PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टलकजंग भर्सेस् टुल्के; बुद्धिसागर भर्सेस् निश्चल बस्नेत



टलकजंग भर्सेस् टुल्के; बुद्धिसागर भर्सेस् निश्चल बस्नेत

काठमाडौँ : टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक कार्यक्रममा रमाइलो संयोग पर्‍यो। २०१२ मा बनेको सुपरहिट नेपाली चलचित्र लुटले निर्देशक निश्चल बस्नेतलाई नेपाली चलचित्र उद्योगमा चर्चित बनायो।

सन् २०१० मा अाएको एउटा उपन्यास- कर्णाली ब्लूजले बुद्धिसागरलाई चर्चित बनायो।

चलचित्र निर्देशकका रुपमा चर्चा कमाएका निश्चल बस्नेतको लुट पछि निर्देशकका रुपमा कात्तिकमा नयाँ चलचित्र आउँदैछ- टलकजंग भर्सेस् टुल्के। अनि बुद्धिसागरको दोस्रो उपन्यास फिरफिरे पनि कात्तिक महिना मै आउने तयारीमा छ।

शुक्रबार दरबारमार्गको राइजिङ मलमा रहेको क्युज् थियटरमा निश्चल बस्नेत निर्देशित टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक कार्यक्रमका सञ्चालक थिए बुद्धिसागर।

बुद्धिसागर र निश्चलबीच केही समानता छन्। लुटपछि निर्देशक बस्नेत आक्कल झुक्कल चलचित्रमा देखिइरहे- कहिले निर्माताका रुपमा र कहिले कलाकारका रुपमा। बुद्धिसागरको कथा पनि उस्तै छ, उनले उपन्यास नै बजारमा नल्याए पनि छिटपुट कथा र लेखहरु लेख्दै रहे। 

पहिलो चलचित्रबाटै सुपरहिट निर्देशक बनेका बस्नेतले टलकजंग भर्सेस् टुल्केकै लागि अर्को चलचित्र छोडे। पहिलो उपन्यासबाटै सुपरहिट उपन्यासकार बनेका बुद्धिसागरले पनि फिरफिरेका लागि अर्को किताब पन्छाए। दुई मिनेटको ट्रेलर सार्वजनिक समारोहमा यी संयोगहरु जोडिए।

फरक यतिमात्र रह्यो कि निश्चलको दोस्रो चलचित्रको कथा र केही झलक बजारमा आइसके तर बुद्धिसागरको उपन्यासको न त कथा बाहिर आएको छ न त सानो झलक नै। 

टलकजंग भर्सेस् टुल्केका लेखक तथा पटकथाकार हुन् खगेन्द्र लामिछाने, अनि चलचित्रका मुख्य कलाकार पनि उनै हुन्। नाटक क्षेत्रबाट चलचित्रतिर खगेन्द्र बधशालाबाट छिरेका हुन्।

अनि टुल्केमा अर्का नाटक क्षेत्रका अर्का कलाकार रविन्द्रसिंह बानियाँ कार्यकारी  निर्माताका रुपमा झुल्किएका छन्। उनले चलचित्रमा अभिनय पनि गरेका छन्।

लामिछाने र बानियाँसँगै चलचित्रमा दयाहाङ राई, रिचा शर्मा, सुशांक मैनाली, प्रकाश घिमिरे लगायतले अभिनय गरेका छन्।

टुल्के एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचान खोज्न गरेको संघर्षको कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हास्य रसमा देखाउन खोजिएको चलचित्र हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell