PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

वीरगंजमा बिहारी बन्दुकको राजः छौडादानो नाकाबाट भित्रने सुटरले बढायो सुरक्षा ‘थ्रेट’



राधेश्याम पटेल

वीरगंजमा बिहारी बन्दुकको राजः छौडादानो नाकाबाट भित्रने सुटरले बढायो सुरक्षा ‘थ्रेट’

वीरगंजः पछिल्लो समय पर्सा र बारा जिल्लाको सुरक्षा व्यवस्था खस्किदै गएको छ। प्रहरी सोसल मिडिया ठगी काण्डको पछि लाग्दा भारतीय पेशेवर कुख्यात अपराधीहरु पर्सा बाराका जिल्लामा अपराधिक गतिविधिमा झनै सक्रिय देखिएका छन्। भारतीय अपराधीहरु बन्दुक बोकी बाराको नाकाबाट नेपाल प्रवेश गरी पर्सा र बारामा हत्या जस्ता जघन्य अपराधलाई अन्जाम दिन थालेका छन्। 
   
चार महिना भित्र बारामा चार जनाको हत्या भइसकेको छ भने पर्सा प्रहरीको कार्यालय नजिकै गोली प्रहार गरी एक युवकको हत्या प्रयास भएकेको घटनाले दुबै जिल्लामा सुरक्षा थ्रेट बढेको महसुस भइरहेको छ। 

यता, बाराबाट अपराधीहरु हतियारसहित कारमा घुम्दै गर्दा पक्राउ पर्नु, दुबै जिल्लाको सुरक्षा निकायका लागि टाउको दुखाई बनेको छ। गत आइतबार बारा, पचरौता नगरपालिका वडा नं ४ गुललिया चोकबाट बारा प्रहरीले ‘डिएल २ सिक्यू ४०५३’ नं को कारबाट एउटा अत्याधुनिक इटालियन पेस्तोल र दुई गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।  प्रहरी चौकी बेल्दारी र सशस्त्र विओपी बेल्दारीको संयुक्त गस्तीको अधारमा कार जाँच गर्दा कार चालक चन्दनकुमार जैसवालको साथबाट उक्त हतियार बरामद भएको थियो। चन्दन मोतिहारी जिल्ला छौडादानो थाना, एकडारी ग्राम पञ्चायत–२ निवासी हुन्। २० वर्षीय चन्दसँगै छेउको सिटमा बस्ने मोतिहारी, जितना ग्राम पञ्चायत सुन्दरपुर वडा नं–४ का सञ्जय कुमारलाई पनि हिरासतमा राखी हातहतियार तथा खरखजना मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 
उनीहरु छौडादानो नाका भएर बारा प्रवेश गरेका थिए। यो घटनाले अपराधीहरु सहजै बाराको नाकाबाट बन्दुक लिएर प्रवेश गर्न सक्छन् भन्ने पुष्टि गरेको छ।  प्रहरीको सुरक्षा व्यवस्था प्रभावकारी नभएको पनि देखाउँछ। बारा र पर्सामा हुने हत्या तथा जघन्य अपराधको घटनामा भारतीय अपराधीहरु बाराकै छोटी नाका भएर हतियार नेपाल भित्रयाउने र सुटरलाई बोलाई घटना गरेका छन्। 

बढ्न थाल्यो बारामा हत्या

चार दिन अगाडि सिम्रौनगढमा पनि एक ३५ वर्षीय अपरिचत युवकको हत्या भएको छ। उनको पहिचान खुल्न नसकेको तर विभत्स तरिकाले हत्या गरी गहुँखेतमा फालिएको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढले लाश फेला पा¥यो। एक महिनाअघि पनि बाराकै फेटामा एक अपरिचित महिलाको लाश फेला परेको थियो। उक्त वेवारिसे महिलाको बारेमा हालसम्म बारा प्रहरीले खासै उपलब्धि हासिल गर्न सकेको छैन। करिब ३० वर्षीया महिलाको टाउको र शरीरमा धारिलो हतियारले प्रहार गरी हत्या गरी हत्या गरी फालिएको थियो। 

उनको हत्याको मुद्दा छिनोफानो हुन नसकेको बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले आफै स्वीकार्छन्। 

अब, बारा नौतनमा फेला परेको घाँटी रेटिएको युवकको हत्या घटनाको बारेमा चर्चा गरौ।  फागुन ३ गते राति हत्या गरी नौतन गण्डकको डिलमा रक्सौल काली मन्दिराका मनीष कुमारको शव फेला परेको थियो। उनको हत्या पनि भारतीय अपराधीहरुले नै गरी बाराको भूमिलाई उपयोग गरेको अनुसन्धानबाट खुलेको छ। बारा प्रहरीले यसै घटनामा संलग्न भएको आरोपमा पन्टोकाका सन्तोष गुप्ता र रक्सौल, सहदेवाका राहुल पटेललाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्दैछ। 

व्यापारको विषयमा विवाद हुँदा मनिषलाई पर्साको ड्राईपोर्ट चोकमा रक्सी–मासु खुवाई हत्या गरी ना २ ह ६११० नं को इरिक्साबाट लाश फाली भागेका थिए।  चक्कुले मनीषको घाँटी रेटेर हत्या गरी शव बाराको नौतनमा इरिक्साले फालेर अभियुक्तहरु रक्सौल भागेका थिए। साढे ३ महिनाअघि पनि जीतपुर सिमरा ३ बजनी टोलमा एक कृषक दम्पतीको हत्या भएको थियो। त्यो केस पनि हालसम्म बारा प्रहरीले सुल्झाउन सकेको छैन। पटकपटक दीपक र दीपा सुवेदीको हत्याको अभियुक्तलाई पक्राउ गरी कारवाही गर भन्दै सिमरावासी आन्दोलन तथा सिमरा प्रहरीको विरोध पनि गर्दै आएका छन्। तर बारा प्रहरीलाई त्यो घटनामा सोचे अनुसारको सफलता मिल्न सकेको छैन। आफ्नै घरभन्दा ५ सय मिटर टाढा रहेको गाईवस्तुको गोठमा निज दम्पतिलाई लगेर टाउकोमा चक्कु, रड र धारिलो हत्यार प्रयोग गरी हत्या गरिएको थियो। उक्त हत्याको विषयमा जिल्लादेखि केन्द्रको सुरक्षा निकाय सक्रिय भएतापनि अर्कै कर्मतर्फ बारा प्रहरी र त्यसका घुमुवाहरु व्यस्त छन्। जिल्ला, क्षेत्र, सिआइबीलगायतका टोली अनुसन्धान कम र ढाँट्ने बढी गरेको सुवेदी परिवारका आफन्तजनले आरोप लगाउछन्। अर्कोतर्फ केसको बारेमा अनुसन्धान गर्ने बहानामा अनुसन्धानकर्मी तस्करसँग असुलीमा व्यस्त देखिन्छन्।
 
सिमरावासीले हाल बारा प्रहरी मात्र चोरीको मोटरसाइकल र चोरलाई समातेर चर्चा आउन खोजेको बताउछन् भने दिनदिनै बढ्दै गएको हत्या जस्तो घटनामा गम्भीर नदेखिएको जिल्लाबासीको भनाई छ। 

पर्सा कार्यालय अगाडिको गोलीकाण्डले वीरगंज त्रसित

पर्साको अवस्थामा पनि त्यति राम्रौ छैन्। वीरगंजमा होलीको धुमधाम शुरु हुनुभन्दा एक दिनअघि नै वीरगंजमा एक युवक माथि गोली प्रहार हुन्छ। त्यस घटनाले वीरगंज पनि सुरक्षित छैन भन्ने पाठ सिकायो। फागुन १६ गते, चाडपर्वको बेला प्रहरी अधिकृत समाजिक संस्थाको कार्यक्रममा हिड्नु तथा पर्साका सिडियो वीरगंजको होटलमा बिहेको भोजमा सरिक भइरहदाँ वीरगंजमा गोली चलेको थियो। राती साढे ९ बजे जिल्ला प्रहरी कार्यालय पर्साको अगाडिमा रहेको लालबंगला दरबारको पश्चिम पट्टी पर्सा झौवागुठी स्थायी घर भई हाल वीरगंज रानीघाट १३ मा बसोबास गर्दै आएका धागो व्यवसायी उमेश चौरसिया माथि कटुवा बन्दुकले अपराधीहरु गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए। भारतीय महावाणिज्य दूतावासको बाटो भएर उमेशमाथि गोली हानेको केही घण्टामै वीरगंजमा त्रासको माहोल छाएको थियो। 

पछि अनुसन्धानबाट चौरसियाकै पत्नी प्रियंकाको हत्याको योजना अन्तर्गत सुपारी लिएका सुटरहरुले उनी माथि नलकटुवा बन्दुकले भरुवा गोली हानेको पत्तो लाग्यो। संजोगवस चौरसिया बाँचे,उनको उपचार हाल काठमाडौंमा भइरहेको छ। पत्नी प्रियंका र उनका प्रेमी बारा परवानीपुर–१ का विकेन्द्र गुप्ता र अन्य दुई जना अपराधी गरी ४ जना खोरमा छन्।  भारतीय अपराधीबाट बन्दुक खरिद गरी वीरगंजमा हत्याको प्रयास भएको लिकेज पत्ता लागेको छ। 

वीरगंजमा हत्या गर्न बिहारबाट बारा हुदै भित्रिन्छ बन्दुक

विकेन्द्रका छिमेकी रामपुर मुसहरीका मनोज गुप्ताले वीरगंज मुर्लीका मुना साह(सुटर)सँग उमेशको हत्या गर्ने सुपारी लिएका थिए। १ लाखमा ज्यान मार्ने सुपारी लिएको मध्ये २५ हजार एडभान्स पाएका थिए। त्यसै २५ हजार मध्ये १२ हजारमा बाराका प्रशान्त चौधरीबाट भारतीय नलकटुवा बन्दुक खरिद गरी हत्याको प्रयास भएको पर्सा प्रहरीको अनुसन्धानबाट खुलेको छ। बन्दुक बेच्ने चौधरी हाल फरार छन् उनको खोजी कार्या भइरहेको पर्साका एसपी डा.गणेश रेग्मीले बताए। बाराका प्रशान्त चौधरी भारतीय हतियार बेच्ने डिलरबाट हतियार खरिद गरी दुबै जिल्लाका अपराधीलाई सप्लाई गर्ने गरेको तर्फ पर्साको गोली काण्डले गइरहेको बुझिएको छ र आइतवारको गुलरियामा कारमा समातिएका बन्दुक बोकेका चन्दन पनि भारतीय अपराधिक समूहका हतियार डिलर हुन सक्ने अनुमान गरिएको छ। 

यसरी हेर्ने हो भने पर्सा–बारा जिल्लामा सुरक्षा थ्रेट बढ्दै गएको छ। दुबै जिल्लाका सर्वसधारण चिन्तित छन्। बाराले मोटरसाइकल चोर र पर्सा प्रहरीले सोसल मिडियाबाट ठगी गर्ने गिरोहलाई समात्न बढी केन्द्रीत देखिन्छ। तर भारतीय हतियारधारी अपराधी खुल्ला सीमा नाकाको कारण जिल्लाको विभिन्न ठाउँमा घटना घटाइरहेको अवस्थामा अझै गम्भीर हुनु र सक्रिय रहनु पर्ने आवश्यक देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell