PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​मधेस आन्दोलन, बाबुरामको बहिर्गमन र भारतीय नाकाबन्दीबारे एमाओवादी बैठकले के निर्णय गर्‍यो?



​मधेस आन्दोलन, बाबुरामको बहिर्गमन र भारतीय नाकाबन्दीबारे एमाओवादी बैठकले के निर्णय गर्‍यो?
फाइल फोटो

काठमाडौं : एकीकृत नेकपा माओवादीको असोज १० गते बसेको बैठक देशका विभिन्न क्षेत्रमा जारी आन्दोलन, बाबुराम भट्टराईको बहिर्गमन र संविधान जारी भएपछी छिमेकी मुलुक भारतले नेपालप्रति देखाएको व्यवहारमा केन्द्रित भएको छ।

बैठकले देशका विभिन्न क्षेत्रमा आन्दोलन गरिरहेका शक्तिहरुलाई हिंसात्मक घटनाहरु हुन नदिई वार्तामा बसेर समस्याको समाधान गर्न अपील गरेको छ। नेता डा. बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने निर्णयलाई अनुपयुक्त, असान्दर्भिक एवं गलत भन्दै उसले निर्णयमा पुनर्विचार गर्न भट्टराईलाई आग्रह गरेको छ।

बैठकले संविधान निर्माणपछि भारतले दिएको प्रतिक्रिया र भूमिकालाई अनपेक्षित एवं अस्वाभाविक भनेको छ।
एमाओवादीको केन्द्रीय सल्लाहकार सहितको बैठकले गरेका तीन निर्णयहरु यस्ता छन्-

आन्दोलनबारे

बैठकले तराई–मधेस, थारुवान्, आदिवासी जनजाति लगायतका जनसमुदायको आन्दोलनलाई राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। वार्ता र सहमतिको प्रक्रियालाई गम्भीरता पूर्वक अघि बढाउन पहल गर्ने बैठकले निर्णय गरेको छ।

सरकार तथा सरकारमा रहेका प्रमुख पार्टीहरुबाट अनावश्यक बल प्रयोग र हिंसा नगरी वार्ता र राजनीतिक सम्बोधनमा विशेष ध्यान दिन एमाओवादीले अनुरोध गरेको छ। बैठकले आन्दोलनकारी शक्तिहरुलाई पनि नाकाबन्दी रोकेर हिंसात्मक घटनाहरु हुन नदिई वार्तामा बसेर समस्याको समाधान गर्न अपील गरेको छ।

आन्दोलनका क्रममा निधन भएका व्यक्तिप्रति बैठकले श्रद्धाञ्जली प्रकट गरेको छ। बैठकले घाइतेको उपचार र झुट्टा मुद्धा लगाएर थुनिएकाहरुको रिहाइको माग गरेको छ। आन्दोलनका क्रममा एक महिना भन्दा बढी भएको बन्दले पुर्‍याएको असहज स्थितिबाट आक्रान्त जनसमुदायको असुविधाप्रति गम्भीर ध्यान पुर्‍याउन बैठकले अपील गरेको छ।

बाबुरामको बहिर्गमनबारे

बैठकले नेता बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने निर्णयलाई अनुपयुक्त, असान्दर्भिक एवं गलत भनेको छ। उक्त निर्णयप्रति दुःख प्रकट गर्दै बैठकले नयाँ संविधान घोषणाको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै त्यसपछि उत्पन्न परिस्थितिलाई र अन्यौल एवं उत्पीडित जनताको जायज मुद्दाहरुलाई सम्बोधनद्वारा सकारात्मक समाधानमा पुर्‍याएर राष्ट्रलाई नयाँ शीराबाट नेतृत्व गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा आएको भट्टराईको निर्णय पार्टी, आन्दोलन र देशको हित तथा उनकै व्यक्तिगत हित अनुकूल नरहेको ठहर गरेको छ।

‘यति बेला विदेशी शक्तिहरुको अवाञ्छित चलखेल र हस्तक्षेपलाई सम्पूर्ण देशभक्त शक्तिहरुले एकताबद्ध भएर नेपाल राष्ट्रको आत्मनिर्णयको अधिकार र स्वाभिमानको रक्षा गर्न एकजुट भएर उभिनु आवश्यक छ’, निर्णयमा भनिएको छ, ‘वरिष्ठ नेता क. भट्टराईलाई आफ्नो यस निर्णय माथि पुनर्विचार गरी सच्याउन र पार्टीको नेतृत्वदायी भूमिकामा सक्रिय रहन अनुरोध गर्दछ।‘

भारतीय हस्तक्षेपबारे

बैठकले संविधानसभाबाट संविधान घोषणा गरेपछि छिमेकी मित्रराष्ट्र भारतले देखाएको दृष्टिकोण, प्रतिक्रिया र भूमिकालाई अनपेक्षित एवं अस्वाभाविक भन्दै त्यसप्रति दुःख प्रकट गरेको छ। आन्दोलनकारी शक्ति र उत्पीडित जनता तथा वर्गका जायज मुद्दा वार्ता, सहमति र राजनैतिक सम्बोधनको माध्यमबाट समाधान गर्नुपर्दछ भन्नेमा आफूहरु गम्भीर रहेको र सक्रिय पहल गरिरहेको भन्दै बैठकले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको छ।

‘यो हाम्रो देशको आन्तरिक मामिला हो र कमीकमजोरीहरु सच्याउने जिम्मेवारी पनि हामी नेपालीहरुकै हो। छिमेकी मित्र राष्ट्रबाट यसमा दखल दिई, हस्तक्षेप गर्ने, जटिलता थप गर्ने कार्यको अपेक्षा असल सम्बन्ध चाहने छिमेकी मित्रले गर्न सक्दैन’, निर्णयमा भनिकए छ, ‘हामीले पनि त्यस प्रकारको भूमिकाको अपेक्षा नगर्नु स्वाभाविक थियो।‘ केही समययता छिमेकी मित्रराष्ट्र भारतबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति मै प्रतिकूल प्रभाव पर्न जाने गरी सवारी साधन आवागमनमा अवरोध उत्पन्न हुने, अघोषित नाकाबन्दी जस्तो व्यवहार सीमा क्षेत्रमा देखिएकोले भारत र भारतीय जनताको सँधै हित चाहने नेपाली जनतालाई ठूलो चोट पुगेको एमाओवादीले जनाएको छ।

‘यसप्रकारको व्यवहारले नेपाल भारत सम्बन्ध सुदृढ पार्न सकारात्मक योगदान पुर्‍याउने छैन’, बैठकको निर्णयमा उल्लेख छ, ‘भारत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ र मित्रवत् एवं सद्भावपूर्ण व्यवहारको अपेक्षा गर्दछ।‘ नेपाली जनताले नेपालबारे गर्ने निर्णयलाई सबै मित्रहरुले सम्मान गर्ने अपेक्षा बैठकले गरेको छ। अविलम्ब कुटनीतिक पहलद्वारा समस्या समाधान गर्न र परिस्थितिलाई सहज बनाउन सरकारसमक्ष एमाओवादीले अनुरोध गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell