PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भैरहवामा यति एयरको विमानको 'चक्काजाम' : चार पटक दुर्घटनाबाट जोगिसकेको छ यो विमान



भैरहवामा यति एयरको विमानको 'चक्काजाम' : चार पटक दुर्घटनाबाट जोगिसकेको छ यो विमान
फाइल फोटो

काठमाडौँ : लुम्बिनी नजिकैको गौतमबुद्ध विमानस्थलमा आइतबार साँझ यति एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ। 

२६ जना यात्रु र चालक दलका सदस्य चढेको ९एन-एजेसी कलसाइनको जेटस्ट्रिम ४१ विमान काठमाडौंबाट साँझ ४:४० मा उडेर साँझ ५:११ मा अवतरण गर्ने क्रममा रनवेमा गुडिरहेको बेला नोज ह्विल लक भएको थियो। 

विमान दुर्घटना भएको भनी केही सञ्चार माध्यमबाट आएको समाचारको खण्डन गर्दै नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भने, 'विमान दुर्घटना भएको हैन, प्लेनको नोज ह्विल लकमात्र भएको हो। सबै यात्रु सुरक्षित छन्।' 

रुपन्देहीका डिएसपी डिल्लीराम पाण्डेका अनुसार चक्का लक भएर धावनमार्गमा रोकिएपछि विमानस्थल भोलिसम्मका लागि बन्द भएको छ। प्राविधिक टोली आएर चक्का अनलक गरेपछि मात्र विमानस्थल खुल्नेछ। 

यति एयरले विमान अवतरण गरिसकेपछि पार्किङ स्थलमा जाने क्रममा चक्का जाम भएको भन्दै यात्रु  र अन्य वायुसेवाको उडानसमेत बन्द भएकोमा क्षमा मागेको छ। 


 

अन्य बायुसेवाहरुको उडान प्रभावित हुन गएकोमा हामी क्षमा याचना गर्दछौं। धन्यवाद! pic.twitter.com/SPcjgq02mG

— Yeti Airlines (@FlyYeti) March 18, 2018

जोगिएको घटना २

गएको २२ असारमा यही विमान पोखरा विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको थियो। त्यतिबेला पनि अवतरणको क्रममा धावन मार्गमै जहाजको ‘नोज ह्विल’ लक भएको थियो।  काठमाडौंबाट यात्रु लिएर आएको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गमै नोज ह्विल लक भएपछि करिब एक घण्टा पोखरा विमानस्थलमा जहाज उडान र अवतरण बन्द गरिएको थियो।

जोगिएको घटना ३ 

तीन वर्षअघि यही विमान गौतमबुद्ध विमानस्थलमा नै उडानको क्रममा दुर्घटनाबाट जोगिएको थियो। उड्न लाग्दा विमानको अगाडि चरा देखिएपछि टेकअफ गर्न रोकिँदा विमान घाँसे मैदानमा जोतिन पुगेको थियो। घटनामा सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेका थिए। 

जोगिएको घटना ४ 

६ वर्षअघि असोज १५, २०६९ मा  पोखराबाट काठमाडौँका लागि उडेको केही समयमा नै यही विमानमा चरा ठोक्किएको थियो। त्यसपछि चालकले विमानलाई पुनः पोखरा विमानस्थल फर्काएको थियो। घटनामा कसैलाई चोटपटक लागेन।  

 

२२ वर्ष पुरानो विमानको कुण्डली

प्लेन लगरका अनुसार यो विमानले पहिलो उडान २२ वर्षअघि सन् १९९६ को जनवरी १० मा गरेको थियो। सन् १९९६ को अक्टोबर ३० बाट यो विमान ब्रिटिस रिजनल एयरलाइन्सले चलाउन थाल्यो। त्यसको पाँच वर्षपछि मार्च ३१ देखि यसलाई ब्रिटिस एयरवेजले उडाउन थाल्यो। सन् २००३ देखि यो विमान बेलायतकै इस्टर्न एयरवेजले खरिद गरेर चलाउन थाल्यो। तीन वटै एयरलाइन्सले चलाउँदा यो विमानको कल साइन जी-एमएजेएम थियो।

इस्टर्न एयरवेजले चलाउँदाको विमान। नोभेम्बर २००६ मा यो विमानमा नर्थ इस्ट इङल्यान्ड लिभरी पेन्ट गरिएको थियो। 

यति एयरलाइन्सले यो विमान पहिलो उडान गरेको १२ वर्षपछि अर्थात् सन् २००९ को मार्च ११ देखि ९एन-एजेसी कल साइनमा उडाउन थालेको हो। त्यसयता यो विमान तीन पटक दुर्घटनाबाट जोगिएको हो। 
 
(*चौथो घटना थपी अपडेट गरिएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell