PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘दासहरु’रहेसम्म नेपाली फुटबलमा गणेश थापालाई कसैले हल्लाउन सक्दैन 



विष्णुहरि घिमिरे

‘दासहरु’रहेसम्म नेपाली फुटबलमा गणेश थापालाई कसैले हल्लाउन सक्दैन 

त्यति बेला म नेपाल वान टेलभिजिनमा काम गर्थेँ। २०६२ सालको चैत लाग्दै थियो। मौसममात्र होइन सडक पनि तात्न थालेका थिए। राजधानीका विभिन्न ठाउँमा तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले निषेधाज्ञा लगाएको थियो। 

राजनीतिक दलका नेता तथा कार्यकर्ता निषेधाज्ञा तोड्न खोज्ने र सुरक्षा निकाय रोक्न खोज्ने, त्यो क्रममा समातिएका आन्दोलनकारीलाई दशरथ रंगशालाको भीआइपी प्यारापिटमुनि रहेको जुडो, कराते र उसु हलमा थुनिएको थियो।  देश आन्दोलनमय हुँदा पनि अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल रोकेको थिएन। मैदानमा फुटबल, प्यारापिट आन्दोलनकारी थुन्ने जेल। 

रंगशालाको मूलगेटमा प्रहरीसहित एन्फाका पदाधिकारी रहन्थे। खेलकुद पत्रकार हो भन्ने ठहर गरेपछि मात्र प्रवेश दिने व्यवस्था गरिएको थियो। गेटबाट छिर्दा नै फुटबलबाहेक अन्यत्र क्यामरा नफर्ककाउनू भन्ने निर्देशन दिइन्थ्यो। 

प्यारापिटमा जान भर्‍याङ उक्लिनु अगाडि झ्यालबाट भित्र हलमा थुनिएका आन्दोलनकारी प्रष्ट देखिन्थे। क्यामेरामेन मेननराज राजभण्डारीलाई संकेत गरेँ। “रंगशालामा जेल” गज्जब स्टोरी हुने भो भन्ने मनमा थियो। म यता एन्फा पदाधिकारीसँग गफ गरे जस्तो गर्दै थिएँ। एक्कासी आएको चर्को आवाजले सबैको ध्यान त्यसतर्फ मोडियो। 

गणेश थापाले क्यामेरामेन मेननको कठालोमा समात्दै फुटेज मेट भन्दै थिए।  त्यो “एक्सक्लूसिभ” फुटेज गर्भमा नै पतन भयो। 

शाही कालमा गृहमन्त्री थिए कमल थापा। तर रवैया हेर्दा लाग्थ्यो, गणेश थापा आफैं गृहमन्त्री हुन्। काठमाडौंको जीवन लगभग अस्तव्यस्त नै थियो तर गणेश थापाहरु रंगशालामा फुटबल रोक्न चाहँदैन थिए। जसरी पनि आन्दोलन दबाउन पर्छ भन्नेमा थिए गणेश थापा। प्यारापिटमा युवराज पारसको सवारी दैनिकजसो हुन्थ्यो। 

दोस्रो जनआन्दोलनको सफलतापछि, एन्फामा पनि लोकतन्त्र आउनु पर्ने, गणेश थापाको हुकुमी शासनको अन्त्य, विधिको शासन हुने पर्ने भन्दै केही क्लबले आन्दोलन सुरु गरे। सशस्त्र द्धन्द्धबाट भर्खर शान्ति प्रक्रियामा आएको नेकपा माओवादीको राप र ताप मुलुकभर थियो। खेलकुदमा पार्टीको भातृ संगठन खोल्ने काम माओवादीले गर्‍यो। ध्रुबविक्रम मल्ल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष थिए। गणेश थापाविरुद्धको आन्दोलनलाई महासंघको समर्थन थियो। तर आन्दोलनले पार नपाउँदै ध्रुबविक्रम अध्यक्षबाट बर्खास्तीमा परे। माओवादीभित्र ध्रुबविक्रम भन्दा गणेश थापाको कुरा पत्याउने अवस्था बन्यो। शक्तिलाइ रिजाउने कलामा फेरि एकपटक गणेश थापा सफल भए। थापा प्रचण्डकै प्रिय प्राप्त हुन पुगे। 

गणतान्त्रिक खेलकुद महासंघले रंगशालामा ठूलै तामझामसहित खेलकुद महोत्सवको आयोजना गर्‍यो। समापनको दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताको उपस्थिति थियो। माओवादीले विषेश सम्मान गर्ने व्यक्तित्वमा गणेश थापा पनि थिए।  

आन्दोलनका समयमा गणेश थापाले देखाएको व्यवहार र माओवादीको सम्मानको तुलना गर्दै कान्तिपुर टेलिभिजनले प्याकेज रिपोर्ट प्रसारण गर्‍यो। तर त्यो रिपोर्ट “होल्ड” मात्र भएन प्रोड्युसर र रिपोर्टरले स्पष्टीकरण नै दिनु पर्‍यो। 

गणेश थापा यस्ता व्यक्ति हुन् उनले गरेको अनियमितताका लागि तीन-तीन वटा आयोग बने, सबै आयोगले थापालाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गर्‍यो। तर उनले सदैव उन्मुक्ति पाउँदै आए।  ५८ करोड अनियमितता गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाही गर्न सिफारिस गरे पनि त्यो त्यतै सेलायो। 

खासमा अहिलेसम्म गणेश थापाबाट नेपाली फुटबल पूर्ण रुपमा मुक्त भइसक्नु पर्ने हो।  नियमतः गणेश थापा फुटबलसँग सम्वन्धित कुनै पनि गतिविधि गर्न र त्यसमा सहभागी हुन नपाउने मात्र होइन, जेलमै पर्नु पर्ने व्यक्ति हुन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा नै आर्थिक अनियमितिाको आरोपमा दश वर्ष प्रतिवन्ध लागेका व्यक्ति हुन गणेश थापा। 

तर व्यवहारमा त्यस्तो छैन। अझै पनि नेपाली फुटबल गणेश थापाकै मुठ्ठीमा रहेको छ। अझ भनौ नेपाली फुटबल गणेश थापाको  पारिवारिक व्यावसाय हो। 

२०४६ साल अगाडि कमल थापाले १५ बर्ष नेपाली फुटबलको नेतृत्व गरे। बीचमा एकाध वर्ष बाहेक। त्यसपछि पनि थापा परिवारकै मातहतमा नेपाली फुटबल छ। दुई दशक गणेश थापा आफैंले फुटबलको नेतृत्व गरे। मुलुकको कानुनले देखेर पनि नदेखे जस्तै गर्दा फिफाको प्रतिवन्धबाट सातदोवाटो जान नपाएका थापाले विशालनगरबाटै एन्फा चलाउँदै आएका छन्। जसलाई  अदृश्य शक्तिले फुटबल चलाएको भन्ने गरिएको छ। 

आफ्ना विश्वासपात्र एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि अष्ट्रेलियामा छोरा बुहारीसँगै सेटल हुन लागेका नरेन्द्र श्रेष्ठलाई फिर्ता बोलाएर नाम मात्रको अध्यक्ष बनाइयो।  गणेश थापा अहिले सालो मणि कुँवरलाई जिताउन आफ्नो सबै शक्ति खर्च गर्दैछन्। गणेश थापाको स्वाभाव हार्न नचाहने छ। अहिले अप्रत्यक्ष एन्फा सञ्चालन गरिरहेका  थापा  प्रतिवन्ध सकिएपछि, आफू र आफ्नो छोराको लागि अनुकूल वातवरण बनाउने रणनीतिमा छन्। 

फिफा निर्वाचनमा भोट विक्री गरे वापत एएफसीका तत्कालीन अध्यक्ष मोहम्वद वीन हमामबाट आएको एक लाख अमेरिकी डलर  गणेश थापाले छोरा गौरवको बैंक खातामा जम्मा गराएका थिए। त्यही काण्डमा गौरवले एएफसीको सुविधा सम्पन्न जागिर छोडेर नेपाल फर्कन परेको थियो।  नेपाल आएपछि गौरव थापा “गौरव बाबु” को रुपमा एन्फामा सक्रिय छन्। गणेश थापा उपलब्ध नहुँदा गौरव बाबुको तजविजमा एन्फा चल्छ। 

भोट भेचेर एक लाख डलर लिएकै काण्डमा फिफाले गणेश थापालाई दश वर्षको प्रतिवन्ध लगाएको हो। 


दासहरुले भरिएको एन्फा 

बास्तवमा गणेश थापा आफैंमा शक्तिशाली होइनन्। नेपाली फुटबलका दासहरुका कारण उनी सर्वशक्तिमान बनेका हुन्। विधानतः साधारण सभाको निर्णय अन्तिम हुन्छ। साधरण सभाले चाहेको भए धेरै अगाडि नै नेपाली फुटबलले कायपटल गर्ने थियो। साँच्चिकै फुटबल प्रेमी यदि एन्फा साधरण सभामा उपस्थित हुन्थे भने कि गणेश थापा आफू सुधारिएर आउँथे, कि उनी आफैं एन्फा छोडेर जान्थे, त्यो दुबै नहुँदा साधरण सभाले नै गणेश थापालाई बर्खास्ती गर्ने थियो। 

नेपाली खेलकुदमा रहेका संघहरुमा नियमित साधरण सभा गर्ने थोरै संघहरुमा एन्फा पहिलो नम्वरमा आउँछ। कागजी रुपमा एन्फाको साधारण सभा भव्य हुन्छ तर व्यवहारमा दासहरुले ल्याप्चे लगाउनु बाहेक केही हुँदैन। भत्ता बुझ्नु, साधारण सभाहलमा थपडी बजाउनु, साँझ दारुमा मस्त हुनु र फर्कनु बाहेक साधारण सभामा उपस्थित सदस्यको अर्को भूमिका हुँदैन। 

साधरण सभामा जुन सदस्यले विधि विधान, फुटबलको विकासका बारेमा आवाज उठाउन खोज्छ त्यसलाई गणेश थापाले केही गर्नै पर्दैन, उनका दासहरु दुई कदम अगाडि बढेर सिष्टम बसाउन चाहँनेलाई “ठीक“ पारिदिन्छन।  समयकाल अनुसार दासका पात्रहरु फेरिँदै आएका छन्। 

जबसम्म एन्फा साधरण सभामा भोटिङ राइट भएका प्रतिनिधिमा दास मानसिकता हट्दैन, बाहिर जो जस्ले जति कुर्लिए पनि नेपाली फुटबल गणेश थापा र उनको परिवारको निजी व्यवसायमा सीमित हुनेछ। 


थापाको अन्तिम प्रयास 

गणेश थापा आजीवन नेपाली फुटबलको सत्ताबाट बाहिरिन चाहँदैनन्। त्यसका लागि यस पटकको चुनाव वार कि पार हो। मणि कुँवरले जिते प्रतिवन्धितकाल विशालनगरबाटै चलाउने त्यसपछि देखाउने उनको लक्ष्य हो। कर्मा छिरिङले जिते नेपाली फुटबलमा गणेश थापाको पुनरागमन लगभग असम्भव बन्ने छ।  

टासी घले, इन्द्रमान तुलाधर लगायतको होस गत वर्ष नै खुलेको भए अहिले कथा अर्कै हुने थियो। ढिलै भए पनि यस पटक टासी र इन्द्रमानले आफूलाई सच्याए। 

सबैभन्दा चाख लाग्दो कुरा, नरेन्द्र श्रेष्ठ आफैंमा विवादित ब्यक्ति होइनन्। उनी जति सक्दो चाँडो रिटायर्ड लाइफ अष्ट्रेलियामा विताउने तयारीमा छन्। उनका छोरा बुहारी अष्ट्रेलियामा जमेर बसेका छन्। तर नरेन्द्र, गणेश थापाका सबैभन्दा ठूलो दास बनेका छन्।

नरेन्द्रका सम्धी एन्फाका महासचिव धीरेन्द्र प्रधान आफैंमा कुशल खेलाडी र पुलिस अफिसर हुन्।ओलम्पिक छनोट प्रतियोगितामा नेपालको तर्फबाट गोल गर्ने अहिलेसम्मका एक्ला खेलाडी, मैदानमा धीरेन्द्रको अगाडि बल खोस्न विपक्षी खेलाडीले आट गर्दैनथ्यो भन्नेहरु रंगशालामा प्रशस्त छन्। धीरेन्द्रको पावरफुल सटले विपक्षी खेलाडी मैदानमा ढलेको घटना सम्झदै उनको खेल हेर्न आउने दर्शकको संख्या उल्लेख्य हुन्थ्यो। नेपाली राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर धीरेन्द्र प्रधान अहिले गणेश थापाको भ्रष्टाचारलाई प्रोत्साहन दिने सबैभन्दा भरपर्दा डिफेन्डर भएका छन्। 

नेपाली फुटबलमा विश्लेषकको पगरी गुथेका सञ्जीव मिश्र, आफूलाई प्रजातान्त्रिक पार्टी र वीपी कोइरालाको सच्चा अनुयायी ठान्ने रमेशजंग रायमाझीहरु गणेश थापाको भ्रष्टाचारको प्रमोटर बनेका छन्। 

एन्फा साधरण सभामा फुटबल प्रतिनिधिहरु आए भने गणेश थापाको दादागिरीबाट नेपाली फुटबलले मुक्ति पाउनेछ। दासहरु धेरै भए भने थापा परिवारको व्यवसाय फुटबलमा झनै बढ्ने छ।  त्यसको निर्णय चैत १४ गते हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell