PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दीपक मनाङेसहित ३ सय ७२ जनालाई खोज्दै काठमाडौँ प्रहरी



सविन ढकाल

दीपक मनाङेसहित ३ सय ७२ जनालाई खोज्दै काठमाडौँ प्रहरी

काठमाडौः प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभामा निर्वाचित भए पनि शपथ ग्रहणमा अनुपस्थित भई फरार रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अहिले काठमाडौँ प्रहरीले खोजिरहेको छ। 

प्रदेश सांसद् मनाङे फौजदारी मुद्दामा फरार रहेका अभियुक्त हुन्। 

हत्या प्रयास (ज्यान मार्ने उद्योग) गरेको ठहर गर्दै  २०६९ सालमा पुनरावेदन अदालत पाटनले उनलाई दोषी ठहर गर्दै ५ बर्ष कैद सजाय सुनाएको थियो। 

मनाङे मात्र होइन महानगरीय प्रहरी परिसर काठमाडौँले अहिले ३ सय ७२ जनालाई खोजी गरिरहेको छ। जघन्य अपराधमा अदालतले दोषी ठहर गरेका फरार अपराधी खोज्ने काम प्रहरीको पहिलो प्राथमिकतामा रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

एसएसपी पोखरेलले भने, 'उनीहरुले लुकेर अन्य स्थानमा अपराध गरिरहेको हुन सक्ने भएकाले यस्ता अभियुक्तलाई पक्राउ गर्दा केही अपराध नियन्त्रण हुन्छ।'

काठमाडौंमा कस्तो छ अपराध?

काठमाडौं प्रहरी परिसरबाट अनुसन्धान सुरु भई दर्ताका लागि सरकारी वकीलको कार्यालयमा पठाएका मुद्दाको संख्या चालु आर्थिक वर्षको आठ महिनामा ३ हजार ३ सय ४३ वटा रहेका छन्। यसरी दर्ता भएका मुद्दा मध्ये १८ सय ६९ वटा सार्वजनिक अपराध सम्वन्धित रहेका छन्।  ३ सय ३७ वटा जघन्य प्रकृतिका अपराध रहेका छन्।

आर्थिक वर्ष २०७३/७४ मा यो सङ्ख्या ४ हजार ५ सय ८२ रहेको थियो। २ हजार २ सय ६९ सार्वजनिक अपराध थिए भने ५ सय ६८ जघन्य अपराध थिए।

आर्थिक वर्ष २०७२/७३ मा राजधानीमा पछिल्ला चार वर्षमा सबैभन्दा बढी आपराधिक गतिविधि भएको देखिन्छ। यो आर्थिक वर्षमा ४ हजार ९ सय २ वटा मुद्दा दर्ता भएका थिए। यसमा ४ सय ३३ वटा जघन्य अपराध थिए भने २ हजार २ सय ९३ वटा सार्वजनिक अपराध भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

राजधानीमा हुने जघन्य अपराधमा सबैभन्दा बढी लागू औषधको कारोवार,  ज्यान मार्ने उद्योग (हत्या प्रयास), जबरजस्ती करणी (बलात्कार), कर्तव्य ज्यान (हत्या) रहेका छन्।

राजधानीमा हुने अपराध कम गर्ने प्रहरीकै शुद्धिकरण गर्नुपर्ने एसएसपी पोखरेल बताउँछन्। उनले भने, 'प्रहरीमा भएको कमजोरी,लोभिपापी प्रवृत्ति, आचरणलाई शुद्धिकरण गर्नुपर्छ।' 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell