PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जिल्ला-जिल्लाबाट सानेपामा हारको रिपोर्ट आउँदै: सांसदहरुको बैठक लगत्तै देउवाले डाके केन्द्रीय समिति



नेत्र तामाङ

जिल्ला-जिल्लाबाट सानेपामा हारको रिपोर्ट आउँदै: सांसदहरुको बैठक लगत्तै देउवाले डाके केन्द्रीय समिति

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको बैठककै भोलिपल्ट केन्द्रीय समितिको बैठक डाकेका हुन्।

कांग्रेसले शनिबार सांसदहरुको बैठक बोलाएको छ भने आइतबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

'कांग्रेस केन्द्रीय समितिको बैठक १३ गते बिहान ९ बजे केन्द्रीय कार्यालयमा बस्नेछ। प्रतिनिधिसभा र रास्ट्रियसभामा प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरुको पहिलो संयुक्त बैठक, संसदीय दलको कार्यालय सिंहदरबारमा १२ गते बिहान ९ बजे बस्नेछ,' कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

कांग्रेसमा नेतृत्व परिवर्तन र निर्वाचनको हारको समीक्षा हुनुपर्ने भन्दै केन्द्रीय समितिका नेताहरुले चर्को माग गरिरहेकै बेला देउवाले फेरि केन्द्रीय समिति डाकेका हुन्। निर्वाचनपछि एकपटकमात्र केन्द्रीय समितिको बैठक बसेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा माघ ४ मा बसेको उक्त बैठकमा हारको समीक्षा भएको थिएन।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले हारको गम्भीर समीक्षा गर्नुपर्ने भन्दै जिल्ला, गाउँ र नगरका ईकाइहरुलाई एक महिनाभित्र निर्वाचन हारको रिपोर्ट बुझाउन निर्देशन दिएका थिए।

सभापति देउवाले निर्देशन दिएको एक महिना पुरा भइसकेको छ।

हारको रिपोर्ट आइपुग्यो कि आइपुगेन त सानेपामा?

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यस्तो रिपोर्ट आउने क्रम जारी रहेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
'निर्वाचनमा कहाँ के भए भन्ने रिपोर्ट विभिन्न जिल्लाबाट आउने क्रम जारी छ। सबै ठाउँको भने आइपुगिसकेको छैन,' मुख्य सचिव पौडेलले भने।

केन्द्रीय समितिमा यी रिपोर्टमाथि छलफल हुने उनले जानकारी दिए।

त्यसैगरी केन्द्रीय समितिका सदस्यहरुले महासमितिकको बैठकसमेत माग गरिरहेका छन्। यसबारेमा भने पार्टीले कांग्रेसले कुनै निर्णय गरेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell