PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ राष्ट्रपति सीलाई नेपालबाट बधाई सन्देश, उच्चस्तरीय भ्रमणको अपेक्षा



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति सीलाई नेपालबाट बधाई सन्देश, उच्चस्तरीय भ्रमणको अपेक्षा
Photo: www.fmprc.gov.cn

काठमाडौँः चीनको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएको सी जिङ पिङलाई नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीले बधाई सन्देश पठाएका छन्। 

चिनियाँ जनकंग्रेसले शनिबार सीलाई चीनको राष्ट्रपति पदमा पुनः पाँच वर्षे कार्यकालका लागि निर्वाचित गरेको थियो। 

राष्ट्रपति पदमा निर्वाचित भएका सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गर्दै उनको कार्यकालमा चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने अपेक्षा राखेका हुन्।  

प्रधामन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई पठाएको सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै दुर्इ देशबीच उच्चस्तरमा हुने भ्रमणले दुई देश र जनस्तरको सम्बन्ध थप प्रगाढ बन्दै जाने बताएका छन्।  

प्रधानमन्त्री ओलीले सीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ। 

यसैबीच बधाई सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको ‘एक चीन नीति’ प्रतिको प्रतिवद्धतालाई दोहोर्‍याएका छन्। उनले नेपाली भूमी चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धा जनाएका छन्। 

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चिनियाँ समकक्षी सीलाई बधाई सन्देश दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। 

शनिबार बधाई सन्देश प्रेषित गर्दै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा झन् प्रगाढ हुने विश्वास व्यक्त गरेकी हुन्। 

यता उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित भएका वाङ चिसानलाई बधाई सन्देश पठाएका छन्। उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई शनिबार बधाई सन्देशमा पठाउँदै नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गरेका हुन्। 

उनले चिसानको कार्यकालय सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell