PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियाली खेलकुद : पुरुष क्रिकेटमा पनि नेपाल पदकविहीन



एसियाली खेलकुद : पुरुष क्रिकेटमा पनि नेपाल पदकविहीन

काठमाडौँ : दक्षिण कोरियामा भइरहेको एसियाली खेलकुदमा पदकको आशा गरिएको पुरुष ट्वेन्टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपाललाई अफगानिस्तानले आठ रनले पराजित गरेको छ।

सेमिफाइनलमा स्थान पाउन भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई अफगानिस्तानले नौ विकेटको क्षतिमा ११९ रन बनाएर १२० रनको चुनौति दिएको थियो। तर निर्धारित २० ओभरमा नेपालले ७ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो। 

१९ औँ ओभरमा फरिद अहमदले पहिलो बलमा वसन्त रेग्मी र पाँचौँ बलमा ज्ञानेन्द्र मल्ललाई आउट गरेपछि नेपालको हातबाट खेलको नियन्त्रण फुस्किएको थियो। 

नत्र ४० बलमा तीन छक्का र दुई चौकासहित ४० बलमा ४८ रन बनाएर विनोद भण्डारीले दरिलो आधार तयार पारेका थिए। ज्ञानेन्द्रले पनि सम्हालिएर ब्याटिङ गर्दै ३२ बलमा ३० रन बनाएका थिए। 

नरेश बुढायर ७ रनमा र शरद भेषावकर ० रनमा दुर्भाग्यपूर्ण रुपमा रन आउट भए। कप्तान पारस खड्का १३ बल सामना गरी एक रनमात्र जोड्दा स्पिन बल हान्न अगाडि बढ्ने क्रममा झट्टै खुट्टा लाइनमा राख्न नसक्दा स्टम्प्ड भएका थिए।  

अफगानिस्तानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ११९ रन बनाएको थियो। शक्ति गौचन र सागर पुनले ३/३ विकेट लिएका थिए भने  सोमपाल कामी र वसन्त रेग्मीले १/१ विकेट। 

अफगान इनिङमा सबैभन्दा विस्फोटक ब्याटिङ मोहम्मद शाहजादले गरे। ३४ बलमा तीन छक्का र तीन चौकाका साथ ४२ रन बनाएका उनलाई शक्ति गौचनको बलमा सोमपाल कामीले क्याच आउट गरेका थिए।  कप्तान मोहम्मद नाबीले पनि एक छक्कासहित १८ बलमा १८ रन बनाएका थिए।

कुवेतलाई नौ विकेट र माल्दिभ्सलाई सात विकेटले पराजित गरेको नेपाल समूह विजेता भई क्वार्टर फाइनल प्रवेश गरेको थियो। 

अफगानिस्तान र हङकङ भने एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने मान्यता पाएको टिम हुनाले सीधै नकआउट चरणमा प्रवेश गरेको हो। टेस्ट मान्यताप्राप्त दुई देश बंगलादेश र श्रीलंकालाई पनि सीधै नकआउट चरणमा प्रवेश दिइएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell