PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वर्ल्डकप क्वालिफायर : नेपाललाई अवसर र चुनौती



गोविन्दराज नेपाल

वर्ल्डकप क्वालिफायर : नेपाललाई अवसर र चुनौती
फोटो : रमन शिवाकोटी

काठमाडौं : सन् २०१९ मा इंग्ल्याण्डमा हुने वान डे वर्ल्डकपको अन्तिम चरणको छनोटका रुपमा रहेको आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर-२०१८ आइतवारदेखि अफ्रिकन राष्ट्र जिम्बाबेमा सुरु हुँदैछ।

आयोजक जिम्बाबेसहित टेष्ट मान्यता प्राप्त ४ टोली र अन्य ६ गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्ने क्वालिफायरमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।

१० मध्ये २ टोली मात्र वर्ल्डकपमा छनोट हुने भएका कारण यस प्रतियोगिता नेपालका लागि महत्वपूर्ण अवसरका साथै चुनौती पनि उतिकै छ।

सिधा भन्नुपर्दा क्वालिफायरमा फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष वर्ल्ड कप खेल्नेछ, अन्तिमको दुई टोली डिभिजन टू मा झर्नेछ।

बाँकी ६ टोली वर्ल्ड क्रिकेट लिगको डिभिजन वान मै रहनेछ तर यो बारे आइसीसीले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

क्वालिफायर खेल्ने टेष्ट मान्यता वाहेकका ६ मध्ये ४ टोलीले प्रतियोगिता सकिएपछि वान डे मान्यता पाउनेछन्। जसमा नेदरल्याण्डले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप जितेका कारण यसअघि नै वान डे पक्का गरिसकेको छ तर उसले क्वालिफायर सकिएपछि मात्रै त्यो मान्यता पाउनेछ। यस्तै बाँकी ५ एसोसिएट टोली स्कटल्याण्ड, पपुवा न्यूगिनी, युएई, हङकङ र नेपालमध्ये अगाडी रहने ३ एसोसिएट टोलीले आगामी ४ वर्षका लागि वान डे मान्यता पाउनेछन्।

वान डे क्वालिफायरमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहबाट शीर्ष ३ स्थान हात पार्ने टोली सुपर सिक्समा प्रवेश गर्नेछन् र त्यसमध्ये बढी अंक हासिल गर्ने दुई टोली फाइनल पुग्नेछन्।

जिम्बाबे प्रस्थान गर्नुअघि नेपालका कप्तान पारस खड्काले नेपालको लक्ष्य सुपर सिक्स पुग्ने र वान डे मान्यता प्राप्त गर्ने रहेको बताएका थिए।

त्यसका लागि नेपालले आफ्नो प्रदर्शनमा सुधार गर्नुपर्ने समेत पारसको भनाई थियो। उनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै डिपार्टमेन्टमा राम्रो प्रदर्शन गर्नुपर्ने बताएका थिए।

नेपाल रहेको समूह बी मा घरेलु टोली जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्। नेपालले पहिलो पटक जिम्बाबेसँग ५० ओभरको क्रिकेट खेल्दैछ। अफगानिस्तान र हङकङ नेपालको लागि चिरपरिचित प्रतिद्वन्दी हो भने स्कटल्याण्डसँग पनि यसअघि ३ खेल खेलिसकेको छ।

समूह चरणमा दुई खेल जित्दै शीर्ष ३ मा रहन सके नेपाल सुपर सिक्समा प्रवेश गर्नेछ र वान डे मान्यता नजिक पुग्नेछ। टेष्ट मान्यता प्राप्त चार वटै टोली सुपर सिक्समा पुगेको खण्डमा नेपाल सुपर सिक्स पुगे वान डे मान्यता पाउनेछ।

 कप्तान पारसले भनेजस्तै नेपालले सबै क्षेत्रमा सुधारिएको प्रदर्शन गर्ने र सुपर सिक्स पुग्दै वान डे मान्यता पाउने हो भने यो नेपाली क्रिकेटको लागि अहिलेसम्मकै ठूलो र ऐतिहासिक उपलब्धी हुनेछ। वान डे मान्यता पाए नेपालले आगामी चार वर्ष वर्ल्ड क्रिकेट लिग को शीर्ष डिभिजनमा खेल्न पाउनुका साथै इन्टरकन्टिनेन्टल कप खेल्न पाउनेछ। जसले गर्दा नेपाले निरन्तर क्रिकेट खेल्न पाउनेछ भनै एक्सपेरिएन्स र एक्पोजर पनि पाउनेछ।

तर नेपालका लागि वर्ल्ड कप क्वालिफायर अवसर सँगै चुनौती पनि छ। चुनौती यस अर्थमा की नेपालले पहिलो पटक जिम्बाबेमा खेल्दैछ। आफ्नो समूहमा रहेका ४ मध्ये नेपालले जिम्बाबेसँग पहिलो पटक खेल्दैछ। यस्तै अफगानिस्तानलाई २००४ मा पहिलो पटक हराएयता नेपाल पराजित हुँदै आएको छ भने स्कटल्याण्डलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन भने हङकङ पनि पछिल्लो समय नेपालका लागि बलियो प्रतिद्वन्दीका रुपमा देखिदै आएको छ।

नेपालले सुपर सिक्समा पुग्न कम्तीमा पनि दुई टिमलाई हराउनै पर्नेछ।

यद्यपी नेपालले सुपर सिक्समा स्थान बनाउन नसकेपनि टेष्ट खेल्ने चार वटै टोली र नेदरल्याण्ड्स सुपर सिक्समा प्रवेश गरे आठौँ स्थान हात पारे पनि वान डे मान्यता पाउनेछ।

क्वालिफायरमा सुपर सिक्स नपुग्ने बाँकी टोलीबीच प्लेअफ खेल हुनेछ। यस्तो अवस्थामा नेपाल आफ्नो समूहमा चौथो वा पाँचौ जे भएपनि अर्को समूहको टोलीसँग प्लेअफ खेल्दा जीत हात पार्न सके सातौँ/आठौँ स्थानको लागि प्लेअफ खेल्ने अवसर पाउनेछ र यसमा जस्तो नतिजा आएपनि नेपालले वान डे मान्यता पाउनेछ र यसका लागि अगाडी भनेजस्तै टेष्ट मान्यता टोली र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्नुपर्नेछ।

चार वर्षअघि न्यूजिल्याण्डमा भएको वर्ल्ड कप क्वालिफायरमा भने नेपालको प्रदर्शन बिर्सनलायक थियो। सहभागि १० टोली मध्ये नवौँ स्थानमा रहेको नेपाल डिभिजन टू मा झरेको थियो।

त्यतिखेर नेपाल स्कटल्याण्ड र हङकङसँग पराजित भएको थियो।

 

सन्दीप फ्याक्टर

जिम्बाबेमा हुने क्वालिफायरमा नेपालको लागि सबैभन्दा ठूलो हतियार कोही हुनेछ भने त्यो युवा लेगस्पिनर सन्दीप लामिछाने नै हुनेछन्। डिभिजन टु खेल्नुअघि आइपिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बनेर कीर्तिमान बनाएका सन्दीपले वर्ल्ड कप क्वालिफायर खेल्नुअघि अर्को फ्रेन्चाइज लिगमा स्थान बनाएका छन्। क्यारेबियन प्रिमियर र लिग (सीपीएल) मा सन्दीपलाई क्रिस गेल रहेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले ५ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ।

१७ वर्षीय सन्दीपलाई आइसीसीले समेत क्वालिफायरका १० स्टार प्लेअर्सको लिस्टमा राखेको छ। आइपिएलमा दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेपछि नामिबियामा भएको डिभिजन टू मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले क्वालिफायरमा पनि अझै राम्रो गर्न सक्नेछ।

आइसीसीले क्वालिफायरअघि गरेको कुराकानीमा समेत सन्दीपले आफू नाम र चर्चाको पछि नकुद्ने र आफ्नो राष्ट्रको लागि खेल्ने बताएका थिए।

युएई विरुद्ध अभ्यास खेलमा बलिङ गर्दै सन्दीप, फोटो : आइसीसी

यू-१९ वर्ल्डकपमा डेब्यु गर्दा नै ह्याट्रिक विकेट लिएका, हङकङको टी-२० ब्लिट्जको पहिलो संस्करण खेलेका, माइकल क्लार्कसँग भेट र एउटै टिमबाट खेलेका, वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कको निमन्त्रणामा अष्ट्रेलियामा गएर ग्रेड क्रिकेट खेल्नुका साथै क्लार्कको एकेडेमीमा ट्रेनिङ गरेका, आइपिएलमा छनोट हुने पहिलो नेपाली खेलाडी, डिभिजन टू को म्यान अफ दि सिरिज यी सबै सफलता हात पार्ने पहिलो नेपाली खेलाडी। यी सबै सन्दीपको नामसँग जोडिएको सफलता हुन्। यति सानो उमेरमै धेरै सफलता हात पारेका सन्दीप जिम्बाबेमा पनि नेपालका लागि मुख्य हतियार हुन सक्छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell