PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'किशोर नेपालका बारेमा कुरा गर्नु खतरनाक'



'किशोर नेपालका बारेमा कुरा गर्नु खतरनाक'
पुस्तक विमोचन कार्यक्रममा (दायाँबाट) खगेन्द्र संग्रौला, लेखक किशोर नेपाल, प्राध्यापक अभि सुवेदी र उज्जवल प्रसाईँ।

खगेन्द्र संग्रौला-
किशोर नेपालको लेखन सीमान्त लेखन हो। किशोर नेपालसँग बाटोमा हिँड्दा म कुरा गरिरहेको थिएँ- किशोर नेपालको चिन्तन, जीवनजगतको चित्रण, त्यसको विम्बका माध्यमबाट भन्ने उहाँका जो कुरा छन्, त्यो सीमान्त लेखन हो। मलाई के लाग्छ भने, सभ्यताको सबै चरणमा गम्भीर चिन्तन, गम्भीर सिर्जना, गम्भीर लेखन सीमान्त हुन्छ। 
 

अहिले मूल प्रवाहमा के छ? मूल प्रवाहमा अहिले 'प्रेत लेखन' छ। यो अभि दाइको शब्द म सापटी लिइरहेको छु। जिन्दगीभरी निरंकुश शासकहरुको सेवा गरेर सम्पति कमाएकाहरू र सम्पतिको चांगमा उभिएकाहरु, रक्तरञ्जित शरीर भएकाहरु पुस्तक लेखिरहेका छन्। तिनका पुस्तक लेख्नका निम्ति केही प्रेत लेखक (घोस्ट राइटर) हरु भर्ती भएका छन्। तीमध्ये कतिपय प्रेतहरु सिर्जनशील लेखक हुन्।

एकपाटोमा ती सिर्जनशील छन्। तिनको छुट्टै परिचय छ। तिनको छुट्टै ख्याति छ। तिनको छुट्टै समाज छ। ती प्रेत लेखकमा भर्ती हुन्छन्, आफ्नो नाम लुकाउँछन्। दाम लिन्छन् र इतिहासका भरौटेहरुलाई गंगाजल छर्केर, गहुँत छर्केर चोख्याउँछन्। शब्दको मूल प्रवाहमा, प्रकाशनको मूल प्रवाहमा यीनै छन्। बजार तिनको छ। विज्ञापन तिनको छ। सबभन्दा बढी बिक्ने ति भएका छन् र 'बेस्ट सेलर'मा दर्ता पनि तिनै हुन्छन्। 
 
किशोर नेपाल ती कहीं पनि छैनन्। बजार उसको होइन। विज्ञापन उसको होइन। बिक्रीको व्यापक परक पनि उसको होइन। तर किशोर नेपाल चाहिँ लेखक हो, किनभने मूल प्रवाहको त्यो धन्दामा किशोर नेपाल छैन। 

किशोर नेपालका बारेमा कुरा गर्नु खतरनाक हुन्छ। किशोर नेपाल सिंगो नेपालको बौद्धिक जमातमा त्यस्तो मान्छे हो जसलाई सडकदेखि दरबारसम्म थाहा छ। किशोर नेपाल कुनैबेला हकर हुनुहुन्थ्यो, खलासी हुनुहुन्थ्यो, सायद चिया पनि बेच्नुभो होला (किशोर नेपाल पछाडिबाट, बेचेँ दाइ बेचेँ), चिया पनि बेचेकै हो। त्यहाँबाट सुरु गरेर उहाँले नेपालका सबै शक्ति केन्द्र चहार्नुभएको छ।
 
चहार्नुभएको छ भनेको शिकार गर्न होइन। उहाँले सडकको धुलोदेखि ठुलाठुला शक्तिकेन्द्रका वृत्त वरिपरि घुम्दा उहाँले जीवनलाई अत्यन्त नजिकबाट अन्तरंग ढंगबाट अवलोकन गर्नुभएको छ। त्यसलाई ग्रहण गर्नुभएको छ। 
 
सहरबारे म अनाडि मान्छे, मलाई सहर थाहा छैन। एकसमय थियो, जब मलाई लाग्थ्यो म गाउँ बुझ्छु। म अहिले गाउँ पनि बुझ्दिनँ। यो 'ग्लोबलाइजेसन' भन्ने जन्तुले म हुर्केकै गाउँको अनुहार पनि फेरिसकेको छ। म जुन गाउँ चिन्थें, त्यो गाउँ छैन। सहर त म चिन्दिनँ। मलाई सजिलो के छ भने मसँग अहिले दुईजना सहर चिनेका मान्छे हुनुहुन्छ, अभि सुवेदी र किशोर नेपाल। मैले भन्ने केही छैन।
 
किशोरजी सहरका बारे विज्ञ हुनुहुन्छ, उहाँ जन्मेको सहरमा हो, हुर्केको सहरमा हो। आफ्ना जीवनका सम्पूर्ण कर्महरू, जगतसँगका संवादहरू सहरबाटै गर्नुभएको छ। यद्यपि उहाँले गाउँ पनि व्यापक रुपमा भ्रमण गर्नुभएकै हो। 
 
अभि दाइ तेह्रथुमबाट काठमाडौं आउनुभयो। तेह्रथुमबाट काठमाडौं आएर काठमाडौंको नाट्यकला, संगीतकला, वास्तुकलादेखि हिप्पीकलासम्म धेरैकुरा उहाँले लेख्नुभएको छ। उहाँले धेरै चर्चा नगर्नुभएको एउटैमात्र कला भनेको खाद्यकला हो। खानपिनमा त्यति रुचि नराख्ने हुनाले खाद्यबारे त्यति प्रकाश नपार्नु भएको भन्ने हाम्रो बुझाइ हो।
 
किशोर नेपालका यी रचनाहरु मैले धेरै पढेको थिइनँ। गाथा लेखन कान्तिपुर साप्ताहिकबाट सुरु भयो, त्यसपछि तीनचारवटा पत्रिकाहरुमा लेख्नुभो। ती पत्रिकाहरु गाढा रंगमा आउँथे। गाढा रंगको तड्कभड्कमा आउँथे। किशोरकिशोरीहरूको कुरकुरे बैंशलाई कुत्कुत्याउने सामाग्री तिनमा धेरै हुन्थे। डिपी भन्डारी र किशोर नेपाल त्यस्ता पत्रिकामा पनि लेख्नुहुन्थ्यो, तर कुरकुरे बैंश कुत्कुत्याउने कुरा होइन, जीवनका गम्भीर कुराहरू गम्भीर रुपमा प्रक्षेपण गर्नुहुन्थ्यो। ती पत्रिकामा मलाई पढ्नका लागि अन्य सामग्री नभएका हुनाले त्यही एउटा लेखकै लागि त्यत्रो पैसा कसरी खर्च गर्नेहोला भन्ने मलाई लाग्थ्यो। तर अहिले 'कान्तिपुर गाथा' नाममा यो संकलन आएपछि मैले सबैजसो लेखहरु पढेँ।
 

लेखक किशोर नेपाल।

सबै पढेपछि मलाई के लाग्यो भने, किशोर नेपाल केही रचना पढेर पहिले अनुमान गरे जस्तै सहरको विज्ञ हुनुहुन्छ। सहरका कुनाकाप्चा, सहरको जीवनको दैनिकी, समयसँगै बदलिने चक्रहरू, त्यसका रुपहरू, ती सबैका ज्ञाता हुनुहुन्छ। उहाँले साप्ताहिक स्तम्भका रुपमा यो लेख्नुभो। एककिसिमले यो चाहिँ समाजशास्त्रीय साप्ताहिक भाग्यरेखाको अवलोकन जस्तो लाग्छ। समाजशास्त्रीय साप्ताहिक राशीफल जस्तो पनि लाग्छ, किनभने उहाँले हरेक हप्ता लेख्नुभएको छ।
 
स्वभावत: यी रचनाहरुमा दुई-तीनवटा कुरा देखिन्छ- एउटा किशोर नेपालको निष्ठा- जगतले मलाई जे बनायो त्यसप्रति म कृतज्ञ छु। त्यो जगतलाई मैले केही दिनुपर्छ भन्ने उहाँको चाहना, त्यसको पृष्ठभूमिमा रहेको उहाँको निष्ठा, जगतसँगको अन्तरक्रिया र सम्बन्ध। यो लेखनको एउटा व्यवसायिक पक्ष पनि हो। किशोर जीको ग्ल्यामरबारे त कुरै गर्नु परेन। त्यसैले यो निष्ठा, व्यवसायिकता र ग्ल्यामर- तीनवटा कुराको अत्यन्त सुन्दर संगम जस्तो लाग्छ, समस्त रचना पढ्दा।
 
यसमा धेरै कुरा छ। शहरी सभ्यता र पानीको कुरा छ। पानी त्यही शहरी सभ्यतामा आउँछ। शहरी सभ्यताले पानी जोगाउन सक्दैन। पानीले काठमाडौं त बनाइयो, तर काठमाडौंले पानीलाई बर्बाद पार्‍यो। सहर र पानी, सहर र वास्तुकला, सहर र संस्कृति, परिवर्तनको क्रममा सहर र विकृति, सहर र सिनेमा, सहर र कोलाहल, कचिला र केएएफसी, सहर र नारी सौन्दर्य, सहर र भुइँफुट्टा प्रवृत्ति, सहर र केशव स्थापितजस्ता गफाष्ट प्रवृत्तिका विराट कथा। केशव स्थापित कहीं कहीं दोहोरिएर आउँछन्। स्थापित एउटा विम्ब, एउटा पात्र मात्रै हो। नेपथ्यमा किशोरले के भन्न खोजेको लाग्छ भने हाम्रो नेतृत्व तहमा धेरै केशव स्थापितहरु छन्। ठुलाठुला कुरा गर्छन्, गरि पुर्‍याउँदैनन्। पछाडि फर्किँदैनन्। पश्चाताप गर्दैनन्। र, ठुलै कुरा गर्छन्। 
 
किशोरले आफ्नो लेखनमा रस हाल्छन्। उहाँको यो (कान्तिपुर गाथा) संग्रहमा बहुलरस छ। यसमा राजनीतिको रस छ। अर्थनीतिको रस छ। संस्कृतिको रस छ। र, काम र कोक शास्त्रको पनि मनग्य रस छ। 
 
नयाँ पत्रिकामा किशोर नेपालको एउटा अन्तर्वार्ता छापिएको थियो नारीमाथि। विभिन्न कथनहरुका अतिरिक्त उहाँको एउटा गज्जपको कथन थियो, 'नारी भनेको जूनार हो, जति निचोर्‍यो त्यति नै बढी रस आउँछ।' लैंगिक समानताका पक्षधरहरु, नारीवादीहरु उहाँलाई कुट्नको निमित्त सडकमा जुलुस लिएर निस्कियो। तर किशोरजी कुटिनुभएन। नारीबारेमा किशोरजीको आफ्नो छुट्टै दृष्ट्रिकोण छ। दृष्ट्रिकोणको पृष्ठभुमिमा उहाँको आग्रह वा जिद्दी के छ भने 'मलाई जे लाग्छ म त्यो भन्छु, तिमीलाई जे लाग्छ त्योमाथि तिमी प्रतिक्रिया गर। तर मुख छँदाछँदै हात नहाल।' मैले भन्ने यत्ति मात्र हो।

खगेन्द्र संग्रौलाको विचार अडियोमा सुन्नुहोस्।



लिपि बुक्सले प्रकाशन गरेको किशोर नेपालको पुस्तक 'कान्तिपुर गाथा' को विमोचनमा साहित्यकार खगेन्द्र संग्रौलाद्वारा व्यक्त विचार। पत्रकार नेपालले तीनदशकसम्म लेखेको स्तम्भ कान्तिपुर गाथाका छानिएका लेख पुस्तकमा संग्रहित छन्। साहित्यकार खगेन्द्र संग्रौला र प्राध्यापक अभि सुवेदीले बुधवार 'कान्तिपुर गाथा' विमोचन गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell