PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एनआरएन उत्तर अमेरिका संयोजकमा सोनाम लामाको उमेदवारी घोषणा



  • बिष्णुहरि घिमिरे -
न्यूयोर्क : गैर आवासीय नेपाली संघ एनआरएनको आसन्न निर्वाचनमा उत्तर अमेरिकाको क्षेत्रीय संयोजक (आरसी) का लागि  सोनाम लामाले उमेद्वारी घोषणा गरेका छन्। न्यूयोर्कमा आज पत्रकार सम्मेलन मार्फत लामाले उमेदवारी घोषणा गरेका हुन्। लामा अहिले यस क्षेत्रको उपसंयोजक (डिआरसी) हुन्।

प्रवासी नेपालीहरुको छाता संस्था एनआरएनको सातौं विश्व सम्मेलन एक महिना पछि काठमाडौंमा हुँदै छ। सोनाम लामा वर्तमान अध्यक्ष शेष घले निकटका मानिन्छन्। घलेले हिजो मात्र लण्डनबाट दोस्रो कार्यकालका लागि उमेदवारीको औपचारिक घोषणा गरेका थिए।

पत्रकार सम्मेलनमा लामाले संस्थाप्रतिको जिम्मेवारी बोध गर्दै साथीहरुको सल्लाहमा उमेदवारी घोषणा गरेको बताए। “एनआरएनको गरिमामय इतिहासलाई कायम राख्दै उत्तर अमेरिकाबाट विगत आठ वर्ष देखि यसै संस्थाको अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यबाट आफ्नो गहन जिम्मेवारी निर्वाह गर्दै, डिआरसीको रुपमा कार्यरत रहदै आएकोमा अधिकांश अमेरिकाबासी एनआरएनएहरुको सल्लाह, आग्रह र अनुरोधलाई शिरोधार्य गर्दै आगामी विश्व सम्मेलनमा आरसी पदका लागि उमेदवारी घोषण गर्दछु।” उनले डिआरसीको अनुभव आरसी पदमा रहेर काम गर्दा उपयोग गर्ने बताए ।

लामाले विश्व सम्मेलनमा उपस्थित हुँदा अमेरिकी एनआरएनहरुको एउटै टिम बनाएर जानु पर्नेमा जोड दिए। “अमेरिकाबाट फुटेर जाँदा विश्व सम्मेलनमा नराम्रो असर पर्छ, घरमा मिलेर जाउ, हामी नै घरमा झगडा गरेर किन जाने, जहिले पनि झगडा नै भएको छ, हामी फुटेर जादा काठमाडौंमा एक जनाले जित्छ, अनि फर्किएपछि फेरि विवाद ल्याउँछ।”

उत्तर अमेरिकाको आरसी पदमा एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष खगेन्द्र जिसीले पनि उमेदवारी दिने चर्चा चलेको छ। पत्रकार सम्मेलनमा लामाले जिसिलाई आरसी भन्दा पनि आइसीसीको कुनै पदमा उमेदवारी दिन सल्लाह दिँदै त्यसो भएमा आफुले पनि सहयोग गर्ने बताए। “चुनाव लड्ने अधिकार जो कोहीसँग पनि छ, तर म खग्रेन्द्रजीलाई आरसीमा भन्दा केन्द्रीय उपाध्यक्षमा उमेदवारी दिन सल्लाह दिन्छु। अमेरिका एनआरएन जहिले पनि ठूला कुरा गर्ने आफु आफु मात्र लड्ने र हार्ने भएको छ। त्यसो नगरौं भन्ने हो।” 

अमेरिकी एनआरएनहरुबाट एउटै टिम बनाएर जान आग्रह गरे पनि अध्यक्षमा भने लामाले आफुले शेष घलेलाई नै सहयोग गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell