PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​कमल थापाले भने 'हामी संविधान विरोधी होइन, भोलि हस्ताक्षर गर्छौं'



​कमल थापाले भने 'हामी संविधान विरोधी होइन, भोलि हस्ताक्षर गर्छौं'

काठमाडौं : संविधान पारित गर्दा विपक्षमा मतदान गरेको राप्रपा नेपालले  आफुहरु संविधान विरोधी नभएको स्पष्ट पारेको छ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले आफुहरुले संविधानलाई आलोचनात्मक समर्थन गरेको र भोलि संविधानमा हस्ताक्षर गर्ने बताए। 'हामी संविधान विरोधी होइन, जारी गर्नुपर्छ भन्ने पक्षमै छौं' उनले भने  'हिजो विपक्षमा मतदान गरेर हामीले आफ्नो धर्म इमान्दारीपूर्वक निर्वाह गरेका हौ, भोलि संविधानमा हस्ताक्षर गर्छौं।'

चार दिनसम्म संविधानसभामा भएको मतदान प्रक्रियामा आफुहरुले राखेका एजेण्डा अस्वीकृत भएपछि संविधान पारित गर्ने क्रममा त्यसलाई वैधानिकता नदिन विपक्षमा मतदान गरेको थापाको दावी छ।

'संविधान मान्नुको मतलब त्यसका सबै विषय मान्नुपर्छ भन्ने होइन, हामीले उठाएका एजेण्डा संबोधन नभएकाले आलोचनात्मक समर्थन गर्छौ' उनले भने ' नेपाली जनताले संविधान निर्माण गरिसके अब यो स्वीकार नगर्ने भन्ने कुरै हुँदैन।'

आजै वसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा थापाले ठूलो बहुमत एकातिर भएपनि संविधानसभामा आफ्नो एजेण्डा स्थापित गर्न सफल भएकोमा सन्तोष र गर्व लागेको बताए।

'आफ्ना एजेण्डाहरु स्थापित हुने कुनै सम्भावना नभएपनि संविधान निर्माणको अन्तिम प्रक्रियासम्म सहभागी भएर हामीले प्रजातन्त्र र विधिको शासनप्रतिको निष्ठालाई कायम गरेका छौं' वैठकको निर्णयमा भनिएको छ 'आफ्नो मान्यताको रक्षाको पक्षमा उभिन सक्षम भएकोमा हामी सन्तोष र गर्वको अनुभव गर्दछौं।'

राप्रपा नेपालले मधेशमा आन्दोलनरत दलहरुलाई पनि समेटेर संविधान जारी गर्नुपर्ने बताए। 'मधेशमा आन्दोलनरत दललाई जसरी पनि समेट्नुपर्छ' उनले भने 'बरु यसका लागि हामी मध्यस्थता गर्न तयार छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell