PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एमाले माओवादी एकताः कार्यदलको समय सकियो, सदस्य मन्त्री बनेपछि काम प्रभावित



पहिलोपोस्ट

एमाले माओवादी एकताः कार्यदलको समय सकियो, सदस्य मन्त्री बनेपछि काम प्रभावित
फोटो : फाइल

काठमाडौँः नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) केन्द्रबीचको एकीकरणका लागि विधान र सांगठनिक संरचना निर्धारणका लागि गठित कार्यदलको समय सकिएको छ। अन्तरिम विधान र सांगठनिक संरचना निर्धारणका लागि गठित कार्यदलको थपिएको दश दिनको समय आइतबार सकिएको हो। समय सकिए पनि कार्यदलले प्रतिवेदन तयार पार्न सकेनन्।

कार्यदलका अधिकांश सदस्यहरु मन्त्री बनेपछि पछिल्लो समय काम नै प्रभावित बनेको छ। थपिएको दश दिनको समयमा औपचारिक रुपमा कुनै पनि छलफल अघि बढेको छैन।

एकता संयोजन समितिमा भने कार्यदलको प्रतिवेदन पेश नगरी कुनै गृहकार्य हुनेछैन। फागुन २५ गतेसम्म समयसीमा रहेको विधान र सांगठनिक संरचना निर्धारण कार्यदललाई चैत ५ गतेसम्मको समय थपिएको थियो। कार्यदलले विधानको मस्यौदा र संगठनको खाका मोटामोटी रुपमा तयार पारे पनि प्रतिवेदन एकता संयोजन समितिमा बुझाउने अवस्थामा पुगेको छैनन्। विधानमा दफाबार छलफल जारी रहेको कार्यदलका सदस्यहरुको भनाई छ।

दुई दलबीच भएको सात बुँदे सहमतिसँगै एकताका लागि राजनीतिक प्रतिवेदन तथा विधान र सांगठनिक संचरना तय गर्न दुई कार्यदल बनेका थिए।

राजनीतिक प्रतिवेदन लेखनको जिम्मेवारी एमाले नेता माधवकुमार नेतृत्वको समितिलाई छ। यस्तै, सांगठनिक संरचना निर्धारण लगायतका विषयको गृहकार्य माओवादी नेता रामबहादुर थापा बादल नेतृत्वको समितिले गरिरहेको छ।

पछिल्लो मन्त्रिपरिषद विस्तारमा कार्यदलका धेरै सदस्य नै मन्त्री बनेपछि काम थप प्रभावित बनेको छ। विधान तथा सांगठनिक संरचना तयार पार्ने समितिका संयोजक समेत रहेका माओवादी नेता रामबहादुर थापा मन्त्री बनेका छन्। सोही कार्यदलका ईश्वर पोखरेल, गोकर्ण विष्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव सबै मन्त्री मन्त्री बनेका छन्।

राजनीतिक प्रतिवेदन लेखन कार्यदलमा रहेका एमाले नेता प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता शक्ति बहादुर बस्नेत पनि मन्त्री बनेका छन्।

 

‘सहध्यक्षमात्र रहने’

आउँदो वैशाख ९ गते एकता घोषणाको लक्ष्य लिएर अघि बढिरहेका दुई वाम दलको हालसम्म तय भएको सांगठनिक संरचना अनुसार पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबै सहध्यक्षमात्र हुनेछन्। केन्द्रीय समितिमा अन्य पदाधिकारी रहने छैनन्।

चुनावअघि ६०/४० को भागबन्डा मिलाएर उम्मेदवारी दिएका दलबीचमा अब पदाधिकारी बाँडफाँटमा कुनै हिस्सा तय हुने छैन।

वैशाख ९ गतेको एकतामा दुई पार्टीको केन्द्रीय समिति औपचारिक रुपमा एकता भएको घोषणा गरिनेछ। केन्द्रीय समितिको आकारबारे भने कुनै निश्कर्ष कार्यदलले निकालेको छैन। जनवर्गीय संगठनको एकता भने संयोजन समितिले तोके अनुसार तल्लो स्तरबाटै हुनेछ।

जिल्लागत रुपमा आ–आफ्ना पकड भएका जिल्लाको नेतृत्व सम्बन्धित दलले पाउनेछन्। हालसम्म तय भए अनुसार माओवादीले २३ जिल्लामा नेतृत्वको दाबी गरेको छ। अन्य जिल्लाको कमाण्ड एमालेले सम्हाल्नेछ।

केन्द्रीय समिति एकतापछि पार्टी सञ्चालनका लागि महाधिवेशनसम्म तदर्थ संयन्त्र गठन हुनेछ। सो संयन्त्रमा शीर्ष नेतासहित दोस्रो तहका नेताहरु रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell