- रामनाथ घिमिरे-
नारायण गोपालका गीतबाट नतमस्तक मैले नारायण गोपाल तोते बेल्थे भनेको सुनेको छु। सयौँ गीतमा उहाँको सुरिलो स्वर सुनिएको छ। तर उहाँको सामान्य बोली तोते नै थियो होला त?
लाग्यो- राष्ट्रका धरोहरले एउटा उचाई पार गर्दासम्म भोगेका कुरा उहाँहरुकै आवाज र भावना प्रस्तुत गर्न सकिँदैन होला? यही प्रश्नका बीचबाट करिब तीन महिनाको अभ्यासपछि सुरु भयो कार्यक्रम ‘अडियो बुक’। कार्यक्रमका लागि पहिलो धरोहर छानियो- राष्ट्रकवि माधवप्रसाद घिमिरे।
राष्ट्रकविलाई नजिकबाट नियालेका र उहाँकै विषयमा विद्यावारिधी गरेका व्यक्तिसँगको कुराकानी तथा उहाँको विषयमा लेखिएका थुप्रै सामग्रीको अध्ययनपछि मलाई यो कार्यक्रम रेकर्ड गर्ने साहस पलाएको थियो। राष्ट्रकविको विषयमा विद्यावारिधी गरेका डाक्टर विष्णुबहादुर खत्री र डाक्टर लेखप्रसाद निरौलाको सहयोगप्रति आभारी छु।
***
असार २३ गते करिब २ बजेतिर।
म, सहकर्मी नरजंग गुरुङ र दल मगर उहाँको निवासमा पुगेका थियौँ। उहाँ भर्खरै, दुइतीन टोलीसँग कुरा गरेर माथि चढ्नु भएको रहेछ। हामीले गेटमा पुगेर फोन गर्नेबित्तिकै राष्ट्रकवि जहान महाकालीले कौसीबाटै गेट खोल्न इसारा गर्नुभयो।
बैठक कोठामा हामीले करिब ३ मिनेटजतिमात्र कुरेका थियौँ, हँसिलो मुद्रामा उपस्थित हुनुभयो राष्ट्रकवि माधवप्रसाद घिमिरे। उहाँले सुरुमै भन्नुभयो- ‘मैले तपाईँको प्रयास सफल बनाउने गरी सहयोग गर्न सकौँला र? अब असोज ७ गतेबाट म ९७ वर्षको पुग्छु, सबै कुरा कसरी सम्झौँला र? धेरै बोल्न सक्छु होला यो उमेरमा?
मैले भनेँ- जे सम्झना छ, त्यही कुरा गर्ने। थाके बरु आराम गर्दै कुरा गर्ने नि? राष्ट्रकवि निवासको भूइँतलाको पूर्वपट्टीको बैठककोठाको पुर्वी भित्तामा राखिएको सोफामा बसेर कुरा सुरु गरियो।
राष्ट्रकविको बाल्यकाल र युवा अवस्थाका कुरा सुन्दै जाँदा कतिपय ठाउँमा गहभरी आँसु भरिए, कतिपय ठाउँमा थामी नसक्नु हाँसो। ९७ औँ बसन्त टेक्न लाग्दा पनि उहाँको स्मरण शक्ति र सक्रियताले मलाई नेपाली साहित्य, संस्कृति र देशका यी धरोहरलाई माया गर्नेलाई उहाँको जीवनकथा पुस्तान्तरण गर्न सकिन्छ भन्ने विश्वास पलायो। अचम्म त के भने उमेरलाई दोष दिएर सम्झन र बोल्न सक्दिन कि भन्दै १५ मिनेट कुरा गरौँ भनेका राष्ट्रकवि झण्डै ३ घण्टा निरन्तर बोल्नुभयो।
त्यसबीचमा हामीले चिया र काजु खाजाको रुपमा खायौँ। ‘पहिले तपाईँहरुले नखाइ म खान्नँ। हाम्रोमा पाहुनालाई नखुवाई खाने चलन छैन‘, उहाँ भन्दै हुनुहुन्थ्यो।
खाजा खाएर फेरि सुरु भयो कुराकानी। अन्त्यमा भन्नुभयो- ‘नाति केटासँग १५ मिनेटमात्रै कुरा गर्छु भनेको सबै कुरा पो गरियो। मलाई त झनै बाल्यकाल र युवा अवस्थाको सम्झना गाढा भएर आयो। मैले आफ्नो उमेरै भुले झैँ भो।‘
उहाँको उत्साह र मायाले म झनै नतमस्तक भए। झण्डै ४ घण्टामा मैले राष्ट्रकवि माधवप्रसाद घिमिरे र उहाँकी धर्मपत्नी महाकालीबाट हजुरबा हजुरआमाको माया पाएँ। ‘मेरो बारेमा सबै कुरा थाहा पाएर मेरै मुखबाट ओकेल्न लगाउने बाठो नातिकेटो’, भन्दै राष्ट्रकविले गाला सुम्सुम्याउँदा मलाई स्वर्गीय आनन्द र आशिर्वाद मिलेको छ।
कार्यक्रम ‘अडियो बुक’ राष्ट्रका धरोहरहरुको सम्मानमा फूल चढाउने एउटा माध्यम हो। १० देखि १५ मिनेट समयमा प्रस्तुत हुने यो कार्यक्रमको पहिलो अंकमा राष्ट्रकवि माधव घिमिरेका स्मृतिका पाना पल्टाएका छौँ। सुन्नुहोस्ः