PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नागरिकता लिएर आउन सांसदलाई सूचना



पहिलोपोस्ट

नागरिकता लिएर आउन सांसदलाई सूचना

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधि र राष्ट्रिय सभाका सांसदहरुका लागि बुधवार दुईवटा सूचना जारी गरेको छ। नागरिकतासहित उपस्थित हुन संसद सचिवालयले सांसदहरुका नाममा सूचना जारी गरेको हो।
 
एउटा सूचनामा संघीय संसदका सदस्यहरुलाई संसदको अधिवेशन आह्वान गरिएको जानकारी गराउँदै सहभागी हुन अनुरोध गरिएको छ भने
अर्को सूचनामा शपथ ग्रहणमा सहभागी हुन अनुरोध गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते दिउँसो चार बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन्। त्यसको एक दिनअघि २० गते दिउँसो ४ बजे प्रतिनिधि सभाका सदस्य तथा ५ बजे राष्ट्रिय सभाका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम रहेको सचिवालयले सूचनामा जनाएको छ।

नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद बैठक हुन लागेको हो। 

शपथ ग्रहणमा आउँदा के के ल्याउनु पर्ने?

सचिवालयले जनाए अनुसार शपथ ग्रहणभन्दा एक घण्टा अगाडि संघीय संसदका सदस्यहरु बैठक स्थलमा पुग्नुपर्ने हुन्छ। साथमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि र राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र एवं नागरिकताको प्रमाणपत्रसहित उपस्थित हुनुपर्नेछ।
 

पोशाक र शपथ ग्रहणको भाषा

संसद सचिवालयले प्रतिनिधि तथा राष्ट्रिय सभाका सदस्यहरुलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा सहभागी हुन अनुरोध गरेको छ।

त्यस्तै कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित तीन दिन अगावै सचिवालयलाई बुझाउनु पर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell