PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दिल्लीमा के गर्दैछन् वाणिज्यमन्त्री मातृका यादव?



पहिलोपोस्ट

दिल्लीमा के गर्दैछन् वाणिज्यमन्त्री मातृका यादव?

काठमाडौँः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव नयाँ दिल्ली पुगेका छन्। सोमबार दिउँसो नयाँ दिल्ली पुगेका यादवले भारतीय वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभुसँग भेटवार्ता गरेका छन्।

दुई दिने विश्व व्यापार संगठनका ५० वटा देशको अनौपचारिक बैठक (मिनी मिनिस्टेरियल मिटिङ)मा सहभागी हुन नयाँ दिल्ली पुगेका मन्त्री यादवले भारतीय उद्योगमन्त्री प्रभुसँगको भेटमा दुई देशबीच व्यापार साझेदारीका विषयमा छलफल गरेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा द्विपक्षीय व्यापार, परवहान, र औद्योगिक लगानीका विषयमा छलफल भएको थियो। त्यस्तै विश्व व्यपार संगठनबाट नेपाल र भारतले लिन सक्ने फाइदाका विषयमा छलफल गर्दै नेपाल र भारतजस्ता देशहरुका लागि संगठनको महत्त्व ठूलो रहेको दुबै मन्त्रीहरुले विश्वास व्यक्त गरेको दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।

भेटमा मन्त्री यादवले कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गरेका थिए। उनले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराएका थिए। 

सो अवसरमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले गराएका थिए। 

भेटमा दुवै मन्त्रीले आगामी महिना काठमाडौँमा आयोजना हुने वाणिज्य सचिवहरुको बैठकलाई सफल तुल्याउने सम्बन्धमा पनि छलफल गरेको वाणिज्य मन्त्रालयले जनाएको छ। 

भेटमा दुई समकक्षीले समान अस्तित्व भएका देशहरुले सुरक्षामा आधारित बहुपक्षीय व्यापारिक प्रणालीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।

सोमबार नै दुई देशका उद्योग मन्त्रालयबीच द्विपक्षीय छलफल भएको थियो। त्यस्तै छलफलमा दुई देशबीचको खुला सीमा तथा जनसम्बन्धबाट व्यापारिक क्षेत्रमा लिन सकिने लाभका विषयमा समेत छलफल भएको थियो।

लगत्तै मन्त्री यादवले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पनि भेट गरेका थिए। भेटमा मन्त्री यादवले पारस्परिक लाभका आधारमा आर्थिक सझेदारीलाई अगाडि बढाउनु पर्ने विषयमा जोड दिएका थिए।

बैठकमा नेपाल भारतसहित अमेरिका, चीन लगायत अफ्रिकन राष्ट्रका प्रतिनिधिहरु सहभागी छन्। बैठकलाई पाकिस्तानले भने बहिस्कार गरेको छ।

दिल्लीको बैठक अनौपचारिक र महत्त्वपूर्ण हुने संगठनका महानिर्देशक रोवर्टो एजेवेडोले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell