PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेसले उम्मेदवारी नदिएपछि नन्दबहादुर पुन 'पासाङ' उपराष्ट्रपतिमा निर्विरोध, घोषणा भोलि साँझ ६ बजेपछि



कांग्रेसले उम्मेदवारी नदिएपछि नन्दबहादुर पुन 'पासाङ' उपराष्ट्रपतिमा निर्विरोध, घोषणा भोलि साँझ ६ बजेपछि

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित कसैले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी नदिएपछि वाम गठबन्धनका उम्मेदवार तथा बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' निर्विरोध निर्वाचित हुने भएका छन्। 

राष्ट्रपतिका लागि कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको कांग्रेसले उपराष्ट्रपतिमा उम्मेदवार नदिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेल बताए। 

उपराष्ट्रपतिका लागि आज दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय थियो। 

उम्मेदवारीको दावी विरोधमा उजुरी दिने समय आइतबार दिउँसो २ बजेसम्म भएकोले पुन निर्वाचित भएको घोषणा भने अहिले नै निर्वाचन आयोगले गर्ने छैन। 

उम्मेदवारले नाम फिर्ता लिने समय आइतबार साढे ५ बजे सकिएपछि बल्ल निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन २०७४ को दफा २३ बमोजिम आइतबार ६ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ। 

ऐनको दफा २४ मा एक जना मात्र उम्मेदवार कायम हुन आएमा निर्वाचन अधिकृतले त्यस्तो उम्मेदवार निर्विरोध निर्वाचित भएको भनी घोषणा गर्ने प्रावधान छ। 

पुन'ले अाज अपरान्ह ११:४० बजे आफै नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता गरेका थिए।

पुनका प्रस्तावकहरुमा सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघि गुरुङ रहेका छन् भने समर्थकहरुमा
देवप्रसाद गुरुङ, अोनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन्। 

राष्ट्रपतिमा वाम गठबन्धनले विद्यादेवी भण्डारीलाई दोहोर्‍याएपछि उपराष्ट्रपतिमा पनि पुनलाई नै दोहोर्‍याउन लागेको हो। यसबीचमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन लागेको चर्चा पनि चलेको थियो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell