PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

देब्रेको साटो दाहिने खुट्टाको अपरेसन गर्ने डाक्टरलाई मेडिकल काउन्सिलले कारबाही गर्ने



देब्रेको साटो दाहिने खुट्टाको अपरेसन गर्ने डाक्टरलाई मेडिकल काउन्सिलले कारबाही गर्ने

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालमा डाक्टरले गरेको लापरवाहीको विषयमा छानबिन गर्ने भएको छ।

डाक्टरको लापरवाहीले भएको घटनामा नेपाल मेडिकल काउन्सिल चुप लागेर नबस्ने काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाले बताए। बिरामीले सम्झौता गरेपनि डाक्टरले गल्ती गरेको प्रमाणित भएकाले त्यसै छाड्न नमिल्ने बास्कोटाको तर्क छ।

उनका अनुसार काउन्सिलको ‘इथिकल कमिटी’ले उक्त घटनाको छानबिन गर्ने निर्णय गरिसकेको छ। काउन्सिलले घटनाबारे जानकारी दिन सम्बन्धित डाक्टरहरुलाई पत्र काटिसकेको छ। घटनाको बारेमा जानकारी लिन सम्बन्धित डाक्टरलाई मंगलबार काउन्सिल बोलाइएको छ।

'डाक्टरले लिखित जवाफ पठाएपछि इथिकल कमिटीले आवश्यक प्रकिया थाल्नेछ', बास्कोटाले भने, 'कारबाही के हुन्छ,छानविन गरेपछि थाहा हुन्छ। घटनाको अवस्था हेरेर लाइसेन्स खारेज पनि हुन सक्छ।'

नर्भिक अस्पतालले देब्रे खुट्टा अपरेसन गर्नुपर्ने बिरामीको गत शुक्रबार दाहिने खुट्टाको अपरेसन गरेको थियो।

डाक्टर प्रवीण नेपालको टोलीले चितवनकी ३८ वर्षीया बिन्दू पौडेलको दुइटै खुट्टाको अपरेसन गर्नुपर्ने अवस्थामा पुर्‍याएका थिए। हिँडेर अस्पताल पुगेकी बिन्दु डाक्टरले सद्धे खुट्टाको अपरेशन गरेपछि फेरि अर्को खुट्टाको अपरेशन गर्न बाध्य भएकी थिइन्।

डाक्टरले लापरवाही गरेपछि अस्पतालले बिरामीसँग ४ बुँदे सहमति गरेको थियो। भविष्यमा आउने दुइटै गोडाको समस्या र नसाको उपचार निःशुल्क गर्ने, नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल मन्जुर भएको थियो।

डा. प्रवीण नेपाल र शैलेज रन्जितकारले भूलवश अपरेसन अर्कै खुट्टामा हुन गएको भन्दै गल्ती स्वीकार गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell