PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संविधान जारी गरेपछि मात्र राजतन्त्रबारे निर्णय गर्ने समझदारी थियो : कमल थापा



संविधान जारी गरेपछि मात्र राजतन्त्रबारे निर्णय गर्ने समझदारी थियो : कमल थापा

  • पहिलोपोस्ट-
काठमाडौं: राप्रपा नेपालका अध्यक्ष कमल थापाले २०६२/६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारी र राजाबीच संविधानसभा मार्फत संविधान जारी गरेपछि मात्र राजतन्त्रबारे निर्णय गर्ने समझदारी भएको दाबी गरेका छन्।

आज पार्टीले धर्म निरपेक्षताको खारेजी र हिन्दु राज्य स्थापनाको माग गर्दै गरेको प्रदर्शनपछिको सभामा उनले तत्कालीन राजासँग सहमतिपछि आन्दोलन टुंगिएको दाबी गरेका हुन्।

पूर्व राजा ज्ञानेन्द्र शाहले पनि गएको वर्ष फागुनमा प्रजातन्त्र दिवसको अवसरमा दलहरुसँग सहमति भएको संकेत गरेका थिए। तर दलहरुले कुनै सहमति नभएको भन्दै अस्वीकार गर्दै आएका थिए।

आज न्युरोडमा जुद्धशालिक अगाडि आयोजित कार्यक्रममा कमल थापाले सहमतिबारे भने 'राजा र आन्दोलनकारी दलहरुबीच संविधानसभा चुनाव गर्ने, संविधानसभाबाट नयाँ सविधान जारी गरेपछि गणतन्त्रमा जाने वा राजतन्त्र राख्ने भन्ने निर्णय गर्ने भनिएको छ।'

'तर दलहरुले सहमति विपरित २०६४ सालको माघमा अन्तरिम संविधान संसोधन गरेर राजतन्त्र पाखा लगाइयो' थापाले भने ' त्यो धोका थियो, षड्यन्त्र थियो।'

संविधानसभा राणाहरुको भारदारी सभाजस्तो

थापाले अहिलेको संविधानसभा राणाहरुको भारदारी सभाजस्तो भएको टिप्पणी गरे। 'राणाकालमा भारदारी सभा हुन्थ्यो, राणा प्रधानमन्त्रीहरुले दुई तल्ला माथिबाट निर्णय गरेर सुनाउँथे, तल रहेका भारदारहरुले ठीक भन्नुभयो महाराज भन्दै ताली बजाउँथे' थापाले भने ' अहिले सुशील कोइराला, केपी ओली, पुष्‍पकमल दाहाल र विजय गच्छदारले बन्द कोठामा निर्णय गर्ने अनि संविधानसभा सदस्यहरुले ठीक हो भन्नुपरेको छ।'

राजा हटाएपछि दलहरुबीच हामी नै सर्वेसर्वा हौ भन्ने भावना बढेकाले देशभरी संविधानप्रति बिरोधको भावना बढेको थापाले टिप्पणी गरे। 'राजा हटाएर हामी त्यो ठाउँमा बसेका छौं, हामीले भनेको मान्नुपर्छ भन्ने कारणले मुलुकमा आगो बलेको छ।'

उनले दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा आन्दोलन भएपछि आन्दोलनकारी शक्तिले सबैसँग मेलमिलाप गरेर संविधान बनाएकाले त्यहाँ समृद्धि आएको उदाहरण दिए। 'तर यहाँ आन्दोलनकारी सकिएपछि आपसी सहमति र मेलमिलाप नभइ बदला र प्रतिसोधको भावना लिइयो' उनले भने।

केही दिनअघि डा. बाबुराम भट्टराईले संविधानसभामा १७ सालको भूतले तर्साउन खोजेको भन्दै दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै थापाले दलहरुले आफ्नो निकम्मापन ढाकछोप गर्न अरुलाई दोषमात्र लगाएको दाबी गरे। '१७ सालको भूत भूत छैन , तर राजसंस्थाको भूतले तपाइँहरुलाई कहिल्यै छाड्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell