PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पारसलाई 'बर्थ डे केक' ख्वाउँदै ओलीले भने : हाम्रा खेलाडी सुपर, हाम्रो देशै सुपर

पारसलाई 'बर्थ डे केक' ख्वाउँदै ओलीले भने : हाम्रा खेलाडी सुपर, हाम्रो देशै सुपर

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : सरकारले पूर्व घोषित कार्यक्रम अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नगदसहित सम्मान गर्दै आइसीसी वान डे वर्ल्ड कप क्वालिफायर खेल्न जाने टोलीलाई बिदाइ गरेको छ।

नामिबियामा भएको डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको नेपाली टोलीलाई गत सोमवार सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए। सोही अनुरुप शुक्रवार ओलीले १४ खेलाडी र प्रशिक्षकलाई ३-३ लाखको चेक प्रदान गरे। यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि यसअघि गरेको घोषणा अनुसार १-१ लाख थप नगद प्रदान गर्‍यो।

प्रधान मन्त्री ओलीले खेलाडीलाई सम्मान गर्दै यो सम्मानले थप सफलता हात पार्न सहयोग गर्ने बताए। 'यस सम्मानले आगामी दिनमा अन्य खेलाडीलाई प्रोत्साहन गर्नेछ। युवाहरुलाई प्रोत्साहन गर्नेछ। अहिले क्रिकेट अगाडि बढेको छ। हामी सफलताको क्रममा छौँ। खेलाडीलाई थप सफलताको लागि बधाइ र शुभकामना छ,' ओलीले भने। 

ओलीले सरकारले आफ्नो तर्फबाट खेल र खेलाडीलाई सधैं सहयोग गर्ने बताए। 'अहिले स्थिर र बहुमतको सरकार बनेको छ। सरकारको तर्फबाट खेल क्षेत्रलाई मद्धत गर्न र अगाडि बढाउन आफ्नो गक्षे अनुसार सहयोग गर्नेछ। अब सरकारले खेलको उन्नति र प्रगतिको लागि पनि काम गर्छ,' उनले भने। 

ओलीले नेपाल बुद्ध जन्मेको देश, प्राकृतिक सुन्दरताको देश र गौरवपूर्ण इतिहासको देश भएको उल्लेख गर्दै खेलाडीहरु 'सुपर' रहेको बताए। 'सुपर खेलाडी यहीँ हुन्छन्। यो सुपर हुन सक्ने देश हो। हाम्रा खेलाडीहरु यो बुझेर अगाडि बढेका छन्,' उनले भने। 

ओलीले शनिवार जिम्वावे जाने नेपाली टोलीलाई शुभकामना दिँदै भने, 'आत्मविश्वासका साथ खेल्नुस्। सफलताका साथ फर्कनुस्। उत्साह र धैर्यताका साथ खेल्नुस्।' 

यसैगरी राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटलाई आगामी दिनमा अगाडि बढाउन खेल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। 
'अहिले लगानी कम छ। अब आशा लागेको छ। पाँच वर्षको स्थाथी सरकार बनेको छ। प्रधान मन्त्रीले पनि वचन दिनुभएको छ। आशा गरौं अबको ५ वर्षमा फुटबलको र क्रिकेटको स्टेडियम बन्नेछ,' पारसले भने, 'हामी यो जितेर दिने खुशी बारम्वार दोहोर्‍याउन चाहन्छौं।'


ट्रेन्डिङ पोस्ट

Ncell