PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भूपू माननीयको गुनासो : 'लोगोमा राष्ट्रिय झण्डा भएन, तक्मा पनि पाइएन'



बीपी साह

भूपू माननीयको गुनासो : 'लोगोमा राष्ट्रिय झण्डा भएन, तक्मा पनि पाइएन'

काठमाडौं : संविधान बनाउन योगदान गरेको कदरस्वरुप संविधान सभाका सदस्यहरुलाई दिइने विशेष लोगोमा राष्ट्रिय झण्डा नै नभएको भन्दै संविधान सभा सदस्यहरुले आपत्ति जनाएका छन्। 
 
संविधान बनाए वापत जीवनभरी लगाउन मिल्ने विशेष खालको लोगोको व्यवस्था गर्ने तत्कालीन रुपान्तरित संसद बैठकले निर्णय गरेको थियो।

यसै अनुसार पहिलो र दोस्रो संविधान सभाका कूल ११ सय २४ सभासद्हरुका लागि लोगो तयार पारिएको छ जसमध्ये हालसम्म २ सय ९३ जनाले मात्र लोगो लगेका छन्।
 
संघीय संसद सचिवालयका जिन्सी शाखाका अधिकृत विनोदकुमार मालीका अनुसार फागुन १५ गतेदेखि लोगो वितरण गर्न सुरु गरिएको हो।

संविधान सभाका पूर्व सदस्य अनन्त पौडेललाई लोगोमा राष्ट्रिय झण्डा नभएकोमा चित्त बुझेको छैन। लोगोको दायाँ-बायाँ चन्द्र र सूर्य भने रहेको छ। 

त्यसैगरी संविधान सभा सदस्यहरुलाई राष्ट्रपतिद्वारा प्रदान गर्ने भनिएको ‘संविधान निर्माण पदक २०७२’ प्रदान नगरिएको भन्दै संविधान सभा सदस्यहरु असन्तुष्ट छन्।
 
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७३/७४ को बजेट वक्तव्यमा पदक दिने घोषणा गरेका थिए। तर पदक अहिलेसम्म प्रदान गरिएको छैन। यसबारे संसद सचिवालय पनि अनभिज्ञ छ।

पौडेलले पहिलोपोस्टसँग भने,‘ सरकारले बजेट भाषणबाटै घोषणा गरेको सम्मान पदक पनि दिइएको छैन।'

राज्य व्यवस्था समितिको बैठकबाट संविधान सभा सदस्यहरुलाई बहालवाला सांसदहरुको सरह ८ नम्बर मर्यादा क्रममा राख्ने निर्णय भएको  तर अहिलेको मर्यादाक्रममा १५ औं स्थानमा राखिएकोमा पनि पौडेल असन्तुष्ट छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell