PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१० वर्ष अघि मारिएका पाँच युवाको मानव अवशेष परिवारलाई बुझाइयो



१० वर्ष अघि मारिएका पाँच युवाको मानव अवशेष परिवारलाई बुझाइयो
जनकपुरमा परिवारजनलाई मानव अस्थिपञ्जर बुझेपछि शोकमग्न परिवारजन। तस्बिर: जनकराज भट्ट

पहिलोपोस्ट-
जनकपुर : 
मानव अधिकार आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुर परिसर बिहानैदेखि भीडभाड थियो। मानव अधिकार आयोगबाट काठमाडौंबाट गएको टोली पत्रकार सम्मेलन गर्ने तयारी गर्दै थियो। २०६० साल असोज २१ गते जनकपुरबाट सुरक्षाकर्मीले पक्राउ गरी बेपत्ता पारेका ५ जना युवाको शवको अवशेष परिवारलाई बुझाउने तयारी भैरहेको थियो।

आयोगले बिहान साँढे सात बजे बेपत्ता युवा बारेको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दा नै परिवार र आफन्तहरूको रुवाबासी सुरु भैसकेको थियो। चार बर्ष अघि शव उत्खनन् गरेर डिएनए परीक्षणपछि जनकपुरका पाँच युवाहरू संजीवकुमार कर्ण, दुर्गेस लाभ, जितेन्द्र झा, प्रमोदनारायण मण्डल र शैलेन्द्र यादवको पहिचान भएको थियो।

पक्राउ पर्दा प्रमोद र शैलेन्द्रको उमेर १७ बर्ष थियो भने अरु तीनजनाको उमेर २३/२४ थियो। मान अधिकार आयोगका अनुसार यी पाँचै जना युवालाई पक्राउ गरेकै दिन गोदारस्थित कमला नदी किनारमा गोली हानि हत्या गरिएको थियो। आयोगले हत्याको ७ बर्षपछि २०६७ मा शवको उत्खनन् गरेको थियो। उत्खननबाट फेला परेका मानव कंकालको डिएनए परीक्षणबाट पहिचान खुलेपछि उत्खनन्‌को चार बर्षपछि सोही कंकाल परिवारलाई बुझाउन लागिएको थियो।

माओवादी कार्यकर्ता भएको आरोपमा बेपत्ता युवाहरूको अवशेष बुझाउने तयारी भइरहँदा माओवादी नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव त्यहीं उपस्थित थिए। सरकारको अनिच्छा हुँदाहुँदै पनि आयोगको दबाबमा सरकार शवको अवशेष बुझाउन तयार भएको थियो।
बिहानैदेखि मानव कंकाल बुझ्न पर्खेर बसेका परिवार तथा आफन्तहरु रुँदै बेहोस हुँदै गरिरहेका थिए। काठमाडौंबाट लगिएका कंकाल जनकपुर प्रहरीलाई बुझाइएपछि त्यहाँको प्रहरीले एम्बुलेन्सबाट कंकाल लिएर आएको थियो।

एम्बुलेन्सबाट मानव कंकाल ल्याइएको देख्नेबित्तिकै उपस्थित सबैका आँखा मलीन भए। माओवादी नेताहरुका आँखा पनि ओभाना थिएनन्। परिवारका सदस्यहरूलाई सम्झाउन मानवअधिकार टोलीलाई सकस परिरहेको थियो। बिहान ७ बजेदेखि पर्खेर मुचुल्का गर्दै मानव कंकाल सनाखत गर्दा १० बजिसकेको थियो। युवावस्थामै छोरा गुमाएका आमाहरूले शवको अनुहार पनि हेर्न पाएनन्। मानव कंकालहरू आयोगले काठमाडौंको त्रिवि शिक्षण अस्पतालबाटै बाकसमा प्याक गर्न लगाएको थियो। काठमाडौंबाट नेपाल प्रहरीले जनकपुरसम्म सो कंकाल पुर्‍याएको थियो।

मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले परिवारजनलाई मानव अस्थिपञ्जर बुझाएका थिए।  शव बुझेपछि उनीहरूको अन्तिम संस्कारका लागि जानकी मन्दिर हुँदै गंगासागर घाट लगिएको थियो। मानव अधिकार आयोगको कार्यालयबाट शव यात्रा शुरु हुँदा बाटोको वरिपरी जनकपुरबासीको भीड लागेको थियो। सबैका आँखामा आँशु बगिरहेको देखिन्थ्यो। शवयात्रा भइरहँदा ती युवाका आमाहरू बारम्बार बेहोश भएका थिए।
दाहसंस्कार। तस्बिर: जनकराज भट्ट
घाटमा पुग्दा माओवादी झन्डासहित नारा जुलुस सुरु भैसकेको थियो। घाटकै एकछेउमा तीनवटै माओवादीले संयुक्त सभा गरे। एनेकपा माओवादी, नेकपा-माओवादी तथा नेकपा माओवादीका नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादवले सभालाई सम्बोधन गरेका थिए। उनीहरूले दोषीलाई कारबाही गर्न सरकार समक्ष माग गरेका छन्। 

आयोगले तत्कालिन जनकपुर अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी चुडाबहादुर श्रेष्ठ, धनुषा प्रहरी प्रमुख एसपी कुवेरसिंह राना, प्रमुख जिल्ला अधिकारी रेवतिराज काफ्ले र धनुषा धारापानीस्थित सैनिक ब्यारेक श्री नम्बर ९ बाहिनी फिल्डका तत्कालिन मेजर अनुप अधिकारीलाई मानव अधिकारको ठाडो उल्लंघन अभियोगमा कानुन बमोजिम कारबाहीको लागि सरकारलाई सिफारिस गरेको थियो। साथै आयोगले पीडित परिवारलाई प्रति परिवार तीन लाख रुपैयाँको क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell