा चलिरहेको आन्दोलनलाई वितण्डाको सिलसिलाको संज्ञा दिए।

वैशाख १२ गतेको भूकम्पले सबै नेपालीलाई एक ठाउँमा ल्याएको भन्दै पोखरेलले भारतले गरेको ज्यादती विरुद्ध पनि एकवद्ध हुने अवसर रहेको बताए। 

नेकपा एमालेले संविधान घोषणाको परिस्थितिबारे छलफल गर्न भोलि कार्यकर्ता भेला गर्ने भएको छ। भोलि गरिने भेलामा कांग्रेस, एमाले, एकीकृत नेकपा माओवादी लगायत संविधान निर्माणमा जुटेका शक्तिले देशभरी संयुक्त अभियान चलाउने प्रस्तावमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell