PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एकबारको जिन्दगीका अनेक आँखीझ्यालः दोश्रो विश्वयुद्ध भोगेका क्यानडियनको जीवनदर्शन



एकबारको जिन्दगीका अनेक आँखीझ्यालः दोश्रो विश्वयुद्ध भोगेका क्यानडियनको जीवनदर्शन

  • इगोन स्मेलजाइसेन/मेरी जेन स्मेलजाइसेन-
जर्मनीले बम खसाल्यो। लाखौं रसियाली र जर्मन मरे। सोभियत युनियनले जर्मनीलाई खेदायो। लाखौं मान्छे मरे। एडल्फ हिटलरले ६० लाख यहुदीलाई होलोकस्टमा मार्‍यो। संक्युत राज्य अमेरिका, सोभियत युनिएन, संयुक्त अधिराज्य बेलायत र फ्रान्सले हस्तक्षेप गरे। जर्मनी र जपानलाई तह लगाए। बल्ल सन् १९४५ मे मा दोश्रो विश्वयुद्ध रोकियो। 

म पश्चिम जर्मनीको हाइडली वर्गमा जन्मेको हुँ। फ्र्याङ्क फर्टबाट मेरो गाउँ १५ मिनटको दुरीमा छ। मेरो नाम इगोन स्मेलजाइसेन हो। दोश्रो विश्वयुद्धमा युरोपको जर्मनी र सोभियत युनियन बीच लडाईँ भएको थियो। जर्मनीले युरोपका कतिपय देशमा साम्राज्य जमाइसकेको थियो। यो युद्ध अफ्रिका र एसियामा पनि भएको थियो। युद्ध रोकिँदा म ८ वर्षको थिएँ। 

उतिबेलाको ८ वर्षे उमेर भनेको अहिले जवान भने जस्तै हो। म टाठै थिएँ। छरछिमेक, टोल र बजारमा पाका मानिसहरुले सधैँ युद्धको विषयमा कुरा गरिरहन्थे। म जस्ता केटाहरु आङ सिरिङ्ङ पार्दै, आत्तिँदै र डराउँदै धेरै रुची राखेर युद्धको कुरा सुन्थ्यौं। निदाएको बेला घरमा बम हानेको, मेरो परिवार र टोलका सबै मरेको सपना देख्थेँ। सपना पछि मेरो ओछ्यान पिसाबले चिसो हुन्थ्यो। आमाले माया गरेर ओछ्यान फेर्दिनु हुन्थ्यो। मेरो छिमलका सबै केटाकेटीको मनोदशा यस्तै थियो, "बुढापाकाबाट युद्धका अनेकन चर्चा सुन्नु, निन्द्रामा ऐठन पर्नु र राती नराम्रो सपना देखेर ओछ्यान मुत्नु।"

“धुवाँलाई कहिलै बिर्सन्न
शान्त आकास मुनी धुवाँमा बदलिएका केटाकेटीहरुका स-साना मुहारहरु कहिलै बिर्सन्न,
मेरो आस्था-विश्वास निल्ने आगोका लप्काहरुलाई कहिलै बिर्सन्न, 
बाँच्ने इच्छाबाट विमुख गराउने मुर्दा शान्तिलाई कहिलै बिर्सन्न,
मेरो भगवान, मेरो आत्मा मार्ने र मेरा सपनाहरुलाई खरानी बनाउने क्षणहरुलाई कहिलै बिर्सन्न !"


फार्म हाउसमा इगोन स्मेलजाइसेन।
दोश्रो विश्वयुद्धमा भाग्यले बाँचेका एलि विसेलको शोकमग्न आक्रोस थियो। उनी लडाईँमा झुक्किएर बाँचेका एक यहुदी थिए। मन-मुटु-मस्तिष्क ठप्प पार्ने यो शोकाकुल आँसु एलि विसेलको नामी पुस्तक ‘नाइट’  मा तप्किएको थियो। घरका प्रत्येक सदस्यको मृत्यु, आफ्नै मृत्यु र क्रुर युद्धका साक्षी ‘नाइट’ आफैंमा युद्ध विरोधी मानवीय दस्तावेज हो। बोस्टन विश्व विद्ध्यालयका प्राध्यापक विसेलले सन् १९८६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

युद्धका कारण जर्मनी आर्थिक रुपमा जर्जर भएको थियो। कसैलाई पनि आफ्नो गाउँठाउँ भन्दा २० किलोमिटर पर आवतजावत गर्ने अधिकार थिएन। एक किसिमले आफ्नै गाउँ अलि ठूलो खुला झ्यालखाना जस्तो थियो। मेरो छिमलका मात्र होइन सबै मानिस निरास र त्राहिमाम थिए। एक प्रकारले नाजीको जातीय सर्वोच्चता र संसारकै सम्राट बन्ने हिटलरको महत्वाकांक्षाले जर्मनी तबाह भएको थियो। दानव हिटलरले युरोपमा ६० लाख त यहुदी मात्रै मारेको थियो। दोश्रो विश्व युद्धमा ६ करोड मानिस मरेका थिए। त्यसरी मरेको मध्य करिब ४ करोड त सामान्य गैह्र सैनिक नागरिक थिए। 

जर्मनी डढेको घरको खरानीको थुप्रो जस्तो भएको थियो। सन् १९४५-१९४६ मा खानेकुराको अभावमा मानिसहरु जे पनि खान तयार हुन्थे। त्यतिखेर जर्मनहरु जे भेट्यो त्यही खान्थे। भोकमरीले आक्रान्त थियो जर्मनी। भोक भन्दा भयानक थियो भय र त्रास। होलोकोस्टमा मारिएका ६० लाख यहुदी, गेस्टापोको राक्षसी व्यवहार र हिउँमा हिँड्दा हिँड्दै, रेलमा चिसो र भोकले, चरम यातनाले मानवता चिहानमा पुरिएको थियो।

युरोपको चिसो हिउँको चिहान मुनि कहाँ पो मान्छे नपुरिएका थिए र? युद्ध रोकिएको घोषणा हुनु अघि नश्ल र जातिवादी दानव हिटलरले आफैंलाई गोलि हानेर आत्मा हत्या गरेको थियो। गाउँमा मान्छे बौलाएको, महिलापुरुष एकहोरो भएर टोलाइरहेको र आत्महत्या गरेका कुरा सुन्दा हामी धेरै विचलित हुन्थ्यौं। युद्धमा सन्तान, श्रीमान्, श्रीमती, बा, आमा, भाइबहिनी, छोरीज्वाइँ र आफन्तजन गुमाएकाहरु छाती पिटीपिटी रुन्थे, घाउ हुने गरी आफ्नै कपाल-कान-नाक कि तान्थे कि कोतर्थे; विक्षीप्त भएर भौंतारिइरहन्थे। मानिसमा जतातै अभाव, निराशा, हिंसा, त्रास, डर, आक्रोस, पागलपन र जीवन प्रति मोहभंग भएको देखिन्थ्यो। मानौं मानवजाति आकासबाट झरेर घाटमा जलाउन ठिक्क पारिएको थियो। जर्मनी असामान्य अवस्थामा थियो। युद्धले जर्मनहरुमा अर्कै मनोदशा उत्पन्न भयो।

हाम्रा उमेरकाहरु शान्त, आनन्द, मन लागेको काम-कुरा गर्न पाइने र स्वतन्त्रत ढंगले बाँच्न पाइने ठाँउको खोजीमा थियौं। पचास-साठीको दशकमा लाखौं लाख जर्मनले आफ्नो देश छोडे। कोही क्यानडा, कोही संयुक्त राज्य अमेरिका, कोही अस्ट्रेलिया, कोही न्यूजील्यान्ड, कोही साउथ अफ्रिका त कोही संयुक्त अधिराज्य बेलायततिर गए। 

सन् १९५८ मा धेरै जर्मन युवाहरु क्यानडा आए। म पनि त्यसैगरी आएको थिएँ। १८ वर्षको लक्का जवान थिएँ। मलाई जर्मन भाषा बाहेक अरु आउँदैन्थ्यो। सुरु-सुरुमा भाषाकै कारण जीवन धेरै कष्टकर भयो। त्यतिबेला क्यानडामा जे चाहियो, त्यो पाइन्थ्यो। स्वतन्त्रता थियो, शान्ति थियो। म बन्दुक किन्न चाहन्थेँ; शिकार खेल्न चाहन्थेँ; गाई पालन गर्न चाहन्थेँ; र, आफ्नै कार किन्न चाहन्थेँ। एउटा कुरकुरे बैंसमा भएको तरुणले कल्पने कुरा यस्तै हुन्थ्यो। मेरो दिमागमा त्यतिकुरा मात्र थियो। क्यानडामा मैले चाहेको सबै कुरा पुरा हुन्थ्यो, भयो।

तिनताका टेलिफोन थिएन। म २६ वर्षको भइसकेको थिएँ। आमाको आवाज कस्तो छ भन्ने पनि भुल्न थालेको थिएँ। आमा-बुवासँग सम्पर्क नभएको ९ वर्ष भैसकेको थियो। आफन्तहरु बितेको बेलामा जर्मनीको घर जान पाइन। ती मेरा दुःख लाग्दा दिनहरु थिए। सम्झँदा अहिले पनि मुटु भक्कानिन्छ; आँखाका कोषहरु रसाई रहन्छ। जिन्दगी नै छताछुल्ल पोखिन्छ। तर मनलाई सम्हाल्छु। त्यतिबेला मसँग पैसा थिएन। क्यानडाको ५६ वर्षको बसाईमा जर्मनी ६ पटक मात्र गएँ। धेरै पटक जान नसकेको र नपाएकोमा चुकचुक लाग्छ।

म अनेकौं युवतीहरुको जिन्दगीमा गएँ; अझ यसो भनौं जीवनमा थुप्रै तरुनीहरु आए। केही जर्मन तरुनीसँग गम्भीर खाले सम्बन्ध पनि भए। सहबास कति युवतीसँग भयो भन्न सक्दिन। तैपनि ८-९ युवतीसँग जस्तो लाग्छ। यसो हुनुमा सायद पश्चिमी संसारमा सन् १९४० देखि १९५० मा भएको मौन यौन क्रान्ति एउटा प्रमुख कारण थियो। यौन सम्बन्धमा फैलिँदै गएको खुलापन र क्रान्तिलाई पाश्चात्य समाजले सहजै स्विकार्न थालेको परिणाम पनि अर्को कारण थियो। मेरी जेनसँग मेरो भेट सन् १९६३ मा भयो। त्यसपछि १ महिना जस्तो बेला बेला भेटघाट गर्न थाल्यौं। 
***

मेरो नाम मेरी जेन स्मेलजाइसेन हो। म क्यानडाको क्युबेकमा जन्मेको हुँ। मिसिसिपीबाट आएकी फ्रान्सेली आमा र आप्रवासी फ्रान्सेली बुवाको सन्तान हुँ। अहिले ७२ वर्षकी भएँ। मैले ९ कक्षा भन्दा बढि पढिन। केही समय अस्पतालको भान्छाघरमा काम गरेँ। कपाल काट्ने तालिम लिएँ। २-३ महिना कपाल काट्ने काम गरेँ। कपाल काट्ने काम गरिरहेको बेला मलाई एउटा फ्रान्सेली केटाले मन पराउन थाल्यो। मलाई पनि ऊ मन पर्न थाल्यो। दुई महिना हामी सँगै बस्यौं तर उसको लागुपदार्थ सेवन गर्ने बानी थियो। मलाई मन परेन, छुट्टियौं।


मेरी जेन स्मेलजाइसेन।
म अस्पतालमा काम गर्दा फ्रान्सेली क्यानडालीसँग मन परापर भयो। म ठ्याक्कै २० वर्षकी थिएँ। हामी झण्डै १ वर्ष सँगै बस्यौं। ऊ बढी रक्सी पिउँथ्यो। तर पनि मैले केही ठानेको थिइन। ऊ मलाई धोका दिइरहेको छ र अरु केटीसँग लागेर बेइमानी गरिरहेको छ भन्ने चाल पाएँ। त्यो रात मैले उसलाई प्रश्न गरेँ। उसले रक्सी खाएको थियो। रुँदै माफी माग्दै थियो। अनैतिकता, बेइमानी र कुलतमा डुबेको उसलाई मैले माफी दिने कुरा थिएन। त्यही रात मैले उसलाई फ्ल्याटबाट निकालेँ। ऊ रोइरोइ सामान सार्दै थियो। उसको बेइमानीले गर्दा मेरो मुटु कठोर भएको थियो। मैले वास्ता गरिन।

इगोनसँग भेट हुँदा म २२ वर्षकी थिएँ। दुई-चार पटक भेटघाट गरेर एक अर्कालाई राम्ररी बुझ्यौं। इगोनले मसँग भेट हुनु अघि महिलाहरुसँगको सम्बन्ध बारे रौं नबिराई बतायो। आफ्नो विगत पनि मैले रिठ्ठो नबिराई सुनाएँ। मलाई इगोन सरल, इमान्दार र मिहिनेती लाग्यो। हामी सँगै बस्न थाल्यौं। सन् १९६५ मा बिहे गर्‍यौँ। त्यसपछि हामी सँगै बस्न थाल्यौं। एकबारको जिन्दगी साह्रै रमाइलो र सुन्दर छ। जीवनमा धेरै कुरा सिकिन्छ। ७२ वर्षे उमेरमा पनि कति कुरा सिकिरहेको छु। कति धेरै जान्नै बाँकी छ जस्तो लाग्छ। अहिलेसम्म इगोन र मेरो सम्बन्ध माया, प्रेम, विश्वासले भरिएको छ। 
***

पत्रकारहरुलाई थाहा हुनुपर्छ। थाहा नभए सुन। अस्ट्रियामा १८५६ मा जन्मेका सिगमन्ड स्लेमो फ्रायडको निधन दोश्रो विश्व युद्ध सुरु भएको २३ औं दिन लन्डनमा भयो। फ्रायड संसारमै नामुद मनोविशेषज्ञ, मनोचिकित्सक र स्नायुविशेषज्ञ थिए। उनले मनोविज्ञानका अनेकन प्राज्ञिक सिद्धान्तहरुको विकास गरेका थिए। चेतन, अर्धचेतन र अवचेतन मस्तिष्कबीच यौनिकताबारे हुने द्वन्द्व, कामवासना र अहंकार, वाल यौनिकता, मस्तिष्कको वहुआयामीक पक्षहरुलाई यौनिकता र यौनसँग जोड्नु नै फ्रायडको अध्ययन-अनुसन्धान थियो। चेतन, अर्ध चेतन र अवचेतन मस्तिष्कको बारेमा विस्तृत ब्याख्या फ्रायडले नै गरेका थिए। युरोपेली मन-मस्तिष्कहरुको समस्या पहिचान र निदानकै क्रममा फ्रायडको अध्ययन-अनुसन्धानको दायरा फराकिलो भएको थियो। 


तिमी पूर्वीयहरुको ग्रन्थ, धर्मशास्त्र, गीता, स्वस्थानीहरुमा ३३ कोटी देवीदेवता र ठूला-ठूला ऋषिको यौन सम्बन्धका बारेमा लाखौं प्रसंगहरु थिए। कामसूत्रको विकास नै पूर्वमा भएको थियो। यो सुत्रले सम्भोगका सयौँ आसनको तरिका, प्रक्रिया र आनन्दको बारेमा व्याख्या गरेको थियो। यो सत्यलाई पूर्वीयहरुले सयौं सय वर्ष अघि बनेका मठ, मन्दिर र धर्मशालाका टुँडाल र थामहरुमा कुँदिएका देवी-देवताका सम्भोगका आसनहरुले पनि बताउँछन्। तर पछिल्ला २/३ सय वर्षमा पूर्वीयहरु पूर्खाले लेखेको विचार, सिद्धान्त र अनेकन सुत्रहरुलाई विस्तार गर्ने भन्दापनि झनै जकडिए।

तिमी पूर्वीयहरु यसरी जड भएकै कारण पश्चिमाहरु कति छाडा भएका भन्ने लाग्ला। तर यथार्थ यस्तो थिएन र होइन। युरोपमा अढाई सय वर्ष अघि औद्यौगीक क्रान्तिसँगै उत्पन्न भएको मानवीय रहनसहन, व्यस्तता, जैविक आवश्यकता र बढ्दो सहरीकरणले  मानिस समाज र परिवारमा भन्दा बिस्तारै व्यक्ति केन्द्रित हुने क्रम बढ्यो। ठूला सहरमा मानिस व्यक्ति केन्द्रित हुने क्रम सुस्त-सुस्त बढेपनि गाउँ जस्ताको तस्तै थियो। मेरा हजुरबुबाको पालामा कुमारीत्व र कुमारत्वको विशेष महत्व थियो। पुरानो आँखाले हेर्दा पश्चिमी समाजमा रहेको खुला यौन सम्बन्ध, प्रेम सम्बन्ध र पारपाचुकेको बढ्दो प्रवृत्तिले हाम्रो समाज छाडापन र साँस्कृतिकरुपमा चरम विकृत भए झैं देखिएला। तर नयाँ आँखाले हेर्दा यौन सम्बन्धमा आएको खुलापनले युवा युवतीलाई जीवनसाथी छनोट गर्ने अनेकन अवसर दिएको छ। मानिस यौन कुण्ठामा बाँच्नु पर्दैन।


मेरो हजुरबुवाहरुको पालामा जर्मनीमा यौन सम्बन्ध राख्न नपाएकै कारण कैयौं युवा युवती कुण्ठित भएको सुनिन्थ्यो; कुण्ठाकै कारण कामप्रतिको समर्पणमा असर पर्ने बताउँथे हाइडलीवर्गका बुढापाकाहरु। मन नमिले पनि सँगै बस्नै पर्ने सामाजिक वाध्यता थियो रे हाम्रो समाजमा। तर त्यो चलन हराएको दसकौं दसक भइसक्यो। तर अहिलेको चुलिँदो यौन सम्बन्ध र प्रेममा आएको खुलापनले हाम्रो पश्चिमी समाजको परिवारिक इकाई धेरै कमजोर भएको देख्छु। सिबिसी टेलिभिजनमा मैले सुनेको थिएँ, "अलबर्टामा गत वर्ष मात्रै पारपाचुके ४३ प्रतिशत पुगेको थियो।" सुन्दा डर लाग्छ र मुखबाट सुस्केरा मात्र निस्कन्छ। तर बाँकी ५७ प्रतिशत स्थिर परिवारले नै हाम्रो समाजलाई भताभुंग हुनबाट जोगाएको छ। बुढो भएर होला- पारिवारिक स्थिरता भएको समाज नभएको भन्दा धेरै गुना बलियो हुन्छ जस्तो लाग्छ। 

पूर्वीयहरुले बिर्सन हुन्न र थाहा पाइ राख्दा राम्रो हुन्छ- यौन सम्बन्धमा आएको खुलापन र क्रान्तिले महिलाहरुमा पुरुष छनोट गर्ने अधिकार, मेरो जिन्दगी, मेरो मर्जी, मेरो अंग,मेरो ईच्छा, जति पुरुषको अधिकार त्यति महिला अधिकार जस्ता पृष्ठभूमीको आधारमा अन्तत: नारीवाद जस्तो सिद्धान्तको जन्म हुन पुगेको थियो। जसरी एउटा पुरुषले धेरै महिलासँग यौन सम्बन्ध राख्ने विषय मामूली बनेको थियो, त्यसैगरी महिलाले पनि आफूखुसी धेरै पुरुषसँग सम्भोग गर्नु अति सामान्य मानिएको थियो। हाम्रो पालाकी चर्चित लेखक एलिस मुनरोले सन् १९७१ को उपन्यास ‘लाइभ्स अफ गर्ल्स एण्ड ओमन’ मा आफू कुरकुरे बैंस बाँचेको क्यानाडाका बारेमा लेखेकी छन्। उनी हुर्किरहेको समयमा केटी र महिलाको अवस्था, कुमारीत्व, केटीमा यौन सम्बन्धको असर, यौन सम्बन्धकै कारण केटीहरुको उम्दा जीवन बाँच्ने सपनाको मृत्यु जस्ता पक्षलाई उनले उजागर गरेकी थिइन्। चर्चित लेखक मुनरोले चित्रण गरेको प्रमुख पात्र डेल जोर्डनको जीवनको सबिस्तार वर्णनले तत्कालीन समाज देखाउँछ। उनले मौन यौन क्रान्तिले क्यानडाली समाजमा आएको परिवर्तन देखाउन आमा छोरीको सम्वाद, साथीभाइको संगत र यौनका बारे सुक्ष्म चर्चा गरेकी थिइन्। यसले पश्चिमी समाजले यौन सम्बन्धलाई निजी मामलाको रुपमा हेर्ने थालेको र नारीवादको विकास द्रुत गतिमा भएको देखाएको थियो। 


जन्मिएका हिसाबले म जर्मन भएपनि क्यानडाले लोक कल्याणकारी देशको छवि बनाएको दसकौं दसक भइसकेको थियो। क्यानडा सामाजिक  सुरक्षाका लागि नव मार्क्सवादी, स्वतन्त्रता र व्यवस्थाका हिसावले प्रजातान्त्रिक देश हो।

हुन त मैले धेरै पढिनँ। माध्यमिक विद्यालयको पढाई पुरा गरें। तर पढन मलाई खुब रुची लाग्थ्यो। पछि मैले अलि अलि दर्शन, राजनीति र इतिहास पढें। सन् १८१८ मा जन्मिएका जर्मनीका कार्ल मार्क्सको मार्क्सवाद र उनी भन्दा ३५ वर्ष पछि अस्ट्रियामा जन्मिएका सिग्मन्ड फ्रायडको यौन दर्शन मिसाउन पाए सायद संसारमा सबै भन्दा उम्दा दर्शन त्यही हुन्थ्यो जस्तो बेला बेलामा लागिरहन्थ्यो।

ग्रहकहरुको संगतले मैले कतिपय गरिब देशको अवस्था थाहा पाएको थिएँ। गरिब देशमा व्यवहारमा सबैभन्दा उपेक्षित तर नारामा सगरमाथै उकालिएको मार्क्सवादले पाउनु सम्म दुख: पाएको थियो। वादका नाममा जनतालाई सँधै भुलभुलैयामा राखेको सुनेको थिएँ। तर मलाई स्मार्ट मोबाइल चलाउँदा, स्मार्ट टेलिभिजन हेर्दा र कम्प्युटरमा इन्टरनेट चलाउँदा कति कति बेला लागिरहन्थ्यो अचेल कार्ल मार्क्स जन्मेको भए के पो लेख्थे होलान? सायद उनले उपभोक्तावाद लेख्थे होलान्। संसारकै मानिसलाई किन, कसरी, कहिलेदेखि आफ्नो जीवनमा सकेसम्म धेरै बस्तु, साधन र श्रोत उपभोग गर्ने भनेर छुट्टै दर्शन ल्याउँथे होलान्। संसारकै गरिब देशहरुमा मार्क्सवादलाई उपयोग गर्दै गरिबका नेताहरु चरम उपभोक्तावादी भएको देखेर मार्क्स स्वयंले चरम उपभोक्तावादको दर्शन निकाल्थे होलान्। ‘भयको रजाइँ’  डकुमेन्ट्री हेरेर सुतेको थिएँ। सपनामा त्यस्तो देखेको थिएँ। मार्क्सको सिद्धान्त र दर्शन मेरो सपनामा आएका थिए। तर मार्क्सवादका अधारहरु ऐतिहासीक भौतिकवाद परिवर्तन भएर ऐतिहासीक उपभोक्तावाद, द्वन्द्वात्मक भौतिकवाद फेरिएर द्वन्द्वात्मक उपभोक्तावाद,  अतिरिक्त मूल्यको सिद्धान्त समयानुकूल भएर अतिरिक्त उपभोक्तावादी मूल्यको सिद्धान्तमा फेरिएको देखेको थिएँ। सपनाको कुरा भन्न मन लागेको थियो, भनेँ। ए हे !  म त श्रीमती र परिवारको कुरा गर्दै थिएँ। कता बरालिएँ कता !
***

मेरी जेन र मेरो बिबाह भएपछि हाम्रो परिवार पूर्वीय पारिवार जस्तै गरी स्थिर ढंगले चल्यो। बिहेपछि मैले अन्त दायाँ बायाँ लाग्ने त के सोच्दा पनि सोचिन। 

म पहिले स्टिल कम्पनीमा वेल्डिङको काम गर्थेँ। पछि मेरो साथीले कुखुरा फार्म किन्यो, उसँग मैले ८ वर्ष काम गरें। त्यसपछि आफैं कुखुरा फार्म किनेर चलाउन थालेँ। यहाँ १४ एकर्ड अर्थात ८ बिघा जग्गा छ। सन् १९८३ मा मैले ३ लाख २० हजार डलरमा यो किनेको हुँ। कुखुराको लागि ६ वटा ठूला टहराहरु थिए, त्यसैले मैले अलि धेरै पैसा हाल्नु परेको थियो। ऊ त्यो रातो पुरानो टहरा चाहिँ सन् १९४५ तिर दुध बेच्ने थलो थियो अरे। त्यति बेलादेखि म कुखुरा पालक किसानको रुपमा काम गर्दैछु। धेरै योजना र तयारी नगरी गरेको हुनाले पैसा कमाउन सकिएन र गरिब किसान हुन पर्‍यो। अरुथोकमा लागेको भए धेरै पैसा कमाउन सकिन्थ्यो होला। पछुतो छैन। केटाकेटीलाई राम्रोसँग हुर्काएँ। शिक्षादिक्षा दिएँ। गजब राम्रो समय बिताएँ। अहिले यो सम्पत्तिको ५-६ लाख डलर आउला। यहाँ भएका सबै टहराको सञ्चालन अनुमति लिएको भए ५० लाख डलर सम्ममा बेच्न सकिन्थ्यो। तर अनुमति पत्र लिएपछि वर्षपिच्छे तिर्नुपर्ने वार्षिक महसुल धेरै हुनाले सबै टहराको अनुमति पत्र लिइनँ।
सप्ताहन्तमा मात्रै कारोबार गर्ने सानो किसान हुँ म। धेरै बेचेँ अघिल्लो सप्ताहन्तमा। मसँग अहिले १२ सय जती हाँस र कुखुरा होलान्। एउटा कुखुरा १० डलरमा बिक्री हुन्छ भने एउटा हाँसलाई २० देखि ५० डलरसम्म पर्छ। हाँसको आकार र वजनले मूल्य तय हुन्छ। प्राय: कारोबार नगद डलर दिने कुखुरा, हाँस र अण्डा लिने भएकाले सजिलो छ। शनिबार र आइतबार ७५ देखि १ सय मानिस आउँछन्। कहिलेकाहिँ त यत्रो ठूलो आँगनमा कारहरु नअटाउला जस्तो हुन्छ। गजब रमाइलो हुन्छ। एकातिर कारोबार हुन्छ, अर्कोतिर विभिन्न राष्ट्रियता र संस्कृतिका मानिससँग भेटघाट हुन्छ; संगत बढ्छ। धेरै जनासँग गहिरो कुरा हुन्छ। 



किसान भएकाले पेन्सन धेरै पाउँदैनौं। निवृत्तिभरण कोषमा खासै पैसा राखिएन। त्यसैले म र मेरो श्रीमतीको मासिक २ हजार डलर मात्रै पेन्सन हुन्छ। सप्ताहन्तमा हुने कारोबारले हामीलाई खर्च गर्न मनग्गे पुगेको छ। हामी प्राय: दिनको ६ देखि १० घण्टासम्म काम गर्छौं। मान्छेको जीवन पनि कोदाली जस्तै हो। खनिरहे टिलिक्क टल्कन्छ, थन्काएर राखे खिया लाग्दा लाग्दै पत्रु हुन्छ। ज्यानमा तागत छउन्जेल र हातगोडा चलुन्जेल काम गरिरहने विचारमा छौं। अझै ५/६ वर्ष काम गर्न सक्छु जस्तो लाग्छ तर मेरी जेनलाई दमको समस्या छ। ऊ अलिछिट्टै थला पर्ली कि भन्ने पीर लाग्छ।

बुढौली कसरी बिताउने, बिजोग हुने हो कि भन्ने डर हामीलाई छैन। वृद्धाश्रम, स्यहार-सुसार र ओखती सरकारले नै निःशुल्क उपलब्ध गराउने हुनाले केही चिन्ता छैन। 

मेरो दुईवटा छोरा छन्। एउटा ट्रक ड्राइभर छ, अर्को वातावरणविद्। दुबैले आआफ्नो ब्यवस्था राम्रो गरेका छन्। सम्पत्ति राम्रोसँग जोडेका छन्। हामी चाडपर्वमा जम्मा हुन्छौं। न हामीले छोराहरुसँग कुनै अपेक्षा गरेका छौं, न त छोराहरुले नै हामीसँग कुनै आश।  

साथीभाइ सोध्छन्, "यत्रो सम्पत्ति छ। के गर्ने ?" मैले अहिलेसम्म केही योजना बनाएको छैन। यो मसँगै काम गर्ने ट्रक ड्राइभरले किन्ने रुची देखाएको छ। तर त्यतिबेलासम्म के हुन्छ हेरौं? सम्पत्ति बेचेर आफ्नो मृत्यु नहुन्जेल खर्च गर्छु। बाँकी रकम गुठी वा ट्रस्टलाई दिन्छु। अहिलेसम्म यस्तै सोचेको छु। पछि मन बदलिएर कसैलाई उपहार दिन पनि सक्छु। 

एकबारको जिन्दगीमा आँखीझ्यालहरु अनेकौं बनेछन्। यसरी मैले मेरो जिन्दगीलाई अनेक आँखीझ्यालबाट चियाइ हेरेँ। समय, स्वास्थ्य, रुची, सामिप्यता बढदै गयो र पाठकले मन पराए भने यो जिन्दगीलाई सिङ्गो झ्याल खोलेर हेर्नेछु। जीवन कस्तो देखिएला ?

प्रस्तुतिः प्रज्ज्वल चापागाईं/क्यानडा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell