PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

हिजो झगडा गरेकै हो, अब मिलेर देश बनाउनुपर्छ : ओली



पहिलोपोस्ट

हिजो झगडा गरेकै हो, अब मिलेर देश बनाउनुपर्छ : ओली

काठमाडौं: प्रधान मन्त्री केपी शर्मा ओलीले चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्घाटन गर्दै विगततिर फर्केर पश्चाताप गर्ने समय सकिएको बताएका छन्। 

‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं, भनेर त्यतातिर फर्कने समय होइन यो। अब सबै मिलेर देश निर्माण लाग्नुपर्छ,’ उनले भने। 

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधान मन्त्री ओलीको भनाइ थियो। ‘हाम्रा बाटाहरु चिल्ला हुन्। खेत बाँझा नहुन्। खेतमा धान र गहुँका बाला झुलुन्। विद्यालयमा पढाइ चलोस् भन्ने सबैको चाहना छ,’ प्रधान मन्त्री ओलीले भने, ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ। जनताको यो सपना पूरा हुन्छ।’

प्रधान मन्त्री ओलीले सबैले आफ्नो आचरणमा पनि सुधार ल्याउनुपर्ने बताए। ‘सबैले शान्तिको अनुभूति गरुन्। कसैलाई अन्याय नपरोस्,’ उनले भने, ‘मान्छे देख्दा शत्रु होइन। दाजुभाइ दिदीबहिनी  देखियोस्।’

प्रधान मन्त्री ओलीले सशस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ति सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। 
सशस्त्र  प्रहरी बललाई राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तालाई ध्यानमा राखेर काम गर्न पनि निर्देशन दिए।

यो तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो। प्रधान मन्त्री ओलीले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिए। 

३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिनामा निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनीले भवन हस्तान्तरण गरेको हो। 

‘समय भन्दा अगावै निर्माण सम्पन्न गरेर यो एउटा उदाहरणीय काम भएको छ,’ प्रधान मन्त्री ओलीले भने, ‘अब हाम्रा विकास निर्माणका सबै काम यही गतिमा अगाडि बढ्छन्। यसका लागि सबै तयार रहनु पर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell