PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेविसंघ अध्यक्ष महरले भने: हामी प्रधानमन्त्री ओलीको छातीमा ढ्याङ्ग्रो ठटाउँछौ



पहिलोपोस्ट

नेविसंघ अध्यक्ष महरले भने: हामी प्रधानमन्त्री ओलीको छातीमा ढ्याङ्ग्रो ठटाउँछौ

काठमाडौं: नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सरकारले मनोनित गरेको राष्ट्रिय सभा सदस्य असंवैधानिक भएको बताएको छ।

आज भृकुटीमण्डपबाट जुलुश निकालेर रत्नपार्कमा कोणसभा गर्दै नेविसंघले सरकारले कानुनको धज्जी उडाएको आरोपसमेत लगाए।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले कांग्रेसका तीन जना नेता राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले उक्त निर्णय उल्टाएको छ।

नयाँ सरकारले सिफारिस गरेका तीन जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै मनोनित गरिसकेकी छन्।

सोही कदमको विरोध गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले भने, ‘यो सरकारले नेपालको संविधानको धज्जी उडायो। हामी सरकारको विरोधी होइनौ। सरकारको कदमको विरोधी हौं।’

यो सरकार तानाशाही देखिएको भन्दै महरले थपे, ‘हामी यस्तो निरंकुशतासँग लडेर आएको पार्टीको संगठन हो। केपी ओलीको छातीमा ढ्याङ्ग्रो ठटाएर भएपनि यो निर्णय फिर्ता गराउँछौं।’ सभामा नेविसंघका नेता आनन्दराज त्रिपाठीलगायतले भनाइ राख्दै सरकारको कदमको विरोध गरेको छ।

आजै दिउँसो नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरी सरकारको कदमको विरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell