PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विदेशीको सेवा गर्ने कर्मचारीको टाउकोमा ट्याम्का हान्छु : लालबाबु पण्डित



नेत्र तामाङ

विदेशीको सेवा गर्ने कर्मचारीको टाउकोमा ट्याम्का हान्छु : लालबाबु पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशको जागिर खाएर विदामा बस्ने, विदामै बसेर बिदेशको जागिर खाने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्।

राजधानीको तीनकुनेस्थित पेन्टागन कलेजले सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन्।

आफूले नयाँ मन्त्रालय सम्हाल्नसाथ एउटा पत्र आएको र त्यो पत्र नेपाल सरकारकै कर्मचारी भएर पनि विदेशमा जागिर खाइरहेको व्यक्तिको रहेको बताए।

मन्त्री पण्डितले भने, 'म स्वास्थ्यबाट हिजैमात्र सामान्यमा आएँ। आउनसाथ एउटा पत्र पाएँ। जुन एकजना कर्मचारीको रहेछ। विदामा बसेर ती कर्मचारी विदेशमा जागिर खाने रहेछ। को रहेछ भनी सोधेको नेताकै नजिकका मान्छे रहेछन्।'

पण्डितले ती कर्मचारीको परिचय भने खुलाएनन्। त्यस्ता कर्मचारीलाई नछाड्ने चेतावनी दिँदै उनले भने, 'सूचना दिनेलाई मैले भने-ठीकै सूचना दिनुभयो। अब त्यस्तै मान्छेलाई ट्याम्का हान्ने पालो आएको छ। म ट्याम्का हान्न तयारी भएर आएको छु।'

मन्त्री पण्डितले जसले समाजलाई ठग्छ, देशलाई ठग्छ उसले आफैलाई ठग्ने बताउँदै त्यस्ता ठगहरुलाई कही पनि नछाड्ने प्रतिवद्धतासमेत जनाए। उनले भने, 'जनताले राष्ट्रको सेवक खोई भनेर सोधिरहन्छ। मैले चाहि उहाँ विदा लिएर विदेशीको सेवा गरिरहनुभएको छ भनेर जवाफ दिनु?' 

देशको सामाजिक सेवाका लागि विदेशमा सोझिएको नेपालीको स्टेरिङ नेपालतिरै फर्काउन आफू यो अभियानमा लागेको पण्डितको भनाई थियो। पण्डितले राम्रो काममा लाग्दा पनि कतिपयले सरापेको र कतिले पुत्लासमेत जलाउन खोजेको दुखेसो पोख्दै भने, 'पुत्ला त जलाउनु तर विदेशतिरै जलाउनु। नेपाल आएर पुत्ला जलाउन खोजे जनताले ढ्याम्काढ्याम हान्नेछन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell