PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

तीन कथा : समानुभूति, ब्यान्डेज र टिप्स


पहिलोपोस्ट /पहिलोपोस्ट

तीन कथा : समानुभूति, ब्यान्डेज र टिप्स
  • लिलाराज खतिवडा

१ समानुभूति

धेरैअघि युरोपको एक शहरमा एउटा किशोरलाई कुकुर पाल्ने रहर जाग्यो। उसको घरको आर्थिक अवस्था नाजूक थियो। कुकुर किन्नका लागि नै भनेर घरमा पैसा माग्न सक्ने स्थिति पनि थिएन। घरमा हातमुख जोर्न नै हम्मेहम्मे थियो।

केटाको नाम थियो डेविड। उसलाई बाल्यावस्थादेखि नै कुकुरहरुसँग निकै लगाव थियो। आखिर मान्छेको सबैभन्दा मिल्ने जनावर कुकुर भएकाले पनि हुन सक्छ डेविड एउटा कुकुरको छाउरो जसरी भए पनि घरमा ल्याउने सपना देखिरहेको थियो। त्यसो त एउटा भनाइ पनि उसले सुनेको थियोः प्रेम अनुभूत गर्न घरमा कुकुर पाल्नू। घृणा जान्न बिहे गरेर एउटी केटी ल्याउनू।

डेविडले टिफिन खर्च बचाउन थाल्यो। ऊ दिनमा दुइ वटा ब्रेड कम खान थाल्यो। खाजामा उसले अण्डा खान पनि छाड्यो। एक हप्तामा नै ऊ केही दुब्लाएको पनि थियो।

“तिमी आजकल दुब्लाउँदै गइरहेका छौं। बिरामी त भएका छैनौ? एक पटक डाक्टरकहाँ जाने हो कि?,” आमाले सोधिन्।

“बिमारी नै त होइन, आमा,” उसले भन्यो, “तर म एक हप्तादेखि स्कूलमा खासै टिफिन खाइरहेको छुइँन।”

“लौ हेर, किन नि?” आमाले स्नेहले उसलाई नियाल्दै सोधिन्।

“पैसा बचाइरहेको छु। मलाई एउटा कुकुरको छाउरो चाहिएको छ,” उसले आमालाई वास्तविकता अवगत गरायो।

“ए त्यसो पो? अनि मलाई भन्नु पर्दैन?,” आमाले मायाका प्रश्न उब्जाइन्।
डेविड अलिक लजाए जसरी भुइँतिर टोलाउन थाल्यो।

अनि आमाले आफ्नो थैलीबाट केही पैसा झिकेर उसका हातमा हालिदिइन्। ऊ फुरुङ्ग भयो।

“छाउरो राम्रो नश्लको ल्याउनू है, बाबु,” आमाले उसको कपाल मुसार्दै भनिन्।

दिनभरि उसले स्कूलमा सर र म्याडमहरुले पढाएको केही पनि बुझेन। उसलाई कतिखेर स्कूल छुट्टी हुन्छ जस्तो लागिरहेको थियो। उसको मनमा एउटा सुन्दर कुकुरको छाउरो नाचिरहेको थियो। आखिर ऊसँग खाजा बापत बचेको र आमाले दिएको गरेर एउटा छाउरो किन्न मनग्ये पैसा पनि थियो।

कसोकसो स्कूल सकेर ऊ सरासर नजिकैको केनल क्लवमा पुग्यो। त्यहाँ कैयन सानाठूला कुकुरहरु थिए। उसलाई खुब आनन्द पनि आयो। एकसाथ कैयन कुकुरहरु देखेर ऊ दंग परिसकेको थियो।

“मलाई एउटा छाउरो चाहिएको छ,” उसले त्यहाँको साहूलाई भन्यो।

“छानीछानी लग्नुहोस्, बाबु,” साहूले बडा नरम मिजाजमा मुस्कुराएर भन्यो। र डेविडलाई एकफेरा आफ्नो कुकुर गोठ पनि घुमाइदियो। त्यहाँ अनेक आकर्षक कुकुरहरुको भोउभोउ पनि सुनिरहेको थियो ऊ। हेर्दै जाँदा कुनामा एउटा छाउरो एक्लै बसिरहेको देखियो। डेविड सरासर त्यसको नजिक गयो र दुवै ओठ जोडेर तिखो आवाज निकाल्दै उसलाई बोलायो। छाउरो फूर्तीसाथ उठ्यो र खुशी भएर पुच्छर हल्लाउँदै उसको छेउमा आयो। छाउरो अलिक लङ्गडाएर हिँडिरहेको थियो।

पछाडिबाट साहू करायो, “त्यो छाउरो बिक्रिका लागि होइन, बाबु।”

डेविडले छाउरालाई बोक्यो। सुम्सुम्यायो। उसलाई यो छाउरो अत्याधिक मन पर्यो। अनि उसले साहूलाई सोध्यो, “किन र, महाशय?”

“जन्मिएको केही दिनमा नै यसको एउटा खुट्टामा चोट लागेको थियो। यसको एउटा खुट्टो लुलो छ। टेक्न सक्दैन।”

“तर मलाई त यो निकै मन पर्यो। म यसैलाई लैजान्छु।”

“यो रिजेक्टेड माल हो, बाबु। यसलाई लगेर हजुरले दुःख मात्रै पाउनु हुन्छ। यो अरु जस्तो दगुर्न पनि त सक्दैन।”

“अच्छा, तपाईं यसलाई अब के गर्नु हुन्छ त ?”

“यसलाई म मारेर अरु कुकुरको खाना बनाउँछु। सयमा एकाध यस्तै हुन्छन्। मेरो लागि यो नौलो होइन।”

“त्यसो भए त झन् म यही छाउरो लैजान्छु। बरु दाम चाहिँ कति हो ?”

“म अझै भन्छु बाबुलाई। बरु अरु छाउरामा म डिस्काउण्ट दिउँला। यसलाई छोडिदिनुहोस्।”

तर डेविड मानेन। उसले त्यो छाउरालाई आफ्नो छातीमा टाँस्यो। छाउरो उम्उम् गरेर बडा खुशी भइरहेको थियो।

केटो नमान्ने जस्तो लागेपछि साहूले भन्यो, “लाने नै भए यो म सित्तैमा दिन सक्छु। तर अझै पनि भन्छु, यो दगुर्न चाहिँ सक्दैन नि।”

“सित्तैमा कसैको केही पनि लिनु हुँदैन भनेर मेरा बुबाले भन्नु हुन्थ्यो। सित्तैमा त म लैजान्न। यो राख्नुहोस्,” डेविडले सहस्र भन्यो र केही पैसा थमायो।

केटाको कुकुर मोह देखेर साहू छक्क परिरहेको थियो। यो केटो अरु भन्दा भिन्न निस्किएको थियो। अनि साहूले थोरै पैसा आफ्नो खल्तीमा राख्यो र बाँकी केटाको हातमा थमाउँदै भन्यो, “मलाई यत्ति नै भए पुग्छ।” 

डेविडले उसलाई धन्यवाद दियो। साहूका आँखा रसाए।

अबेर नगरी केटो बाहिरियो। तर, ढोका नाघेर अघि बढ्न लागेका बेला साहूले कराएर भन्यो, “एउटा कुरा त बताएर जानुहोस् बाबु।”

“के कुरा, हजुर?” केटो फनक्क फर्कियो।

“यत्रा धेरै राम्राराम्रा कुकुरहरु यहाँ हुँदाहुँदै त्यो लङ्गडो छाउरो नै किन? तपाईंसँग यथेष्ट पैसा पनि त रहेछ।”

“कुरो पैसाको थिएन, काका। अब सोधिहाल्नु भयो। रहस्योजागर गर्नै पर्यो।” डेविडले भन्यो र एउटा मेचमा बसेर आफ्नो देब्रे खुट्टाको पाइन्ट अलिकमाथि सार्यो।

साहूको मुटुको धड्कन तेज भयो यो देखेर कि केटाको खुट्टा नक्कली थियो। 

डेविडले पाइन्ट तल झार्दै भन्यो, “दुई वर्षअघि बुबासँग गाउँ जाँदा बाइक एक्सिडेन्टमा मैले आफ्नो एउटा खुट्टा गुमाएको थिएँ। मैले त केवल एउटा खुट्टा गुमाएँ। तर त्यो दुर्घटनामा मेरा बुबाको त ज्यानै गएको थियो।”

सुनेर साहूका आँखामा आँशु अनियन्त्रित भयो। आँशु पुच्दै ऊ सुँक्कसुँक्क पो गर्न थाल्यो।

छाउराको ढाडमा प्रेमिल हात फिराउँदै डेविड घर फर्कियो।

 

२, द ब्याण्डेज


रमेश छ कक्षामा पढ्छ। फुटबल उसको प्रिय खेल हो। एक दिन फुटसलमा खेल्दाखेल्दै सन्तुलन नमिलेर ऊ पछारिन पुग्यो। दायाँ हातको कुइनामा नराम्रोसँग ठोक्कियो। रगत बग्न थालेपछि ऊ आत्तियो। साथीहरुले उसको घरमा फोन गरिदिए। र, रमेशलाई नजिकैको मेडिकलमा पुर्याए।

केही बेरमा नै रमेशका बाबु मोटरसाइकल लिएर त्यहाँ पुगे। जे हुनु भैसक्यो भनेर उनले रमेशलाई हप्काएनन्। ठीक त्यसै बेला डाक्टरको पनि आगमन भयो।
 
घाउ सफा गर्दै डाक्टरले भने, “एक्सरे रिपोर्ट ठीक छ। भाँचिएको छैन। घाउ त्यति गहिरो पनि छैन। टाँका लगाउनु पर्दैन। तर एउटा ब्यान्डेज चाहिँ गर्नु पर्छ। र, दिन बिराएर निको नहुन्जेल ड्रेसिंग पनि गरिरहनु पर्छ।”

सुनेर रमेशका बाबुले राहतको सास फेरे। 

डाक्टरले घाउमा केही मल्हम लगाए र ब्यान्डेज गर्न थाले। तर रमेशले डाक्टरलाई रोक्दै भन्यो, “ब्यान्डेज अर्को हातमा गरिदिनुहोस्, प्लिज।”

सुनेर त्यहाँ भएका सबै छक्क परे। 

डाक्टरले आश्चर्य मान्दै सोधे, “जुन हातमा घाउ छ, ब्याण्डेज त त्यसैमा गर्नु पर्छ। अर्को हातमा, जहाँ कुनै घाउ नै छैन त्यहाँ ब्यान्डेज गर्नुको के अर्थ रह्यो र बाबु ?”

“त्यही त, म पनि छक्क पर्छु यो केटाको कुरा सुनेर,” बाबुले आफ्नो असमन्जसता पोखे।”

रमेशले नम्र आवाजमा भन्यो, “कुरो त हजुरको ठिकै हो। तर मेरा स्कूलका साथीहरुलाई हजुरहरुले चिन्नु नै भएको छैन। उनीहरु जहाँ घाउ छ त्यहीँ अनेक बहानाले ठोक्काइदिन्छन्। त्यसो हुँदा घाउ निको हुन धेरै समय लाग्छ। अर्को हातमा ब्याण्डेज गरिदिनु भयो भने उनीहरुले ठोक्काए पनि मेरो घाउमा लाग्दैन र घाउ चाँडै निको हुन्छ। साथीहरुलाई झुक्याउन मलाई अर्को हातमा ब्याण्डेज गर्नु जरुरी छ।”

उसको परिपक्व र मार्मिक कुरा सुनेर त्यहाँ भएका सबै चकित परे। हुन पनि यो दुनियाँ यति जालिम छ कि कसैको चोटमा नै थप प्रहार गर्न र नूनचूक गर्न रुचाउँछ।

 

३, टिप्स

केही दशकअघि अमेरिकाको कुनै गाउँमा एउटा परिवार बस्थ्यो। 

उनीहरुको परिवार सानो थियो। बाबु, आमा अनि दुई सन्तान। बाबु जुत्ता सिउने काम गर्थे। आमा गृहिणी। सीमित आय थियो। तर पनि सबै राम्रैसँग चलिरहेको थियो।

पहिलो सन्तान छोरी थिइन्। दोस्रो छोरो। छोरी स्कूल जान थालिसकेकी थिइन्। छोरो काखैमा थियो।
 
यो कथा छोरी क्याथरिनको हो। उनको उमेर त्यस्तै तेह्र वर्षको थियो।

उनी असाध्यै राम्री थिइन्। अनुशाशित र मेहनती पनि। स्कूलमा उनलाई सबैले मन पराउँथे। हरेक सामान्य कुरालाई पनि उनी बडो गंभीरतापूर्वक मनन् गर्न मन पराउँथिन्।

स्कूलमा खाजा खान उनीसँग अरु जस्तो टन्न पैसा पनि हुँदैन थियो। उनलाई खाजा खाएपछि एउटा आइसक्रिम खान मन पर्थ्यो। तर पैसाले पुग्दैन थियो। क्यान्टिनमा उनी अरुले आइसक्रिम खाएको टुलुटुलु हेरिरहन्थिन्।

उनी आइसक्रिम खानलाई पैसा जोगाउँथिन्। अनावश्यक खर्च कटौती पनि गर्थिन्।

आइतवारको दिन थियो। स्कूल बिदा थियो। दिउँसो क्याथरिनले सटुक्क आइसक्रिम खान जाने विचार गरिन् र जम्मा गरेको चानचुने पैसा गनेर खल्तीमा हालिन्। घरभन्दा केही पर एउटा आइसक्रिम पार्लर थियो।

दिउँसो आमाको आँखा छलेर उनी आफ्नो सानो साइकल लिएर एकाएक बतासिइन्। आइसक्रिम पार्लरमा पुगेर उनले सोधिन् :

“त्यो ठूलो कपको कति?”

“चौध सेन्ट।”

“अनि त्यो सानोको ?” 

“दश सेन्ट।”

“कृपया सानो कप दिनुहोस् त।” 

आइसक्रिम पार्लरकी फरासिली युवतीले क्याथरिनलाई सानो कप थमाइन्। क्याथरिनले खल्तीबाट चानचुने पैसा निकालेर गन्दै युवतीलाई बुझाइन्। अनि कप बोक्दै छेवैको टेवलमा गएर चिसोचिसो आइसक्रिमको मजा लिन थालिन्।

आइसक्रिम खाइसकेर उनी चुपचाप बाहिरिइन्।

पसलवाल्नी फरासिली युवती क्याथरिनले खाएर छाडेको कप डस्टबिनमा हाल्न लम्किइन्।

कप उचाल्दा छिन्द्रिङ्ग गर्यो। भित्र हेर्दा केही खुद्रा पैसा थिए। गनिन्। चार सेन्ट थिए। युवती छक्क परिन्। उनले पार्लरको ढोकातर्फ हेरेर ठूलो आवाजमा भनिन्, “धन्यवाद, सानी नानी।”

तर क्याथरिन त्यहाँबाट ओझेल भइसकेकी थिइन्।

क्याथरिनले चौध सेन्ट तिरेर ठूलो कपको आइसक्रिम खान पनि सक्थिन्। तर उनले अरुको बारेमा पनि सोचिन्। दश सेन्टको कप रोजेर उनले चार सेन्ट टिप्स दिइन्। लौ, अचम्म !

क्याथरिन एक सभ्य बच्ची थिइन्। 

*(नोट : कथा पढ्नु र अरुलाई न्यारेट गर्नु एक कला हो। कतै पढेसुनेका यी तीनवटा कथाहरुलाई मैले यहाँ पुनर्लेखन गरेको हुँ। यी प्रेरक कथाहरुले जीवन बदल्न सक्ने किमिया बोकेका छन्। जटिल बन्दै गएको मानव संवेदना र जीवनलाई यस्ता प्रेरक कथाहरुले केही न केही खुकुल्याउँछन् भन्ने यो लेखकको अभिप्राय हो। कृपया आफू पढ्नुहोस् र अरुलाई पनि सुनाउनुहोस्।) 
 


तीन कथा : समानुभूति, ब्यान्डेज र टिप्स को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट