PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हाइ प्रोफाइल माझ विजयकुमारको 'खुसी'



हाइ प्रोफाइल माझ विजयकुमारको 'खुसी'

अनन्त कोइराला/पहिलोपोस्ट-
 काठमाडौं :
पत्रकार विजयकुमार पाण्डेको संस्मरण 'खुसी' सार्वजनिक भएको छ।

काठमाडौंको पाँच तारे होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहमा खचाखच 'हाइ-प्रोफाइल' माझ पुस्तक विमोचन गरिएको हो।
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि अभिनेता राजेश हमालसम्म 'खुसी' विमोचन समारोहमा उपस्थित थिए। फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रमको सञ्चालक थिइन् अभिनेत्री गौरी मल्ल।

किताबका बारेमा बोल्ने व्यक्ति थिए, नेता प्रदिप गिरी, उद्योगपति डा. उपेन्द्र महतो र याक एण्ड यति तथा ह्यात होटलका मालिक अरुण सर्राफ।

निमन्त्रणा दिइएका व्यक्तित्व मात्र उपस्थित समारोहमा नेता, सम्पादक, अभिनेता, व्यापारी, आध्यात्मिक गुरुदेखि समाचार वाचकसम्मको उपस्थिति थियो। डा. तुलसी गिरी, केशरबहादुर विष्ट, शेरबहादुर देउवा, कमल थापा, लोकेन्द्रबहादुर चन्द, हिसिला यमी देखि गगन थापा, रवीन्द्र अधिकारीसम्मका नेता विमोचन समारोहमा उपस्थित थिए।

त्यस्तै भारतीय राजदूत रणजित राय, बेलायती राजदूतदेखि ग्रीसका राजदूतसम्म समारोहमा उपस्थित थिए।

अन्नपूर्ण पोस्टका सम्पादक युवराज घिमिरे, बिबिसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्र, नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधान, कान्तिपुर टिभीका भुषण दाहाल लगायत 'हाइ-प्रोफाइल' पत्रकार पुस्तक विमोचनमा सहभागी थिए।

त्यस्तै एसएसपी रमेश खरेल, समता स्कूलका उत्तम सञ्जेल, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेति, सिएनएन हिरो पुष्पा बस्नेतसम्म पुस्तक विमोचन समारोहका पाहुना थिए। ट्राफिक व्यवस्थापनमा सिताराम हाछेतु स्वयं खटेका थिए।

रोयल्टी समाजसेवामा

विमोचन कार्यक्रममा विजयकुमारले किताब बिक्रीबाट पाएको रोयल्टी समाजसेवाको लागि खर्च गर्ने बताए।

'म रक्सीले खाएको मान्छे हुँ। रक्सीले मलाई सकेको हो,' विजयकुमारले भने, 'मेरो पुस्तक पढेर कसैको कथा मसँग मिल्यो भने (रक्सीका सन्दर्भमा) म यो किताबको पैसा उनीहरूलाई रक्सीबाट छुटकारा दिलाउन प्रयोग गर्न चाहन्छु।' उनले आफूले पाएको रोयल्टी फुलकुमारी महतो ट्रष्टलाई दिने घोषणा समेत गरे।


व्यंग्य वाण

'नेताहरू उपस्थित हुनुहुन्छ, तर भाषण गर्नुहुन्न,' विजयकुमारले भारतीय राजदूत रणजित रायलाई भने, 'आप को भी अच्छा ही लगा होगा, सब नेता लोग उपस्थित है पर भाषण नही हो रहा है।'

विजयकुमारले एमाओवादी अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै भने, 'बाबुरामजी भन्दै हुनुहुन्थ्यो, प्रचण्डजीको कद घटेको छ। मैले यति मात्रै थपेँ, राजनीति क्षेत्रमा कद घटे पनि भएका कदहरु मध्ये अहिले तपाइँ अग्लै हुनुहुन्छ।'

विजयकुमारले गरेको प्रचण्डको प्रशंसाको जवाफ प्रदिप गिरीले यसरी दिए, 'विजयजीलाई धन्यवाद, प्रचण्डजीको कद सम्झाइदिनुभएकोमा, तर म त शेरबहादुर दाइकै कद अग्लो देख्छु।'

विजयकुमारले उपस्थित सबै नेताका बारे केही न केही भने। लोकेन्द्रबहादुर चन्दका बारे उनले भने, 'लोकेन्द्रजी राजनीतिभन्दा साहित्यमा लाग्नुभएको भए अझ माथि पुग्नुहुन्थ्यो। हुनत राजनीतिमा प्रधानमन्त्रीभन्दा ठूलो पद छैन। अब साहित्य साधनामा लाग्नुस्।' 


उनले तुलसी गिरी र किसुनजीका बारेमा भने, 'म किसुनजी र तुलसी गिरीजीका बीचमा बस्थेँ। आपसमा पटक्कै नमिल्ने यी दुईजनाको बीचमा बसेर मैले थाहा पाएँ, सत्य विपरितार्थको बीचमा लुकेर बसेको हुन्छ।' 

विजयकुमारको ठ्ट्टा यतिमै सकिएन। उनले आफूले पाएको रोयल्टी समाजसेवामा खर्च गर्न चाहेको र यो फुलकुमारी महतो ट्रष्टलाई दिने घोषणा गरेपछि भने, 'मैले यसो भन्दा रविन्द्र मिश्रले ताली बजाउँछन् कि बजाउँदैनन् भनेर हेर्दै थिएँ।'

प्रकाशक फाइन प्रिन्टका निरज भारीले ३५ हजारप्रति पुस्तक बजारमा पठाएको बताए।


लामो समयपछि तुलसी गिरी (बीचमा) सार्वजनिक कार्यक्रममा देखिए। साथमा कमल थापा र निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेती।




याक एन्ड यति होटलका मालिक अरुण सर्राफ। पुस्तकमा उनका पिता राधेश्याम सर्राफ शीर्षकमा एक अध्याय छ। 


कार्यक्रम सञ्चालन अभिनेत्री गौरी मल्लले गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell