PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेकपा-माओवादीको प्रस्ताव अनुरुप 'राजनीतिक सभा'को माहोल बन्दै



मनोज सत्याल/पहिलोपोस्ट-

काठमाडौँ: संविधानसभाको निर्वाचन बहिष्कार गरेको नेकपा-माओवादीलाई संविधान निर्माणमा सहभागी गराउन उसकै प्रस्ताव अनुरुप 'सर्वपक्षीय राजनीतिक सभा गठनको माहौल बन्दै गएको छ।

सरकारले यसअघि नै सर्वपक्षीय राजनीतिक सभाका विषयमा सकरात्मक रहेको जनाइसकेको छ भने नेकपा-माओवादीले पनि 'गोलमेच सम्मेलन' शब्दको साटो 'राजनीतिक सभा' शब्दको प्रयोग सुरु गरेको छ।

प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य उपचारका लागि अमेरिका जानु अघि नै सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी समेत सहभागी बैठकमा नेकपा-माओवादीको प्रस्तावबारे दलीय दृष्टिकोण मागेका थिए।

नेकपा-माओवादीको सोमबार सम्पन्न केन्द्रीय समितिले 'गोलमेच सम्मेलन' शब्दको साटो तत्कालिक राजनीतिक कार्यनीतिको रुपमा 'राजनीतिक सहमति निर्माण र सर्वपक्षीय राजनीतिक सभाको गठन' तय गरे पछि माहौल सर्वपक्षीय सभा उन्मुख भएको हो।

बुधबार पार्टीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार गराएर अमेरिकाबाट फर्किएकाले अब राजनीतिक सभाबारे कुराकानी अगाडि बढ्ने आशा ब्यक्त गरे।

'प्रधानमन्त्रीसहित तीन दलसँग विगतमा राजनीतिक सभाबारे छलफल भएको हो', वैद्यले भने- 'अब तुरुन्तै यसबारे कुराकानी अगाडि बढाउन सकिन्छ।'

तर उनले संविधानसभा मातहतको राजनीतिक संवाद समितिसँग भने कुनै सम्बन्ध नरहेको पनि बताए। 'हामी संवैधानिक समिति मार्फत जाँदैनौँ' वैद्यले भने।

नेपाली काङ्ग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीले अमेरिका जानु अघि नै नेकपा-माओवादी लगायतका दलसँग सर्वपक्षीय सभा गर्ने बारे छलफल गरेको उल्लेख गर्दै अब थप छलफल हुने बताए।

'पार्टीको धारणा आगामी बैठकमा राख्छौँ,' खड्काले भने, 'प्रधानमन्त्री पार्टीको सभापति पनि रहेको अवस्थामा बालुवाटारमा बोलाइएको बैठकको अर्थ आफैँ स्पष्ट छ।'

एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य अग्नि सापकोटाले नेकपा-माओवादी संविधानसभामा नभएकाले उनीहरुलाई सहभागी गराउन प्रक्रियाको रुपमा राजनीतिक सभा गर्न सकिने बताए।

'गोलमेच सभा वा राजनीतिक सभा जे नाम दिए पनि प्राविधिक विषय भएकाले संविधानका अन्तरवस्तुमा गरिने छलफलको प्रस्ताव प्रति हामी सकरात्मक छौँ,' सापकोटाले भने।

संविधानसभा मातहतको राजनीतिक संवाद समितिको वार्ता उपसमितिका संयोजक आनन्द ढुङ्गानाले नेकपा-माओवादीले समितिसँग वार्ता अस्वीकार गरेको र सरकारसँग वार्ता भइरहेकाले अहिले जानकारी नभएको बताए।

'संविधानसभाको समितिसँग कुराकानी गर्दैनौँ भने,' ढुङ्गानाले भने- 'समितिसँग कुरा भएको छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell