PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जनप्रतिनिधि अाएको ८ महिनापछि बल्ल अाए स्वास्थ्य संस्था महानगरपालिका मातहत



पहिलोपोस्ट

जनप्रतिनिधि अाएको ८ महिनापछि बल्ल अाए स्वास्थ्य संस्था महानगरपालिका मातहत

चितवनः भरतपुर महानगरपालिका मातहतमा २३ वटा स्वास्थ्य संस्था, तिनमा कार्यरत १२७ स्वास्थ्यकर्मी र २०७ जना स्वास्थ्य स्वयंसेविका आएका छन्। भरतपुर महानगरपालिका कार्यालयको सभाहलमा आइतबार स्थानीय तहमा स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रम आयोजना गरी ती संस्था र स्वास्थ्यकर्मीलाई महानगर मातहत ल्याइएको हो। 

जिल्ला जनस्वास्थ्य कार्यालयबाट हस्तान्तरण भई महानगरमा आएकामा वडा नं १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट १० कर्मचारी र करारमा कार्यरत चार जना चिकित्सक रहेका छन्। यसैगरी १३ स्वास्थ्यचौकीबाट ८६, आठ नगर स्वास्थ्य केन्द्रबाट २४ र सामुदायिक स्वास्थ्य इकाई कविलासका तीनजना कर्मचारी महानगर मातहत आएका हुन्। 

जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले प्रत्येक स्वास्थ्य संस्थाको सम्पत्ति र कर्मचारी विवरण सहितको अलगअलग फाइल एकमुष्ट रुपमा महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरे। कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तहमा स्वास्थ्य संस्था आएपछि दायित्व र जिम्मेवारी थपिएको बताइन्। 

भरतपुर महानगरका २९ मध्ये नौ वटा वडामा स्वास्थ्यचौकी नभएको जानकारी गराउँदै महानगर प्रमुखले भदौ महिनाभित्र हस्तान्तरण हुनुपर्नेमा केही ढिला भए पनि राम्रो कामको शुरुआत भएको बताइन्। 

उनले महानगरभित्र रहेका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन महानगर र वडा जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताइन्। 

स्थानीय तहअन्तर्गत वडामा रहेका स्वास्थ्य संस्था व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष रहने र उपाध्यक्ष वडाध्यक्षले तोकेको व्यक्ति रहने व्यवस्था छ। अन्य पाँच सदस्यमध्ये एक महिला सदस्य महानगर प्रमुखले तोकेको व्यक्ति रहने प्रावधान छ। 

वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले अब महानगरभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाको जिम्मेवारी र नेतृत्व महानगरपालिकाले लिनुपर्ने बताए। 
भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले अब वडा-वडामा समन्वय र अनुगमन गरिने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell