PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कान्तिपुरमा न्यायिक फूटबल 



किशोर नेपाल

कान्तिपुरमा न्यायिक फूटबल 

-कान्तिपुर गाथा-

हाम्रो देशमा एउटा सरकार वा एउटा मन्त्री परिवर्तन भयो भने उसँग एकैसाथ थुप्रै व्यक्ति परिवर्तन हुन्छन्। तिनीहरुलाई किन र कुन हैसियतले भर्ना गरिएको थियो? किन र कुन हैसियतले हटाइँदैछ? यसको न त छानवीन हुन्छ, न छ्यानवीन। देशको संचार मन्त्री परिवर्तन भयो भने टेलिभिजनको जीएम प्रभावित हुन्छ। उसको ठाउँमा नयाँ जीएम आउँछ। अघिल्लो जीएमले भर्ती गरेका उसका नातागोताहरु सत्ताबाट बाहिरिन्छन्। 

यो पूरै साता न्याय–प्रशासनमा यस्तै अनौठो खेलकूद चल्यो। खेलकूद त पहिले पनि चल्थ्यो। तर, यस पटक जस्तो मिडियाले डोरी खेल्दैनथ्यो। यो पटक न्यायसेवाका चर्चित मित्रमण्डली प्रधान न्यायाधीश गोपाल पराजुली, न्यायाधीश दीपकराज जोशी, न्यायाधीश चोलेन्द्रशमशेर राणा आपसमा डोरीको खेलमा नराम्ररी अल्झिएका थिए। यीमध्ये गोपाल पराजुली खेलमा नराम्रोसँग चिप्लिए। उनी जोगिन सकेनन्। यो भन्दा अघिल्लो सरकारको पालामा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको मान–मर्दन हुन नदिन चोलेन्द्रजी प्रयोग भएका थिए। यसपटक चोलेन्द्रजीको अवतार फरक देखियो। 

हरेक पटकको सत्ता परिवर्तनपछि हाम्रो यो देशमा कतै न कतै, कहीँ न कहीँ, केही नै केही भइराखेकै हुन्छ। सामान्य जनताले यसलाई संयोग माने पनि यी जनतालाई भुक्तमानको पगरी गुथाउनेहरुको सामान्य खेल नै हो। यस्तो किन हुन्छ? कनिकालाई थाह छैन। कनिकाले राजनीतिका पेचिला लाग्ने प्रश्नको जवाफ बाबाबाट खोज्ने हो। तर, अचेल बाबा कनिकाको प्रश्नमा धेरै उत्तर दिँदैनन्। साँच्चै भन्ने हो भने बितेको तीनवटा चुनावपछि कनिकाको बाबाका मन टुटेको छ। जुनदिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको थियो, त्यो दिनदेखि कनिकाको बाबाको काम चुनावका लागि चन्दा बाड्नु मात्रै रहेको छ। त्यो चन्दा पनि आफ्नो मनले दिने होइन, करले दिनुपर्दछ। अहिले चन्दा नदिने हो भने भोलि कामदारको संकट पर्ने हो कि के हुने हो? अनुमान लगाउन कसैले सक्दैन।

यो त भयो कनिकाको बाबाको समस्या। गएको चुनावमा त कनिका आफै पनि संकटमा परी। चुनावका रिपोर्टिङ कहिल्यै नगरेकी कनिकाले पहिलो चुनावमा नै निकै नाम कमाइ। कनिकाको भागमा अब अहिले त्यही मौका आउँदैछ। सुदिप्तीले न्यायाधीशहरुको दन्तबजानको रेकर्ड बनाउने जिम्मा कनिकालाई नै सुम्पेकी छ। चुनाव अझ सकिएको छैन। राष्ट्रपतिको चुनाव अवैध घोषित हुने सम्भावना उच्चतम हदसम्म बढेको छ। किनभने, हिजो जुन प्रधान न्यायाधीशले राष्ट्रपतिलाई शपथ खुवाएका थिए ती प्रधान न्यायाधीश पदमुक्त भइसकेका थिए। पदमुक्त प्रधान न्यायाधीशबाट शपथ ग्रहण गरेपछि उनी जसरी निर्वाचित भए पनि सही ढाँचामा विशुद्ध प्रधान न्यायाधीशबाट शपथ ग्रहण नगरेसम्म राष्ट्रपति पदमा उनको वैधानिक अधिकार रहने त कुरै आएन। 

यो पूरै एपिसोडमा कनिकालाई लागेको र उसको मनमा गाडिएको कुरा राष्ट्रपतिको शपथ ग्रहण हो। निर्वाचित राष्ट्रपतिले पदभारको शपथ खान जति हतार गरिन् त्यो आफैंमा विस्मयादीवोधक चिन्ह हो। उता, कानूनले नमिले पनि प्रधान न्यायाधीशलाई पदमुक्त गरिसकिएको छ। यता, राष्ट्रपतिको हातमा जौ तील र  कुश बोक्न लगाएर पदभार मुक्त भएका प्रधान न्यायाधीश पुरोहित्याइँमा अल्झिएका छन्। राष्ट्रपतिलाई कसले शपथ खुवाउने? भन्ने कुरामा पराजुली श्रीमानले जिते। जोशी श्रीमान् डुकुलण्ठन सावित भए। गोपालजीका विरुद्ध कस्सिएर लागेका अथवा लगाइएका चोलेन्द्र श्रीमान् अविश्वासको रछानमा नराम्रोसँग लुटपुटिए।

उपसंहारमा कनिकाले लेखी – पछिल्लो समयमा जे जति पनि काण्ड, उपकाण्ड र अतिकाण्ड भएका छन् ती हाम्रो गणतन्त्रमा लागेका धमिरा मात्रै हुन्। तिनले जे पनि गर्न सक्दछन्। टोक्न पनि र चिल्न पनि। यो देशमा जे पनि हुन्छ भन्ने गर्दथे हाम्रा अग्रजहरु। हामीले भन्ने दिन आएको छ : यो देशमा जसले जे गर्दा पनि भएको छ। अब कुन दिन डा.गोविन्द केसीलाई ठेगान लगाउन सांसद नवराज सिलवाल गृह मन्त्री बन्नेछन्। अहिलेका रामवहादुर थापा वादलको सरुवा रक्षा मन्त्रीमा हुनेछ। देश कामरेड ओली र कामरेड प्रचण्डले चलाउनु भएको छ। नेपालको विकास त त्यही दिन पूरा भइसक्यो जुन दिन एमाले र माओवादी घुर खापेर मस्त निदाए। अब त समृद्धि हो। त्यो नारा लगाउने त कति छन कति।                                                                  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell