PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ममताप्रसाद माथि गोली प्रहार : तीन जना समातिए



रासस

ममताप्रसाद माथि गोली प्रहार : तीन जना समातिए
मेयर ममताप्रसाद।

धनगढी : कैलालीको मध्यक्षेत्रमा रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार भएको घटनामा संलग्न रहेको आशंकामा तीन जना पक्राउ परेका छन्।
  
प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले पक्राउ परेका शंकास्पद तीन जनामाथि अनुसन्धान थालिएको बताए। 

‘पक्राउ परेकाहरुको नाम दिन अहिल्यै मिल्दैन,’ नेपालले भने 'आक्रमणकारी आज बेलुका वा भोलिसम्ममा पहिचान भइसक्छन्।’ घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नं को मोटरसाइकल बरामद गरेको छ।

घोडाघोडी नगरपालिकाको सुखड बजारको आफ्नै घरमा रहेका प्रमुख चौधरीलाई मोटरसाइकलमा आएका अज्ञात तीन व्यक्तिले गएराति टाउकामा खुकुरी र पेट र खुट्टामा गोली प्रहार गरी फरार भएका थिए। 

आक्रमणबाट घाइते भएका चौधरीलाई तत्काल घोडाघोडी अस्पतालमा लगिएकामा थप उपचारका लागि गएराति नै नेपालगञ्ज लगिएको थियो। उनलाई नेपालगञ्जबाट हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ।
 
उनको खुट्टा र कम्मरमा गोली लागेको छ भने टाउकोमा खुकुरी प्रहार भएको थियो। नेत्रविक्रम चन्द विप्लबका कार्यकर्ताले नगर प्रमुख चौधरीलाई राजीनामा दिन दबाब दिएको बताइएको छ। 
 
यस्तै, उनलाई केही दिनअघि सोही नगरपालिकाको देउकलियामा बोक्सीको आरोपमा स्थानीय युवती राधा चौधरीमाथि भएको कुटपिटको घटना गाउँमै मिलाउन दबाब दिई प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप लागेको थियो। नेकपा (एमाले)का तर्फबाट उनी नगरपालिकाको प्रमुखमा विजयी भएका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell