PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बिना लाइसेन्स उपचारमा संलग्न विदेशी चिकित्सक जेल चलान: १६ जना धरौटीमा छुटे



पहिलोपोस्ट

बिना लाइसेन्स उपचारमा संलग्न विदेशी चिकित्सक जेल चलान: १६ जना धरौटीमा छुटे
प्रतीकात्मक फोटो

काठमाडौं: नेपाल मेडिकल काउन्सिलको अनुमतिबिना चिकित्सकीय अभ्यास गरेको आरोपमा पक्राउ परेका एक चिकित्सक जेल चलान भएका छन्।

बौद्धस्थित चाइना ग्रेट वाल सेन्टरमा कार्यरत चिनियाँ चिकित्सक लङ जियोङ आज जेल चलान भएका हुन्। त्यस्तै अन्य १६ जना धरौटीमा छुटेका छन्।

पक्राउ परेकामध्ये १३ जना धरौटीमा र तीन जना साधारण तारेखमा छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी जीवनकुमार श्रेष्ठले बताए। 

एसपी श्रेष्ठका अनुसार ठमेलस्थित एपोलो इन्टरनेसनल पोलिक्लिनिककी सञ्चालिका मीनाकुमार श्रेष्ठ ३ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन्। त्यस्तै अस्पतालमा कार्यरत अन्य ८ जना चिनियाँ चिकित्सक प्रतिव्यक्ति १ लाख रुपैयाँ धरौटीमा छुटेका हुन।

चाइना ग्रेटवालका संचालक नारायण तिमल्सिना ५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् भने सोही अस्पतालमा कार्यरत चिनियाँ चिकित्सक लोंग युआन्चाओ साधरण तारेखमा छुटेका छन्।

बौद्धकै चाइनिज डेन्टल अस्पतालबाट पक्राउ परेका चिनियाँ ली योङमे ५ लाख र चाइना पिपल्स हस्पिटलबाट पक्राउ परेका चिनियाँ चिकित्सक १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्।

त्यस्तै लैनचौरस्थित सिभिक अस्पतालकी सञ्चालक प्रतिभा पाण्डे र सो अस्पतालमा कार्यरत अस्ट्रेलियन चिकित्सक सराह अन्ने केम्पलाई काठमाडौं जिल्ला अदालतले साधारण तारखेमा छाड्ने आदेश दिएको छ।

गत माघ १६ मा सिआइबी, मेडिकल काउन्सिल र उपभोक्ताकर्मीहरुले संयुक्त रुपमा ५ अस्पतालमा छापा मारी उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीले उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा चलाएको थियो। उनीहरुले नेपाल मेडिकल काउन्सिलबाट अनुमती नलिइकन चिकित्सकिय अभ्यास गररिरहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell