PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मधेशी दलसँग वार्ता गर्न तीन दलले समिति बनाए



मधेशी दलसँग वार्ता गर्न तीन दलले समिति बनाए

काठमाडौं : नयाँ संविधानप्रति असहमति दर्शाई आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्न तीनदलले तीन सदस्यीय एक समिति गठन गरेका छन्। 

सो समितिमा नेपाली काँग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य, नेकपा (एमाले)का संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल छन् भने एकीकृत नेकपा (माओवादी)का एकजनाको नाम आउन बाँकी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेका, एमाले र एनेकपा (माओवादी)का शीर्ष नेता सहभागी बैठकले सो समिति गठन गरेको हो। 

बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले सञ्चारकर्मीलाई संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिए। उनले भने  “तराई मधेसका माग के हो? समस्या के हो ? बुझ्नै सकिएन। संविधानमा सबै कुरा समेटिएका छन्। केही असन्तुष्टी रहेका भए त्यसको सम्बोधन गर्न वार्ता टोली गठन गरिएको हो।” 

सञ्चारकर्मीको जिज्ञासामा वरिष्ठ नेता खनालले बैठकमा नयाँ संविधानको संशोधनका विषयमा छलफल नभएको जवाफ दिए।  

नेकाका वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन तीन दलको बैठकले गरेको जानकारी दिनुभयो । उहाँले वार्ताबाट समस्याको समाधान निस्कने विश्वास पनि व्यक्त गरे।  

बैठकमा नेकाका सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल बैठकमा सहभागी थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell