PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एनसेलको लगानी फिर्ता गर्दै टेलियासोनेरा, कसले चलाउला अब एनसेल?



एनसेलको लगानी फिर्ता गर्दै टेलियासोनेरा, कसले चलाउला अब एनसेल?

  • सविन मिश्र-
काठमाडौं : बहुराष्ट्रिय कम्पनी टेलियासोनेराले नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलमा गरेको लगानीबाट हात झिक्ने भएको छ। कम्पनीले युरोप र स्विडेनमा आफ्नो मुख्य ध्यान केन्द्रित गर्ने उद्देश्यले नेपालसहित अन्य मुलुकबाट बाहिरिने घोषणा गरेको हो।  

कम्पनीले युरोप र एसियाका अन्य देशहरु छोड्ने योजनाका साथ त्यहाँ रहेको आफ्नो उपस्थिती कम गर्दै लैजाने रणनीति बनाएर कार्यान्वन थालिसकेको छ । टेलियासोनेराको बोर्ड बैठकले युरोएशिया देशबाट आफ्नो लगानी फिर्ता गर्ने निर्णय गरेको हो।  

बोर्डको यो निर्णयसँगै टेलियासोनेरा नेपालसहित काजकस्तान, उज्वेकिस्तान, अजरवैजान, जर्जिया, माल्डोभा र ताजकस्तानबाट बाहिरिने छ।

एनसेलमा ८० प्रतिशत सेयर भएको टेलियासोनेराले वर्षमा ५० अर्ब रुपैयाँको कारोवार गर्दै आएको छ। एनसेलले गत आर्थिक वर्षमा आठ अर्ब ५३ करोड (मंगलबारको विदेशी विनिमय दर अनुसार) नाफा गरेको थियो ।

एनसेल लगातार तीन वर्षदेखि नेपालको सबैभन्दा ठूलो करदाताका रुपमा रहँदै आएको छ ।   एनसेलको नेपालमा चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ छ ।    

कम्पनीले २०१३ देखि युरोप र एसियाका देशहरुमा आफ्नो मुख्य ध्यान केन्द्रित गर्दै आएको थियो । कम्पनीले यी क्षेत्रमा आफ्नो संस्थागत सुशासन र दीगोपनलाई जोड दिँदै आएको थियो ।  

'युरोप र एसियाका देशहरुमा गरेको लगानी नाफामुलक र दीगोपना छ तर अहिले बजारमा सही रुपमा प्रवेश गर्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको छ ।' टेलियासोनेराले निकालेको विज्ञप्तिमा भनिएको छ।  

टेलियासोनेराका अध्‍यक्ष तथा सिइओ जोहन डेनलिन्डले यो दुई वर्षमा ती क्षेत्रमा आफ्नो सेवा विस्तारमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन्।

'यो दुई वर्षमा युरोएसिएन क्षेत्रमा कडा परिश्रम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु, संस्थागत सुशासन र स्थीरताका दृष्टिकोणबाट हामीले निकै महत्वपूर्ण काम गरेका छौं,' उनले भनेका छन्, 'हामीसँग अहिले राम्रो र व्यवस्थित कम्पनी छ। हामीले अर्को पनि यस्तै कम्पनी खडा गर्न सक्नेमा विश्वस्त छौं।'  

उनले यो कामलाई कठिन र समय लिन सक्ने पनि बताएका छन् । 'हामीले के अनुभूति गरेका छौं भने यो निकै जटिल काम हो र यसले केही समय अवस्य पनि लिन सक्छ, हामीले हरेक देशबाट प्रक्रिया पुरा गरी यसलाई अगाडि बढाउने छौं,' उनले भनेका छन्, 'सबै देशमा हाम्रा सेवाहरु निकै राम्रो अवस्थामा छन्, तर हाम्रो लक्ष भनेको यो पुरै क्षेत्रबाट बाहिरिने नै हो ।'  

कम्‍पनीले आफ्नो ध्यान ती क्षेत्रबाट हटाएर युरोप र स्विडेनमा लगाउने पनि जनाएको छ । कम्पनी व्यवस्थापनले नै ती देशबाट बाहिरिएर युरोपेली देश र स्विडेनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेपछि टेलियासोनेरा अन्य देशबाट बाहिरन लागेको हो ।  

'हाम्रा सञ्चालक समितिका सदस्यहरुले हाम्रा लागि के कुरा महत्वपूर्ण हुन् भन्ने विषयमा पनि छलफल गरेका छन् । सेयर होल्डर, सेवा, कर्मचारी र ग्राहकको विषयमा पनि छलफल भएको छ,' उनले भनेका छन्, 'हामीले नयाँ रणनीति प्रभावकारी कार्यान्वयनका लागि यी सबै छलफल गरेका छौ ।  

युरोएसिएन देशमा उपस्थिती कम गर्दै जाने नै मुख्य विषय भएको छ । यो टेलियासोनेराका लागि पनि महत्वपूर्ण हो, हामी नयाँ क्षेत्रमा नयाँ पाइला अगाडि बढाउन पाउने छौं ।'   कम्पनीले नयाँ क्षेत्रमा आफ्नो कनेक्टिभिटी र कभरेजलाई मुख्य प्राथमिकतामा राख्ने पनि जनाएको छ । कम्पनीले स्विडेन र युरोपमा बलियो सेवाका साथ अगाडि बढ्नु पर्ने पनि जनाएको छ ।  

कम्पनीले नेपालसहितका देशबाट बाहिरिने प्रक्रिया अगाडि बढाइसकेको पनि जनाएको छ । यद्यपि यसका लागि कति समय लाग्ने भन्न नसकिने पनि जनाएको छ ।   कम्पनिले नयाँ टेलियासोनेराको काम पनि अगाडि बढिरहेको जनाएको छ । सेवा बन्द गर्ने योजना कार्यान्वयनसँगै ती देशमा आफ्नो सेवालाई बलियो र जिम्मेवार भने बनाइने कम्पनीले जनाएको छ ।  

टेलियासोनेराले ७ देशमध्ये सबैभन्दा धेरै नाफा नेपालबाट गर्दै आएको थियो । एनसेलले डिसेम्बर २०१४ सम्ममा कम्पनीले नेपालमा ५६ प्रतिशत बजार हिस्सा ओगटेको प्रतिवेदन टेलियासोनेरालाई पठाएको थियो ।

टेलियासोनेराको कूल आम्दानी मध्ये २३ प्रतिशत यी ७ देशबाट हुने गरेको छ ।   मंगलबार नै प्रस्तुत गरिएको एक कार्यपत्रमा यी देशमा चाहना विपरितका विभिन्न समूहसँग सम्बन्ध स्थापना गर्नु परेको र ती देशबाट रकम लैजान समस्या परेको उल्लेख गरिएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell