PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दङ्गा भड्किएपछि श्रीलङ्कामा १० दिनका लागि संकटकाल घोषणा



पहिलोपोस्ट

दङ्गा भड्किएपछि श्रीलङ्कामा १० दिनका लागि संकटकाल घोषणा

कोलोम्बोः श्रीलङ्कामा मुसलमानविरुद्ध भड्किएको दङ्गा नियन्त्रणका लागि १० दिनको स‌ंकटकाल घोषणा गरिएको छ। 

दङ्गामा परी दुई व्यक्तिको मृत्यु भएपछि मङ्गलबार श्रीलङ्का सरकारले राष्ट्रव्यापी रूपमा सङ्कटकालको घोषणा गरेको हो। 

पर्यटकका लागि प्रख्यात पहाडी इलाकामा रहेको घरहरूमा भएको आगजनीका कारण दुई व्यक्तिको मृत्यु भएको थियो। 

बौद्ध धर्मावलम्बीहरूको बलियो प्रभाव रहेको शहर कान्डीका मुसलमानहरूविरुद्ध दङ्गा शुरु भएको थियो। 

कान्डी शहरमा ठूलो संख्यामा सशस्त्र प्रहरी कमाण्डोहरू तैनाथ गरिएको छ। 

जलाइएको भवनबाट २४ वर्षीया मुसलमान युवकको शव निकालेपछि मङ्गलबार प्रहरीले दुई दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको एएफपीले जनाएको छ। 

मुसलमानहरू बौद्ध धर्मावलम्बी समुदायबीच भएको एक विवादका क्रममा भएको झडपमा बौद्ध धर्मावलम्बी पुरुष सख्त घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि दङ्गा सुरु भएको थियो। 

दुर्इ धार्मिक समुदायबीच दङ्गा भड्किएपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले मन्त्रिपरिषद्को आपतकालिन बैठक बोलाएका थिए। 

बैठकले १० दिनका लागि स‍ंकटकाल घोषणा गर्ने निर्णय गरेको हो। 

राष्ट्रपतिको सचिवालयले १० दिनपछि संकटकाल अगाडि बढाउनेकी नबढाउने भन्ने निर्णय त्यहाँको अवस्था हेरेर गरिने जनाएको छ। 

दुई करोड १० लाख जनसंख्या रहेको यस देशमा ७० प्रतिशत बौद्ध धर्मावलम्बी रहेका छन् भने, नौ प्रतिशत मात्र मुसलमान समुदाय रहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell