PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दलालीकरण र माफियाकरणबाट सिर्जित समस्या नियन्त्रण मेरो प्राथमिकता : महेश बस्नेत



दलालीकरण र माफियाकरणबाट सिर्जित समस्या नियन्त्रण मेरो प्राथमिकता : महेश बस्नेत

पटक पटक विवादमा आइरहने युवा संघ अध्यक्ष महेश बस्नेतलाई नेकपा एमालेले वर्तमान मन्त्रिपरिषदमा उद्योग मन्त्रालयको जिम्मेवारी दियो। भक्तपुरको गुन्डु गाविस - ४ मा २०३१ सालमा जन्मेका बस्नेत १० कक्षा पढ्दै गर्दा राजनीतिमा होमिएका थिए। २३ वर्षको उमेरमै गाविस अध्यक्ष बनेका बस्नेत युवा संघको जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी अध्यक्ष, केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष भए। ४० वर्षको उमेरमै मन्त्री बने। उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन्। आफूप्रति नकारात्मक दृष्टिकोण राख्नेहरुलाई उनी दुई तीन महिना आफ्ना काम हेरेर जवाफ खोज्न आग्रह गर्छन्। आइतबार सपथग्रहण पश्चात् पदभार ग्रहणको तयारीमा रहेका बस्नेतसँग पहिलोपोस्टका रविराज बरालले गरेको कुराकानीः

तपाईँ त अचानक मन्त्री बन्नुभयो है?

मैले संगठनमा काम गरेको आधारमा मलाई जिम्मेवारी दिइयो, म युवा संघ नेपाललाई धन्यवाद दिन चाहन्छु। नेकपा एमालेलाई धन्यवाद दिन चाहन्छु। म मन्त्री बन्दै छु भन्ने संकेत वा सूचना पाएको भए पनि म योजना बनाएर बस्थेँ होला। पार्टी अध्यक्ष केपी कमरेडले मलाई जरुरी कुरा गर्नु छ भनेर उहाँको निवास बालकोट बोलाउनभयो। म जाँदाजाँदै बीचमै कमरेड झलनाथ खनालको फोन आयो। उहाँले मलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको बताउनुभयो। यो मेरा लागि 'सरप्राइज' थियो। म बालकोट पुगेँ। ओली कमरेडले भन्नुभयो- तपाईँलाई बधाई दिउँ भनेको ढिला भैसक्यो। यो जिम्मेवारी मेरा लागि सरप्राइज नै हो।

सरप्राइज पहिला कोसँग बाँड्नुभयो? घरपरिवारसँग वा अरु कसैसँग?

सुरुमा त मिडियाबाट नै फोन आयो। मेरो फोन अति व्यस्त भयो। एक दुईपटक फोन गर्न कोसिस गरेँ, घरको ल्यान्डलाइन फोन पनि व्यस्त भयो। कन्ट्याक्ट हुन सकेन। शनिबारदेखि युवा संघ, नेपालको केन्द्रीय विस्तारित बैठक भएकाले संगठनकै काममा व्यस्त भइयो। राति १० बजे घर पुग्दा गाउँका करिब चार पाँच सय मानिस मेरो घरबाहिर जम्मा भैसक्नुभएको थियो। मेरो घर काँठ क्षेत्रमा पर्छ। त्यहाँ सहर जस्तो छैन। सबैजना मलाई बधाई दिन आउनुभएको थियो। बिहान उठेर पनि गाउँ डुलेँ। सबैलाई धन्यवाद दिएँ।

निर्वाचनमा पराजितलाई मन्त्री बनाइयो भनेर तपाईँको पार्टीभित्र पनि विवाद छ रे नि?

निर्वाचनमा जित र पराजय प्राविधिक विषय हुन्। जित-हार अल्पकालीन हो तर राजनीतिक जिम्मेवारी र आस्था दीर्घकालीन। राजनीतिमा पार्टी संगठनले दिएको जिम्मेवारी अस्वीकार गर्नु राजनीतिक इमान्दारिता हैन। मुख्य कुरा मैले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सक्छु कि सक्दिनँ भन्ने हो।

तपाईँमाथि गुण्डागर्दीका भरमा राजनीति गरेको आरोप छ नि?

हामी राजनीतिमा लागेका छौँ, त्यसमा पनि कम्युनिष्ट राजनीतिमा। हामी वर्गीय मुद्दा नै प्रधान हो भनेर राजनीतिमा होमिएका मानिस। समाजमा वर्ग हुन्छ, वर्गीय चेतना हुन्छ, वर्गीय पक्षधरता हुन्छ। हाम्रो जस्तो मुलुकमा पुँजीवादतर्फ विकास भएको समूदाय पनि छन्, सामन्तवादी चिन्तन बोकेका समूदाय पनि छन्, निम्नपुँजीवादी समूदायहरु पनि छ। यस्ता विचारको प्रतिनिधित्व गर्ने पार्टी पनि छन्, संस्था पनि छन्, मिडिया पनि छन् र व्यक्ति पनि छन्। यी बीचको द्वन्द्व स्वभाविक हुन्छ। म हिजो वाइसिएलले गरेका ज्यादतीविरुद्ध युथ फोर्स बनाएर आन्दोलनमा होमिएँ। अधिनायकवाद विरुद्ध हामी कफन बाँधेर मर्न तयार भएर सडकमा उत्रेकै हो। हामी पनि घाइते भयौँ, वाइसिएलका साथी पनि घाइते भए। यो एउटा चरण गुज्रियो। तर त्यो समयको माग थियो। समाजमा हुने अन्याय र अत्याचार विरुद्धको संघर्षमा धेरै मानिसको आँखी भइयो। कहिले प्रहरीसँग भयो होला, कहिले उद्योगी/व्यापारीसँग। कहिले राजनीतिक दलहरुसँगै भयो होला त कहिले कोसँग। त्यस्ता घटनाबाट रिसाएकाहरुले हामीलाई पुरस्कार त दिँदैनन्। उनीहरुले अनेक हल्ला फिँजाएका छन्। काम गर्नेहरुलाई आरोप लाग्नु अस्वभाविक हैन।

तपाइँको आलोचना मानिसहरुले हावाको भरमै त गरेका हैनन् होलान् नि?

मानिसले अरु सबैका काम जानेको हुन्छ आफ्नो काम जानेको छैन भनिन्छ। हाम्रा बारेमा पनि त्यस्ता प्रश्न उठ्नु अस्वभाविक होइन। यो सान्दर्भिक पनि हो। तर मैले यसो हो उसो हो भनेर बोलेर खण्डन गर्नुको अर्थ हुँदैन। म यस्ता आरोपको व्यवहारबाट नै खण्डन गर्न चाहन्छु। कतै हामीविरुद्ध मिडियामा आएका कुरा हेरेर, सोसल मिडियामा हामीविरुद्ध भएका सामग्री हेरेर हाम्रा बारेमा धारणा बनाएर आलोचना गरेका साथीहरुलाई कम्तिमा तीन महिना कुरिदिन मेरो आग्रह छ। यसले बिगारिहाल्छ कि खतम बनाइहाल्छ कि भनेर नकारात्मक दृष्टिकोण राखेका साथीहरुलाई मेरो दुई तीन महिना मेरा काम हेर्न आग्रह गर्छु, जवाफ पाउनुहुनेछ।

मिडियामा आएका आलोचना हेरेर नकारात्मक दृष्टिकोण राखेको भन्नुभयो। त्यस्तो हो र?

अघि नै भनेँ मिडियाको पनि आफ्नो वर्ग पक्षधरता हुन्छ। मिडियाले मेरो आलोचना गर्न पाउनुपर्छ तर त्यो आलोचना गर्ने अधिकार आज कसरी सुरक्षित भैरहेको छ बुझ्नुपर्छ। हिजो सामन्तवादविरुद्ध हामी सडकमा नउत्रेको भए आज मिडिया राज्यनियन्त्रित भैरहनुपर्ने अवस्था हुनसक्थ्यो वा कुनै पार्टीको लालआतंक टुलुटुलु हेर्न पर्ने अवस्था हुन सक्थ्यो। त्यसैले मलाई आलोचना गर्नेहरुप्रति त्यति गुनासो छैन। तर हामी जे हौँ, त्यो मात्र लेखिदिउँ, भनिदिउँ। हामी जे होइनौँ त्यो नलेखिदिउँ, नभनिदिउँ।
तपाइँ मन्त्री त बन्नुभयो तर जनताले तपाइँबाट के नयाँ कुरा आशा गर्ने ?

मैले जिम्मेवारी पाएको मन्त्रालयमा यसअघि नेकपा एमालेकै नेता कमरेड कर्ण थापा मन्त्री हुनुहुन्थ्यो। उहाँ मेरो पनि नेता हो। उहाँको दृष्टिकोणलाई पनि निरन्तरता दिनुपर्ने स्थिति छ। युवा, महिला र व्यवसायीलाई प्रोत्साहन दिने, भ्रष्ट्राचार र अनियमितता नियन्त्रण गर्ने, दलालीकरण र माफियाकरणबाट सिर्जना भएका समस्या नियन्त्रण गर्ने मेरा प्राथमिकता हुन्। साथै बन्द भएका उद्योगहरु सञ्चालनका लागि के गर्न सकिन्छ भनेर अध्ययन/छलफल गरेर सहमति बनाउनु छ।

हाम्रो पार्टीबाट मात्र सहयोग भएर पुग्दैन। अर्थमन्त्रालय सत्ता साझेदार दल नेपाली कांग्रेससँग छ। मैले माथि भनेका काम अर्थमन्त्रालयसँग पनि जोडिएका छन्। मेरो योजनालाई मूर्तरुप दिन प्रधानमन्त्री र अर्थमन्त्रीको मार्गनिर्देशन र सहयोग आवश्यक पर्छ। उहाँहरुसँग छलफल गर्ने छु। नयाँ के आशा गर्ने भन्नुभयो। मलाई विदेश मोह छैन। मलाई कुनै आर्थिक लाभको चाहना छैन। दुई चार लाख कमाउँ, दुई चार करोड कमाउँ भन्ने मेरो ध्यय छैन। म समाजको तल्लो वर्गको प्रतिनिधित्व गर्दै यहाँसम्म आएको छु। मैले जहाँजहाँ जिम्मेवारी पाएँ मैले सफलतापूर्वक र सकारात्मक ढंगले पुरा गरेको छु। कमसेकम मेरो कामबाट लज्जाबोध गर्नुपर्ने र निहुरिनुपर्ने वातावरण बन्ने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell