- लिलाराज खतिवडा -
यो शहर एक उपत्यका भएकाले र हैसियतभन्दा ज्यादा सामानहरु कोचेपछि उकुसमुकुस मात्रै होइन, यहाँ सास फेर्न अक्सिजन पनि नपुगिरहेको अवस्था थियो। शहरका नदीहरु ढलमा तव्दिल भएका थिए। पिउने पानीकै अभाव थियो। ट्यांकरका ट्यांकर पानीहरु जुसका बोतल जसरी बिक्री हुन्थे। शहरमा नुहाउने कल्चर थिएन। अधिसंख्यक मान्छेहरु आक्कल झुक्कल नुहाउँथे। हिउँदमा निकै जाडो हुने भएकाले पनि यहाँका स्नान गृहहरुले ज्यादा आराम पाएका थिए। अर्कातिर मान्छेहरु काममा यति ब्यस्त थिए कि नुहाउने समय निकाल्न पनि गाह्रो हुन्थ्यो। मान्छेहरुको इज्जत बचाएको हुन्थ्यो केवल पैसाले। त्यसो त महँगा गजेट्स, लत्ताकपडा, अनेकथरी आधुनिक अत्तर अनि मादक द्रब्यको बलले मान्छेहरु आफ्नो जिन्दगीलाई सहज बनाउने यत्नमा अहोरात्र जुटेका हुन्थे।
शहरमा अस्पतालहरुको संख्या बढेको देख्दा यहाँका अधिसंख्यक मानिसहरु कुनै न कुनै रोगले ग्रस्त भएको तथ्यलाई नकार्न सकिने अवस्था थिएन। यहाँ मानिसहरु चिकित्सकले नै पत्ता लगाउन नसक्ने गरी बिरामी हुन्थे। औषधिले उनीहरुलाई काम गर्थ्यो वा गर्थेन यो भने छुट्टै अनुसन्धानको विषय थियो। मान्छेहरुले खाने कुराहरुमा कुनै न कुनै रुपमा रसायन वा विषादीको प्रयोग भएको हुन्थ्यो र, मान्छेहरु बिरामी पर्ने प्रमुख कारक यसैलाई अड्कल गरिएको थियो।
अर्को चाखलाग्दो कुरा, यहाँ नैतिकता, सनातन संस्कार र अनुशासन जस्ता धरोहरहरु हराएर बिकृती, भ्रष्टाचार र अराजकताहरु मौलाएका थिए। भौतिक आशक्ति, विभिन्न व्यशन, मानसिक रोग अनि आपराधिक प्रबृत्तिले मान्छेहरुलाई तहसनहस मात्रै होइन आक्रान्त समेत तुल्याएको थियो। भलै यी कुराहरुको वोध उसले गरोस् वा नगरोस् तर यस्ता रासायनिक प्रतिक्रियाहरुका कारण अन्त्यतः सम्पूर्ण मुलुक नै एउटा भ्रष्ट र अराजक राजनीतिको वशमा परिसकेको आभाष हुन्थ्यो। आपराधिक मनोबृत्तिहरुको हरतरफ बढोत्तरी महसुस हुन्थ्यो। मानौं देश एउटा ज्युँदो हात्ती हो र लाखौं, करोडौं विषालु कमिलाहरुले उसलाई एकसाथ टोकिरहेका छन्। जताबाट पनि यहाँ देश लुट्नेहरुको बिगबिगी थियो। र, सारा दोष यहाँको अस्थिर राजनीतिलाई लगाएर मान्छेहरु आफू भने चोखिने प्रयास गर्दथे।
यसप्रकार, देशमा दिउँसै पेट्रोम्याक्स बाल्नु पर्ने अवस्था थियो। यस्तैमा समयले डामेको एउटा नेपाली युवक सात वर्ष साउदी अरब बसेर स्वदेश फर्कियो। कृष्णे नाम थियो उसको। यो उसैको कथा हो जहाँ हरतरफ उसलाई नियतीले ठगिदिन्छ र ऊ बिद्रोही हुन पुग्दछ। जब कसैको पेटमा लात मारिन्छ तब त्यहाँ एउटा छुट्टै र खतरनाक परिस्थिति उत्पन्न हुने गर्छ। जहाँ इमान्दारहरु हररोज बेइमानहरुबाट ठगिन्छन् त्यहाँ आगाका लप्काहरुको आकारमा बढोत्तरी हुन थाल्दछ।
विदेशमा पनि कृष्णेको खासै राम्रो भएन। कमाइ त उत्तम थियो। तर, उतै विवाह गरेकी केटीले उसलाई धोका दिई र उसको सारा सम्पत्ति लिएर अर्कैसँग फरार भई। माया र विश्वास गरेको मान्छेले ठूलो धोका दिएपछि कृष्णेलाई विदेश बस्नै मन लागेन। त्यसै पनि स्वास्नी पोइल गएपछि रक्सी प्युँदाप्युँदा कायल भइसकेको कृष्णे विदेशमा केही शीप नलागेर केही दिनअघि स्वदेश फर्किएको थियो।
अब ऊसँग खासै बैंक ब्यालेन्स थिएन। काठमाडौं आएर ऊ कुनै कामको खोजी गर्न थाल्यो। उसलाई गाउँ फर्किन मन भएन। स्वदेश फर्किएपछि उसले रक्सीलाई हात नलगाउने आफैसँग प्रण गर्यो। अनि एउटा निर्माण कम्पनीमा मजदूरको रुपमा काम गर्न थाल्यो। कृष्णेलाई मजदूरी गर्न कुनै संकोच पनि थिएन। उसको मान्यता के हो भने, विदेशमा मजदुरी गर्न हुन्छ भने स्वदेशमा किन नहुने? हातखुट्टा सद्दे हुन्जेल काम गरेर खान केको लाज? त्यसै पनि ऊ जवानीमै बिदेशिएको मान्छे। कहाँ कसरी जिन्दगीका नयाँ बिरुवा उमार्ने उसलाई राम्रो ज्ञान थियो।
अनि ऊ लागेको थियो काठमाडौं शहरमा एउटा नयाँ जिन्दगीको शुरुवात गर्न। समय नै घाउहरुको उत्तम उपचारक हो। घाउहरु लाग्छन् भने ती निको पनि हुन्छन्। बस् केही समय पर्खिनु पर्ने हुन्छ, जहाँ घाउमा खाटा आफैं बस्न पुग्छन्। आफ्नो बाँकी जिन्दगीप्रति भरपूर आशावादी थियो, कृष्णे।
अब ऊ एउटी मेहनती केटीको तलाश पनि गरिरहेको थियो। उसलाई तरुनीहरु राम्रा लाग्थे। बिहे गरेर बच्चा जन्माउने उसको सपना अधुरै जो थियो।
दिनभरी काम गरेर लखतरान हुँदै कृष्णे कोठामा फर्कियो। नुहाउन खोज्यो। तर, स्नानगृहमा पानी थिएन। अनि मुखै नधोइ राशन किन्न बजार हिँड्यो।
पसलेले हरेक सामानमा उचितभन्दा ज्यादा पैसा दाग्न खोजेको देखेर उसले प्रतिवाद गर्यो। तर, उल्टै पसले पो झगडामा उत्रिन खोज्यो।
पसलेले भन्यो, “कुनै पनि सामानमा भरपूर नाफा नलिए यो महँगीमा हामी कसरी टिक्ने?”
कृष्णेले झर्केर भन्यो, “सामानको प्याकेटमा उल्लेख भएभन्दा बढी कुनै हालतमा पनि तिर्दिंन म। लु, चाहिएन तपाईंको सामान।”
अनि ऊ फरक्क फर्किएर अगाडि बढ्न खोज्यो।
“भिखारीहरु आउँछन् पसलमा धन्दा बिगार्न। भर्खरै साँझ बत्ती बालेको थिएँ, सालेले अलच्छिन लगाएर गयो,” पसलेले सोह्रै आना बढी मात्रै होइन गलत पनि बोल्यो।
सुनेर पनि कृष्णे पछाडि फर्किएन। ऊ सरासर अर्को पसलमा गयो र सामान अर्डर गर्यो। तर यो पसलेले पनि त्यसरी नै बढीबढी पैसा लिन खोज्यो। कृष्णेले प्रतिवाद गर्यो। तर, उल्टै यो पसले पनि अघिकै जस्तो ठूला र दम्भी लवजमा बनियाँ प्रवचन दिन थाल्यो। कृष्णेले अलिक अपमानित महसुस पनि गर्यो।
“जुन वस्तुको दाम जति हो त्यो भन्दा बढी मैले किन तिर्ने?” कृष्णेले झोक्किएर भन्यो।
पसलेले बडो रुखो आवाजमा जवाफ फर्कायो, “यो मेरो पसल हो। यहाँ मेरो चल्छ। नकिन्ने भए चुपचाप अन्तै गए हुन्छ। बहुत छन् पसल, यो शहरमा।”
“दिउँसै ब्रह्मलुट?” कृष्णेले भन्यो र त्यहाँबाट हिँड्यो।
पसले उसलाई नै भन्दै थियो, “कंगालहरु आइलाग्छन् सम्साझैँ। कालो गए गोरो आउँछ। ए जा जा।”
फर्किएर त्यसको नाक फुटाइदिउँ कि पनि नलागेको होइन। तर, आफूलाई नियन्त्रण गरेर कृष्णे चुपचाप अगाडि बढ्यो। उसले अन्य केही पसलहरु पनि चहार्यो। सबैमा उस्तै हालत थियो। उसले कुनै पनि सामान किनेन। अनि सरासर आफ्नो कोठामा फर्कियो। त्यस रात ऊ भोकै सुत्यो।
होइन, के भएको छ यो देशलाई? दश वर्ष अगाडि त यहाँ यस्तो थिएन। मान्छेहरुको इमानजमान एकदुई टक्कामा बिक्री भइसकेको नै हो त यहाँ? उसले लामो सास फेर्यो र आँखा बन्द गर्यो।
अनि एक पटक आफ्नै जीवनका स्मृतिहरु उसको मनमा सिनेमाको रिल झैं तिब्र गतिमा घुम्न थाले।
अत्यन्तै निम्न आय थियो उसको बाबुको। कृष्णेका बचपन र जवानी अभावमै बिते। ऊ कलेज पढ्दै गर्दा उसका बाबुलाई सुराकी गरेको आरोपमा तत्कालीन राजनीतिक बिद्रोहीहरुले हत्या गरे। त्यही पीर खप्न नसकेर उसकी आमा केही महिना ओच्छ्यान परिन्। अनि अन्त्यतः देह त्याग गरिन्।
कृष्णे पागल जस्तो भयो। अब उसलाई त्यहाँ बस्न मन लागेन र कलेजको पढाई अधूरै छाडेर बम्बई पुग्यो। भाग्यवश बम्बईमा उसले राम्रो काम पायो। एक वर्ष इमान्दारसाथ काम गरेपछि कम्पनीले उसलाई आफ्नो शाखा साउदी अरब पठायो।
उतै भेटिएकी आफ्नै देशकी केटीसँग उसले बिहे पनि गर्यो। तर फापेन। कृष्णे अपमान सहन नसक्ने सोझो तर शुरो बाहुन। केटी परिछ, मोज मस्ती गर्नुपर्ने क्षेत्रीकी छोरी। कुरा मिलेन मात्रै होइन, ऊ कृष्णेलाई नराम्रोसँग डसेर गायव पनि भई।
यसरी जिन्दगीले फेरि एक पटक ठगेको थियो कृष्णेलाई।
उसलाई रातभरी निद्रा लागेन। मध्यरातमा उसले डायरीमा एउटा कविता लेख्यो। जसका केही हरफ :
चोटैचोट खाएर
ठडिएको
केवल एउटा
मुर्ति हुँ म संगमरमरको
एकै चोटले धराशायी हुन सक्छु
ए कोही त आऊ
सम्हाल मलाई
यो अन्जान अनि अन्यौलग्रस्त बस्तीको एउटा कुनामा।
कविता लेख्न उसले उसका बाबुसँग सिकेको थियो। उसका बाबु स्वाभावले नै एक गिताङ्गे थिए। जुनसुकै परिस्थिति वा बातहरुलाई तुक्का बुनेर गाइदिन्थे। उनको विलक्षणता देखेर गाउँलेहरु मोहित हुन्थे। बाबुको त्यही क्षमता उसमा पनि कताकता सरे जस्तो प्रतीत हुन्थ्यो। फरक के भने, कृष्णे गाउँदैन थियो। ऊ लेख्ने गर्थ्यो र यदाकदा आफ्ना साथीभाइलाई वाचन गरेर सुनाउने पनि गर्यो। विदेशमा छँदै उसले एउटा कविता संग्रहसमेत निकालेको थियो। बेलाबेला निरासा छाएका बेला ऊ आफ्नै त्यो कविता संग्रह निकालेर वाचन पनि गर्ने गर्थ्यो।
कसोकसो उज्यालो पनि हुन पुग्यो। निद्रा झिमिक्क नलागी रात निख्रिएको थियो।
बिहान सबेरै ऊ चुरोट किन्न निस्कियो। आँखा भत्भती पोलिरहेका थिए।
तर, पसलेले एउटा खिल्ली चुरोटमा पनि पूरापूर सात रुपैयाँ नाफा मागेको देखेर ऊ पुनः छक्क पर्यो। आठ रुपैयाँ पर्ने चुरोटलाई पसले पन्ध्र रुपैयाँ मागिरहेको थियो।
“के भैरहेको छ यो देशमा? यहाँ मान्छेहरु रातारात अरुलाई पैसाको छुरा घोपेर करोडपति बन्न बजारमा उत्रिएका हुन् कि क्या हो? कि यो देशमा लोकतन्त्रको नाउँमा लुटतन्त्र चलिरहेको छ, हँ?” कृष्णेको मुखबाट अनायासै फुत्कियो।
“चुरोट दिउँ कि नदिउँ?” पसलेले कृष्णेलाई माथिदेखि तलसम्म एकफेर हेरेर अलिक हेपाहा लवजमा सोध्यो।
“भैगो। यस्तो महँगो चुरोट मलाई चाहिएन, धन्यवाद!” कृष्णेले नम्र आवाजमा नै भन्यो।
“सस्तो खाले पनि छ, पाइलट। दशको ३ वटा आउँछ। सूर्य तान्ने पैसा नभए पाइलटको मजा लिए हुन्छ। एउटा लाने भए पाँच रुपैयाँ,” पसलेको बडा रुखो, ओठे र हेपाहा आवाज निस्कियो।
कृष्णे केही बोलेन। ऊ त्यहाँबाट फटाफट हिँड्यो।
“कंगालहरुलाई पनि चुरोट तान्नु पर्छ यो देशमा। त्यो पनि दलाल गरीगरी,” पछाडि पसले अझै गाली दिए जसरी कराइरहेको थियो।
किन यति धेरै शब्द छादिरहेको छ यो बनियाँ? केको मात हो यो? केको दम्भ हो? कृष्णेलार्ई भाउन्न छुट्ला जस्तो भयो।
अनि ऊ फनक्क फर्कियो र पसलेको नाकमा एक मुक्का हान्दै भन्यो, “बढी बोल्छस् ठग्? तँ यहाँ सामान बेच्न बसेको होस् भने म पनि यहाँ आफ्नो पैसा बेच्न आएको हुँ।”
“गुहारगुहार,” पसले जोडजोडले चिच्याउन थाल्यो। उसको नाकबाट रगतको भल बगिरहेको थियो।
“के भयो? के भयो?” भन्दै मान्छेहरु गुरुरु दगुरेर त्यहाँ आए। त्यसरी ओइरिनेमा धेरै जसो वरिपरिका पसलेहरु नै थिए।
फुटेको नाक छाम्दै पसलेले रुँदै भन्यो, “यसले मलाई हात हाल्यो।”
सबैले कृष्णेलाई घेरे र जथाभावी मुक्का वर्षाउन थाले। बिजुलीको रफ्तारमा ऊ सम्हालियो। र जवाफी लात र मुक्का वर्षाउन थाल्यो।
“भोको बाहुनलाई चलाउँछौ ठगहरु हो?” भन्दै ऊ साउथ इन्डियन फिल्मको हिरो जस्तै कार्वाहीमा उत्रियो।
उसलाई घेरेर हिर्काउनेहरु भ्वाक्भ्वाक् भुइँमा ढल्न थाले। भिड जम्मा भएको मौका पारेर कृष्णे बिजुली चम्किए जस्तै एकातिर हान्नियो। कसोकसो ऊ त्यहाँबाट सकुसल आफ्नो काम गर्ने ठाउँमा पुग्यो र लामो सास फेर्यो।
साइटमा काम शुरु भएको थिएन। मजदूरहरु आउने क्रम जारी थियो।
एउटा मजदूरसँग कृष्णेले भन्यो, “होइन, तपाईं राशन कहाँ किन्नु हुन्छ?”
मजदूरले सोध्यो, “किन र?”
“जता पनि ठगैठग छन् पसलेको भेषमा। नाफा खाने पनि एउटा हद हुन्छ नि। जहाँ पनि ब्रह्मलुट रहेछ यो शहरमा त, हँ?”
“यहाँ आजकल पैतालिस रुप्पेको सामान किन्दा पसलेले पचासको नोट राख्छ। अनि पाँच रुप्पे फिर्ता गर्नु जरुरी ठान्दैन। माग्यो भने, छैन भन्छ। अझै माग्यो भने दुई रुप्पेको चकलेट भिडाउँछ। सामान्य भैसक्यो। हाम्रो देशका मान्छेहरु एकले अर्कोलाई लुटेर जिन्दगीको मजा लिइरहेका छन्।”
“तै पनि सहेर बस्नु हुन्छ तपाईं? यहाँ घरैपिच्छे पसल छन् र प्रत्येक पसलमा प्रत्येक सामानको मूल्य फरक छ। के भाको यो? कसरी सहने हो?”
“नसहेर के गर्नु? हामी मैलाधैलाको आवाज यहाँ कसले सुन्छ र?”
“अनि मैलोधैलो भएर किन बजार डुल्नु हुन्छ त तपाईं? नुहाइधुवाइ पनि त गर्नु पर्यो नि, हजुर।”
“यहाँ यो काकाकुल शहरमा चाक धुने त पानी हुँदैन। खाने पानी त किन्नु पर्ने ठाउँमा तपाईं भने नुहाउनेधुवाउने कुरो गर्नु हुन्छ? अब यहाँका खोलामा गएर नुहाउँ न त भन्दा त्यहाँ गुहूबाहेक अरु केही बग्दैन। छक्कै पर्छु भन्या म, तपाईंको कुरो सुनेर!”
काम शुरु हुने घण्टी बजेपछि उनीहरु वार्तालाप अधुरै छाडेर आआफ्ना हेलमेट लगाएर काममा भिडे।
अघि कृष्णेले कुरा गरिरहेको मजदूरकी माइली छोरी चामल, नून र सानी बहिनीलाई हनहनी ज्वरो आएकाले सिटामोल किन्न बजार गएकी थिई। ऊसँग बाउले इँट्टा बोकेर कमाएको एक सयको एउटा नोट थियो। हेरौं अब उसले कसरी सामान किनेकी थिई :
“साउजी दुई किलो चामल दिनुस् त। अनि एक पोका नुन पनि।”
पसलेले चामल जोख्खो। नूनको पोको पनि थमायो। अनि भन्यो, “छयानब्बे रुपिँया भयो।”
केटीले नोट तेसर्याई।
पसलेले चामल, नून र दुईवटा चकलेट पनि थमायो।
“चकलेट त मागेको छैन,” केटीको मलिन स्वर निस्कियो।
“चार रुपिँया खुज्रा छैन, के दिउँ?” पसलेको दयाहीन आवाज आयो।
“सिटामोल,” केटीको ज्वरोग्रस्त स्वर सुनियो।
“सिटामोल छैन,” पसलेले उही पारामा केटीतिर नहेरी भन्यो र अरु ग्राहकमा ब्यस्त भयो।
केटीले चुपचाप कुरी। निकै बेर बित्यो।
पसलको भिड मत्थर भएपछि पसले झर्केर बोल्यो, “के चाहियो यो केटीलाई?”
“पैसा फिर्ता दिनुस् न,” केटीले बिन्ती गरी।
पसलेले लापर्वाह सोध्यो, “कुन पैसा?”
केटी अलिक जोरले बोली, “सय दिएको। यो सामान लिएको। चार रुपियाँ फिर्ता दिनुस् न।”
“चार रुपियाँको नोट हुँदैन भन्ने थाहा छैन? के सामान दिउँ?” पसले झर्कियो।
“अघि नै भनेँ त सिटामोल दिनुस् भनेर।” केटी पनि झर्की।
पसलेले झिँझो मान्दै बडो अल्छी पाराले दुईवटा सिक्का झिकेर दियो।
छुट्कारा पाएको भावमा केटी आफ्नो सामान लिएर हिँडी। मेडिकलमा पुगेर दुईवटा सिटामोल मागी।
मेडिकलले पाँच रुपिँया माग्यो।
केटीले भनी, “मसँग त यत्ति छ।”
अनि पैसा थमाई। पसले दयालु निस्कियो। केटीले एक रुपियाँ डिस्काउण्ट पाई।
एक साँझ कृष्णे सार्वजनिक बसमा यात्रा गरिरहेको थियो। उसलाई अघिदेखि नै त्यो खलासीले यात्रुहरुसँग गरेको ब्यवहार मन परिरहेको थिएन। अर्कोतर्फ खलासीको रुपरङ्ग पनि उसलाई ठीक लागिरहेको थिएन।
खलासीको हुलिया यस्तो थियो :
लामो र रंगाइएको जुल्फी, कानमा मुन्द्रा, छाला देखिने गरी घुँडा र तिघ्रामा च्यातिएको पाइन्ट। खलासी मैलोधैलो पनि थियो। उसका आँखा राताराता र झ्याप थिए। कृष्णेलाई लाग्यो कि सार्वजनिक काम गर्न खलासी जुन रुपमा उत्रिएको थियो, त्यसले प्रष्ट्याइरहेको थियो कि ऊ कुनै अपराध गर्न हिँडिरहेको होस्। र, त्यो खलासीले यात्रुहरुसँग गरेको ब्यवहार हेर्दा लागिरहेको थियो कि उसले भाडा होइन, हप्ता उठाइरहेको हो। खलासी त्यस्तै पन्ध्र-सोह्र वर्षको देखिन्थ्यो।
पन्ध्र रुपिँया लिनु पर्ने ठाउँमा खलासी बीस रुपिँया दागिरहेको हुन्थ्यो। कुनै यात्रु प्रतिवाद गर्थे। कुनै चुपचाप। कृष्णेसँग पनि उसले पाँच रुपिँया बढी लिन खोज्यो। खलासी त्यस दिन चाहिँ मर्दको फेला पर्ला जस्तो थियो।
कृष्णेले खलासीको आँखामा गढेर हेर्दै भन्यो, “खोइ मेरो पाँच रुप्पे फिर्ता?”
खलासी लापर्वाह बोल्यो, “केको फिर्ता? बीसै रुप्पेँ हो भाडा।”
“टिकट देऊ त्यसो भए।”
“टिकटसिकट छैन।”
कृष्णेले हठात खलासीको कठालो पक्रियो अनि भन्यो, “एक जनाको पाँच रुप्पेँ ज्यादा लिएर शहराँ रातारात घर बनाउन लाग्या हो तैंले? नाक फुटाइदिउँ तेरो कि पाँच रुप्पे फिर्ता गर्छस् मेरो?”
खलासी डरायो।
उताबाट चालक करायो, ए दे दे, त्यसको पाँच रुप्पेँ दे। कति किचकिच गरिरा। अनि उसले बिस्तारै एउटा भद्दा गाली पनि ओकल्यो र गाडीको स्पिड हुँइय बढायो। यात्रुहरु हुत्तिए। अनि तुरुन्तै सम्हालिए।
खलासीले कृष्णेलाई पाँचको नोट फर्कायो।
कृष्णेले अरु यात्रुले पनि सुन्ने गरी भन्यो, “तँ जस्ता पानीगुण्डालाई त निलेर छादेर फेरि निल्दिन्छु। अरु जस्तो नठान्।”
अन्य यात्रुले खलासीलाई कराए, “ए भाइ मेरो पनि पाँच रुप्पेँ फिर्ता देऊ त।”
कृष्णेले काम गर्ने ठाउँमा फुर्सदका बेला यस्ता अनेक ठगीका बिषयमा अन्य मजदुरहरुसँग निकै छलफल गर्यो। खासगरी उनीहरुसँग उसको कुरा सोह्रै आना मिल्न पुग्यो जो आफ्नै देशमा ठोस कानूनको पालना नभएकोमा आहत हुन पुगेका थिए तथा यस्ताखाले अरु कैयन मारमा परेर पनि लाचार जीवन बिताइरहेका थिए। आफ्नो देशमा जहीँतहीँ ठगी नै ठगीको किरकिरा भोजन गरेर उनीहरु हैरान भइसकेका थिए।
साथीभाइ भेला भएपछि कृष्णे शुरु भयो, “भ्रष्टाचार गर्ने भँडुवाको लागि त ठीकै होला। तर सीमित आय भएका हामी मजदुरहरुलाई त एकएक रुपिँयाको ठूलो महत्व हुन्छ।”
एउटा मजदुरको शुष्क आवाज निस्कियो, “दिनभरी इँट्टा र ढुंगा बोकेर कमाएको पैसा अर्कोले थर्काएर खाएको कसलाई मन पर्छ र? चार ठाउँमा चार सय रुपिँयाको सामान किन्दा चालिस रुपिँया त फिर्तै दिँदैनन्। राशन, तरकारी, औषधि, लत्ताकपडा जे किने पनि त्यस्तै हो। न दाम निश्चित छ, न त यहाँ ग्राहकको इज्जत छ। कति सहने?”
अर्को मजदुरले अनुरोधको भावमा भन्यो, “लौ न कृष्णे बाबु, केही त गर्नु पर्यो। कतै उजुर गर्न जाने हो कि?”
कृष्णेले भन्यो, “मान्छेको हत्या भएको त उजुर लाग्न छोडिसकेको यो देशमा कुनै लोभी दोकानेले चार रुपिँया ठगेको के उजुरी लाग्ला? उजुर गर्न जाँदा उल्टै हप्काएर पठाउँदा हुन्।”
पहिलो मजदुरले सही थाप्यो, “मुनाशिव कुरो भन्नु भो बाबुले।”
दोस्रो मजदुरले सवाल उठायो, “के गर्ने त? सहेर बस्ने? के यो दुनियाँमा गरीबको कुनै मसिहा जन्मिएको छैन त अहिलेसम्म?”
कृष्णेले आवाजका कोइला ओकल्यो, “मैले सहेर बस्ने कहाँ भनेको छु त? बरु तपाईंहरुले साथ दिने भए मसँग एउटा भयंकर आइडिया छ। त्यो के भने, बिद्रोह गर्ने। अनि हामी सबै एकसाथ बन्ने गरीबको मसिहा। इदम् भ्रष्टम्, उदम् भ्रष्टम्।”
पहिलो मजदुरले भन्यो, “साथ त हामी दिउँला। तर कसरी गर्ने बिद्रोह हामी जस्ता हरिकंगालले ?”
कृष्णेले दृढ स्वरमा लामो संवाद बोल्यो, “बिद्रोह गर्ने नै हामी जस्ताले हो। सीमित आय भएका र मजदुरी गर्नेहरुको संगठन तयार गरेर बिद्रोह गर्ने। किनभने यहाँ ठग्नेहरुको भन्दा ठगिनेहरुको संख्या अवश्य ज्यादा छ। यहाँ हरामको खाने भन्दा इमानको खानेहरुको संख्या अवश्य ज्यादा छ। यहाँ मान्छेहरु आफूआफू फुटेर मात्रै हो यस्ता उडुस र उपियाँहरु मौलाएका। मान्छेहरु एकजुट भएर प्रतिकार गर्ने वा लड्ने हो भने यी ठगहरु सबै तह लाग्छन्। र, यही लड्ने उचित काल पनि हो। अनि हाम्रो जित सुनिश्चित छ। किनभने यो लडाईं सत्यका खातिर हो। केही आततायीलाई निभाउँदा अतिको कल्याण हुन्छ भने त्यो गर्दा हुन्छ भनेर प्राचीन सनातन ग्रन्थहरुमा लेखिएको छ।”
हेर्दाहेर्दै त्यहाँ कैयन मजदूरहरु भेला भए। बिद्रोह गर्ने कुराले उनीहरुलाई उत्साहित तुल्याएको थियो। उनीहरुका आँखामा आशाका किरणहरु चम्किन पनि थालेका थिए। उनीहरु भनिरहेका थिए, “आखिर कति सहेर बस्ने ? कालो पैसाको जगजगी आकाशिएको यस मुलुकमा ती कसाइहरुसँग दिनभरी इँट्टा बोकेर कसरी प्रतिस्पर्धा गर्ने?”
“प्रतिस्पर्धा भन्नुहुन्छ तपाईं? यहाँ त सास धान्न पनि कठिन भइसकेको अवस्था छ।” एउटा अर्को आवाज विष्फोट भयो।
“यो देशमा राशन दोकानेदेखि, सार्वजनिक यातायातको ड्राइभर वा खलासीदेखि, पुलिसको जवानदेखि, मालपोतको पियननदेखि, बैंकको पालेदेखि सबै अनि सबै नै आफूलाई कुनै सम्राटभन्दा कम ठान्दैनन्। यिनीहरु भन्दा माथिकाको झन् कस्तो रवाफ होला? मानिलिउँ, कुनै राजनीतिक नेताको वरिपरि मडारिने झिंगाहरु वा हरेक क्षेत्रका दलालहरु?” बोल्न सक्नेको आवाज यस्तो सुनियो।
“यो देशको हरेक सेक्टर भ्रष्टाचारले ग्रस्त छ। जहाँ ती भ्रष्टाचारीहरु हामी जस्ता मजदूरहरुलाई मान्छे नै ठान्दैनन्। र, पैसामा ठग्छन् वा कुनै न कुनै तरिकाले हामीलाई दवाउँछन्। लुट्छन्। छूरा हान्छन्। यहाँ कि गर् कि मर् भन्ने स्थिति आइसकेको छ।” आवाजहरु बुलन्द हुँदै गए।
“हो, हो हामीले लड्नु पर्छ। कि आर कि पार।” आवाजहरु भक्भक् उम्लिन थाले।
“त्यस्ता दुईचार सयलाई मूला काटे जसरी नै काटिदिनु पर्छ।” अलिक शूराहरुको आवाज।
“दुईचार सय के दुई चार हजार हान्दिनु पर्छ।” यहाँ त झन् खरा आवाज पनि छड्किन थाले।
“त्यो प्रचण्ड भन्नेले सत्र हजार हान्दा हुन्छ भने हामीले दुईचार हजार हान्न किन नहुने?” ल हेर्नुहोस् आवाजहरु कसरी टाइमबम जसरी बिष्फोट हुन थाले।
“साथी हो, धेरै आवेशमा आइनहाल्नुहोस्,” सम्झाउन सक्ने अलिक नेतृत्व क्षमता भएका पनि थिए त्यहाँ, “यो हाम्रो लडाईं अन्य जस्तो होइन। हामी रहरले मैदानमा उत्रिरहेका छैनौं। यो लडाईं हाम्रो बाध्यता हो। यहाँ हाम्रो पेटको सवाल छ। हाम्रा सन्ततीहरुको जिन्दगी र भविष्यको सवाल छ। हाम्रा पेट भोका मात्रै छैनन्, घायल पनि छन्। त्यसैले हामीले बडा धैर्यकासाथ काम अगाडि बढाउनु पर्ने हुन्छ।”
“हाम्रा बाउबाजेहरुका सिरानेमा गीता हुन्थ्यो। उनीहरु यसका श्लोकहरु नित्य पाठ गर्थे। गीता युद्धदर्शन हो। यसले सहेर बस्ने कुरा गर्दैन। लड्ने कुरा गर्छ। मोक्ष नै हासिल गर्ने कुरा गर्छ।”
“म जन्मेहुर्केको समाजमा प्रचलित हिन्दी वा अन्य सिनेमाहरुमा बदलाको भावनाले प्रेरित कथावस्तुहरु हुन्थे। अन्यायका खिलाफ लड्ने बुलन्द आवाजहरु त्यहाँ हुन्थे। हामीले पढ्ने कविता, साहित्यहरु पनि बिद्रोही लप्काहरुले लैस हुन्थे। हामीले पनि त केही सिकेका छौं। छैनौं र?”
“कुरो मुनासिव छ। तर धैर्यताका साथ।”
“हो हो बिस्तारै हिँडे अवश्य पुगिन्छ। हतार गरे के हो के हो?”
यिनीहरुले केही गर्लान् जस्तो लाग्न थालेको थियो। अति सर्वत्र वर्जयेते।
दुई हप्तापछि।
राजधानीका कैयन स्थानमा एकसाथ ६ दर्जन राशन दोकाने, होटल साहु, औषधि पसले, कपडा पसले, ठेकेदार र अन्य व्यवसायीहरुको हत्या भयो। सबै हत्या बेलुका साढे ६ बजे एकै किसिमले भएका थिए। एउटा ब्लेडलाई चार टुक्रा बनाएपछि त्यही स्यानो पत्तीले घाँटी रेटेर हत्या भएका थिए। र प्रत्येक हत्या भएका स्थानमा केही पर्चा पनि छरिएका थिए।
पर्चामा लेखिएको थियो: सामानको मनमानी दाम लिने, ग्राहकलाई ठग्ने र गरीबको रगत चुस्ने अरुको पनि अब यो देशमा यस्तै हालत हुनेछ।
पर्चामा नै हत्याको जिम्मेवारी लिइएको थियो। समूहको नाम थियो : काला नाग समूह। अंग्रेजीमा डार्क कोब्रा ग्रुप। छोटकरीमा कानास।
पर्चाको बीचमा दुईवटा स्वास्तिकका बीचमा एउटा त्रिशूलको चित्र अंकित थियो।
पर्चाको अन्त्यमा लेखिएको थियो : जसरी शेषनागहरुले प्राचीनकालमा मानव कल्याणका लागि आफ्नो शक्ति प्रयोग गर्थे, अब फेरि यो देशका मानवहरुको कल्याणका लागि नागहरु सक्रिय भएका छन्। आततायीहरु सावधान!
शहरको सुरक्षा ब्यवस्था कडा भयो। उक्त समूहको नाम सबैले पहिलो चोटी सुनेका थिए। प्रहरीले धेरै धरपकड गरे पनि उक्त समूहको सुराक समेत प्राप्त गर्न सकेको थिएन।
ब्यवसायीहरुले विरोध गरे। जुलुश, धर्ना र देश बन्द गरिए। सरकारले उनीहरुलाई सुरक्षाको ग्यारेण्टी गरेपछि मात्रै उनीहरु थामथुम भए। सरकारले उनीहरुलाई निर्धक्क भएर आफ्नो ब्यवसाय गर्न अनुरोध त गर्यो। तर, इमान्दार भएर कारोवार गर्न अनुरोध गरेन। यस्तो लाग्थ्यो, मुलुकको सरकार नै भ्रष्टाचारमार्फत् बनेको हो र अन्धाधुन्ध चलिरहेको हो।
केही दिन ब्यापारीहरु सचेत भए। बैंकहरुमा खुद्रा पैसा साट्नेहरुको भिड बढ्यो। हरेक पसलमा उचित मूल्यमा सामानहरु पाइन थाले। एक किसिमले शहरमा चमत्कार नै भयो। गरिबीको रेखामुनि बाँचिरहेका र निमुखाहरु औधि खुशी हुन पुगे।
यसपछि त्यसरी कुनै हत्याहरु पनि भएनन्। सब सामसुम भयो। सन्नाटा।
तर, बिस्तारै गुनगुन सुनिन थाल्यो। अनि त्यसपछि हल्ला हुन थाल्यो। हल्लाखल्ला पनि हुन थाल्यो। छ महिनापछि फेरि बिस्तारै पहिलेकै जस्तो हुन थाल्यो। फेरि जताततै आर्थिक अनियमितता र मनोमानीहरु बढ्न थाले।
अनि फेरि सक्रिय भयो, कानास।
यसपालि एक सय चवालिस जना ब्यवसायीहरुको त्यसरी नै एकसाथ हत्या भयो। अब देशमा उधुम हुन पुग्यो। पर्चामा यसपालि चेतावनी दिइएको थियो : इमान्दारसाथ काम कारोबार नगरे र कुनै पनि तरिकाले जनता र देश ठगे अर्को पटक यो संख्या दोब्बर हुनेछ। सबैलाई चेत् होस् कि हामी देश बचाउन अहोरात्र खटिएका काला नागहरु हौं!
फेरि सुरक्षाको माग गर्दै धर्ना, जुलुश, विरोधहरु भए। नेपाल बन्द पनि गरिए। क्रम अलिक लामो भयो। आन्दोलनहरु रोकिएनन्। आम हत्याको आरोपमा ब्यापक धरपकड भए।
तर, कानासले फेरि एउटा पर्चा छर्दै भन्योः हाम्रो एउटा पनि सदस्य पक्राउ परेको छैन। राज्यले आमहत्याको आरोपमा पक्राउ गरेका सबै निर्दोष छन्।
मुलुकभर फेरि एउटा सनसनी फैलियो। पक्राउ परेकाहरुका आफन्तको विरोध, धर्ना र जुलुशहरु शुरु भयो।
ब्यापारी र अन्य व्यवसायीहरुले फेरि सजग भएर काम थाले। मुलुकभरबाटै खुल्लमखुल्ला ठगठाग लगभग गायव भयो। तर कहिलेसम्मको लागि?
यसैबीच कानासले एउटा गुमनाम वेबसाइट खोल्यो, कानास डट कम। त्यसमा मुलुकमा जहाँ पनि जोसुकैले जुनसुकै रुपले ठगिनु परे उजुरी गर्न आव्हान गरिएको थियो।
वेबसाइटको लिंक मार्फत प्रहरीले कानासको युआरएल ह्याक् गर्न खोज्यो। तर, असफल भयो।
कानासको बेबसाइट खुलेको एक हप्ता बित्दा नबित्दै फेरि उस्तै प्रकृतिका हत्याहरु भए। यो पालि हत्या हुनेहरुमा धेरैजसो ठेकेदार, सरकारी कर्मचारी, नेताका विचौलीयाहरु थिए। एक्काइस जनाको त्यसरी हत्या भएको थियो। कानासले आफ्नो बेबसाइटमा लेख्योः जनताको उजुरीको आधारमा यी हत्याहरु भएका हुन्। उजुरी गर्ने कार्य जारी राख्नुहोला।
मुलुकमा कैयन मान्छेहरु कानासका यस्ता कदमबाट खुशी भए। अन्य मान्छेको हत्या हुँदा खुशी हुनु अमानवीय हुँदाहुँदै पनि एकथरी मान्छेहरु उत्सवै मनाउन थाले।
राज्य भने आतंकित। कहाँ को कतिबेला लुढ्किने हो कुनै ठेगान थिएन। ब्यापक धरपकडहरु भए पनि कानासको अझै अत्तोपत्तो थिएन। राज्यले उसलाई वार्तामा आउन अनुरोध गरेको थियो। तर, ऊ वार्तामा आएन।
६ महिनापछि अचानक,
एकरात एकैसमयमा मुलुकका चार दर्जन उच्चपदस्थ ब्यक्तिहरु अपहरणमा परे। अपहरित हुनेहरुमा अर्थ मन्त्री, अर्थ सचिव, भ्रष्टाचारको अभियोग लागेर पनि पक्राउ नपरेका उपल्लो स्तरका नेता, उद्योगपति, प्रहरी र सेनाका अधिकारीहरु समेत थिए। अपहरणको क्रममा कैयन सुरक्षाकर्मी, कर्मचारी तथा अपहरितका आफन्त समेत ढेर भएका थिए। गोली लागेर कैयन घाइते हुन पुगेका थिए।
राज्य तिल्मिलायो। तिलमिलायो मात्रै होइन, राज्य पागल नै हुन पुग्यो। फेरि ब्यापक धरपकडहरु भए। राजधानीमा कर्फ्यु आदेश नै जारी भएको थियो।
अपहरणको जिम्मा कानासले लियो। मान्छेहरुले अड्कल गरे : कानासले कसैलाई बाँकी राखेन होला। सबैको हत्या भयो होला।
एउटा गुमनाम कक्षमा अपहरितहरु राखिएका थिए। अपहरण गरेको २४ घण्टा बितिसकेको थियो। तर, कसैलाई खाना खान दिइएको थिएन। पानी समेत प्युन दिइएको थिएन। हलमा शौचालयको पनि व्यवस्था थिएन। सबै लोलाएका थिए। कोही बेहोश भएका थिए भने कोही अर्धचेत्। हलका कुनाकुनामा उनीहरुले दिशापिशाव गरेका थिए। हल गन्हाएर खपिनसक्नु भएको थियो। उनीहरुलाई अपहरण गरेर ल्याएर उक्त हलमा थुपारेदेखि अपहरणकर्ताले उनीहरु सामु नाकमुख देखाएको थिएन। त्यो कुन ठाउँ हो कसैलाई पत्तो पनि थिएन। ल्याउँदा उनीहरुका आँखामा पट्टी बाँधिएको थियो।
भोक खप्न सक्ने र जस्तै मै हुँ भन्नेहरुको पनि होश उडिसकेको थियो।
अचानक,
हलको ढोका खुल्यो र मुकुण्डो लगाएका केही बन्दुकधारी टप्किए।
एउटा आवाज सुनियो, “काला नाग समूह अर्थात डार्क कोब्रा ग्रुपमा यहाँहरुलाई स्वागत छ। मेरो नाम कृष्णे हो र, म दिन भरी मजदूरी गरेर समेत पेटभर खान नपाएका यसै देशका मजदूरहरुको आवाज हुँ।”
आवाज सुनेर धेरैजसो अपहरितहरु जर्याकजुरुक उठे। कतिपयले सुतेरै आँखा खोले। कतिपयले आँखा खोल्न पनि सकेनन्।
हो, ऊ कृष्णे नै थियो। उसले कालो मुकुण्डो लगाएको थियो।
भाषणको शैलीमा उसले अगाडि भन्यो, “भोक के हो भन्ने अनुभव गराउन तिमीहरु सबैलाई अपहरण गरेर यहाँ ल्याइएको हो। तिमीहरुलाई जनताको उजुरीको आधारमा उठाइएको हो। ब्यक्तिगतरुपमा मेरो तिमीहरु कसैसँग कुनै दुष्मनी छैन। तर उजुरी प्राप्त भएपछि हामीले गरेको अनुसन्धानमा तिमीहरु सबैले कुनै न कुनै रुपमा देशलाई लुटेको र जनतालाई ठगेको पाइयो।
भन्नै पर्ने कुरा, हामीले यो बिद्रोह शुरु गर्दा हामीसँग एक सय जना मजदुरहरु मात्रै थिए। जो दिनभर मेहनत गरेर पनि भरपेट खान पाउँदैन थिए। जताततै ठगिन्थे। अनि हामीले केही दर्जन ब्लेडको भरमा आफ्नो बिद्रोहको थालनी गरेका थियौं। करोडौं जीवन बचाउन हामीले केहीलाई मार्ने योजना बनायौं।
आज हाम्रो समूहमा हजारौं कमाण्डोहरु छन्। हामीसँग यथेष्ट अत्याधुनिक हातहतियारहरु छन्। हामीलाई सब तरहले मद्दत गरिरहेको छ : अन्तर्राष्ट्रिय आतंकवादी संगठन डार्क कमाण्डो फोर्सले। के गर्नु आफ्नो देश जोगाउन हामीले उनीहरुसँग सहकार्य गर्नै पर्यो। उनीहरुका हजारौं डार्क कमाण्डोहरुलाई हामीले आफ्नो मुलुकका नतोन्नत पहाडहरुभित्र लुकाएर राखेका छौं। उनीहरु चाँडै नै हाम्रा निकट छिमेकी मुलुकहरुमा आफ्नो मिशन छेड्दै छन्। विश्व कब्जा गर्ने उनीहरुको लक्ष्य हो। स्यालको ठेकेदार हुनु भन्दा सिंहको दास हुनु निको ठानेर हामीले उनीहरुको साथ हासिल गरेका हौं। यो देश कब्जा गरेर यहाँ सब कुरा ठीक गरिदिएर शान्तिपूर्वक बस्ने हाम्रो लक्ष्य छ।
लाशहरुलाई प्रवचन दिए जस्तो नहोस्, मलाई एउटा यो पनि कुरा भन्न मन छ कि जसले स्यानो पैसा चिन्दैन, उसले ठूलो पैसा पनि चिन्न सक्दैन। स्यानो पैसाले नै ठूलो पैसाको भ्यालु निर्धारण गर्ने हो। यदि एक नभए करोड, अरब कसरी हुन्छ त? आज यस मुलुकमा जसरी स्यानो पैसा हेपिएको छ, यसै कुराले यो देश भ्रष्टाचारले तहसनहस भएको हो। स्यानो आगोले पनि दुनियाँ जलाएर राख् बनाउन सक्छ।
अनि यही कारणले यहाँ धनी अझै धनी बन्दै गइरहेको छ भने गरीव झन् गरीब बन्दै गइरहेको छ। यहाँ कोही बढी खाएर मरिरहेका छन् भने कोही खान नपाएर मरिरहेका छन्। धनी र गरीबबीचका अन्य मान्छेहरु धनीबाट फाइदा लिन्छन् र गरीबको रगत चुस्छन्। धनीहरुले सम्पत्ति कुम्ल्याएर थुपारेका कारण यहाँ गरीवहरुले खान पाइरहेका छैनन्। मान्छेहरु पूर्वजन्मको कर्मका कारण गरीब भएका होइनन्। धनीहरुले अनावश्यक रुपमा धन थुपारेका कारण यहाँ मान्छेहरु गरीब भएका हुन्। यहाँ कतै धनसम्पत्तिमा खिया परिरहेको छ भने कतै भोका पेटहरु ड्वाँड्वाँ कराइरहेका छन्। एउटै घरमा किन यो भेदभाव र लुछाचूँडी? के घर ठूलो छ भन्दैमा त्यसलाई सम्हाल्न नसकिने हो र?
त्यसैले यो बिद्रोह भोका पेटहरुले दुईछाक खानाको लागि गरेको बिद्रोह हो र यस बिद्रोहमा हामीले यसरी नै आफूलाई बाँध्ने दाम्ला चुँडाइरहेका छौं। साम, दाम, दण्ड र भेद। कुरा आफैं बुझ्नु होला।
तिमीहरुलाई यहाँ जम्मा एक हप्ता यसरी नै थुनिने छ। जो जो बाँचे, बाँचिहाले। र, जो जो मरे, उनीहरुको लाशको मासु हामी शहरका भोका कुकुरहरुलाई खुवाइदिने छौं। भोका कुकुरको भोजनका रुपमा भए पनि उनीहरु काम त आए। र, यहाँबाट जो जो बाँचेर जाने छौ, तिमीहरुले पक्कै राम्रो काम गर्ने छौ भन्ने हामीलाई आशा छ। र, हामीले सिकाएको भोकको पाठ अरुलाई पनि अवश्य सुनाउने छौ। तिमीहरु जस्ता अरु सफेदपोश अपराधीहरुलाई पनि हामीले मजा चखाउनु छ। तर जनताको उजुरीको आधारमा।
ल, सरहरु, राम्रोसँग बस्नुहोला। के गर्ने, यो मामिलामा म पनि मजबुर छु। जाँदाजाँदै कवि भूपि सेरचनको कविताका केही शब्द तपाईंहरुका पोल्टामा छोडेर जाँदै छु :
हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए
बन्दैन देश दुइचार सपूत मरेर नगए।
गुडबाइ।”
हलमा लगभग कोकोहोलो शुरु भयो। तर, त्यही बेला लाउड स्पिकरमा हलभरी एउटा धून गुञ्जायमान भयो :
यदा यदा ही धर्मस्य...ग्लानिर्भवती भारतः
अभ्यूत्थानम् अधर्मस्य तदात्मानं श्रृजाम्यहं।
परित्राणाय साधुनाम् विनाशाय च दुस्कृतां
धर्म संस्थापनार्थाय संभवामी युगे युगे।।
कृष्णे आफ्ना कमाण्डोका साथमा जसरी आएको थियो उसैगरी बाहिरियो। हलको ढोका ड्याम्म लाग्यो। अपहरितहरुका अनुहार ओइलाए। कतिपय त रोइकराइ गर्न थाले। ठूलो आवाज ननिकाली उनीहरु सासले मात्रै रुन्थे। उनीहरु धेरै नै शिथिल र लल्याकलुलुक भइसकेका थिए।
यसको ठीक ५ दिनपछि प्रहरीले अपहरितको स्थान पत्ता लगायो। उनीहरुलाई बीच शहरको एउटा परित्यक्त महलमा राखिएको थियो। अपहरणकारीहरुको त्यहाँ छाया पनि थिएन। उनीहरुले त्यहाँ कुनै सुराक पनि छोडेका थिएनन्।
तर, सात जना अपहरितहरु भने त्यहाँबाट गायव थिए। खान नपाएर उनीहरुको मृत्यु भएको थियो र अपहरणकारीहरुले उनीहरुको लाश लिएर गएका थिए। बाँकी अरु भोजनपानीको अभावमा खङ्रङ्ग सुकेका थिए। सबै अचेत। उनीहरुको धुकधुकी मात्रै बाँकी थियो। उनीहरुलाई तत्काल सघन उपचारमा लगियो।
यो कथा यहीँ समाप्त भयो।
तर, उता कृष्णेको मिशन भने नयाँ तरिकाले जारी थियो। मुलुकबाट सबैखाले भ्रष्टाचार, बिकृत्ति अनि बिसंगतीहरु निमिट्यान्न पारेरै छाड्ने उसको लक्ष्य थियो। अनि त्यसको लागि ऊ जस्तो सुकै कदम उठाउन पनि तयार देखिन्थ्यो।
पुनश्च : मान्छेले आफ्नै अथाह शक्तिका बारेमा कम जानेको छ। यो ब्रह्माण्डका बारेमा कम जानेको छ। यहाँ कुनै पनि बेला कुनै पनि मानिसको जेहनमा शक्तिविष्फोट हुन सक्छ र ऊ आफू र जगतलाई केही बढी जान्न र नियन्त्रण गर्न सफल हुन सक्छ। यस्तो इतिहासमा धेरै भएको छ। आजकल पनि भइरहेको छ र भविष्यमा पनि हुने छ। स्यानो आगोले पनि सारा संसार जलाउन सक्ने हुँदा सचेतना–साहित्य अन्तर्गत यो आख्यान लेखिएको हो।
डिस्क्लेमर : हत्या, हिंशा, अपहरणका घटना र पात्रहरु काल्पनिक हुन्।