PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

झलनाथ खनालका छोराका कारण संकटमा गौतम बुद्ध विमानस्थल



वसन्तराज उप्रेती

झलनाथ खनालका छोराका कारण संकटमा गौतम बुद्ध विमानस्थल

काठमाडौं : डिसेम्बर १९, २०१७ मा एसियाली विकास बैंक (एडिबी)का नेपालस्थित आवासीय मिसन प्रमुख मुख्तोर खामुदखानोभले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमको नाममा एउटा पत्र पठाए।

दुई पाना लामो पत्रको आशय थियो - अहिलेकै प्रगतिको अवस्था कायम रहे गौतम बुद्ध विमानस्थल निमार्णका लागि थप ऋण लगानी गर्न सकिँदैन।

खामुदखानोभले लेखेका छन्, 'नोभेम्बर १ देखि १५ सम्ममा आयोजनाले ४ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखिएकोमा जम्मा ०.५ प्रतिशत र नोभेम्बरमा ६.५ प्रतिशत प्रगति गर्ने लक्ष्य राखिएकोमा जम्मा ०.९ प्रतिशत मात्रै प्रगति हासिल भएको छ।'

यस्तै उनले थपेका छन्, '२०१७ को अप्रिलदेखि डिसेम्बरसम्ममा ५.३ प्रतिशत प्रगति देखिएको छ, यो अवधिमा ४९ प्रतिशत प्रगतिको लक्ष्य राखिएको थियो। यस्तो अवस्थामा डिसेम्बरसम्ममा प्रगति सन्तोषजनक नभए थप ऋण दिन सक्ने अवस्था रहँदैन।' 

मुख्य दाता एडिबीले  यस्तो चेतावनी दिएसँगै गौतम बुद्ध विमानस्थल निर्माणको काम कसरी अघि बढ्छ भन्ने अन्यौल देखिएको छ।

यो बीचमा आयोजनाका लागि दिइएको ऋण सहयोगलाई निरन्तर गर्ने वा नगर्ने भन्ने विषयमा एडिबीले आगामी साता निर्णय गर्ने तयारी गरेको छ। शुक्रबार हुने समीक्षा बैठकपछि एडिबीले ऋण निरन्तर गर्ने वा नगर्ने निर्णय लिनेछ। एडिबीसम्बद्ध स्रोतका अनुसार फेब्रुअरी अन्तिमसम्मको प्रगतिका आधारमा एडिबीले आगामी साताको अन्त्यमा यसबारे अन्तिम निर्णय लिनेछ।

कहाँबाट सुरु भयो समस्या ?

आयोजनाको सब कन्ट्राक्टर नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिले समयमा निर्माण सामग्री उपलब्ध नगराउँदा ढिलाई भयो। पूर्व प्रधानमन्त्री झलनाथ खनालका छोरा निर्भिकले सञ्चालन गरेको यो कम्पनीले समयमा आयोजनाका लागि आवश्यक निर्माण सामग्री उपलब्ध नगराएपछि एडिबीको सिफारिसमा ठेक्का तोडिएको थियो।

'अहिले आयोजनाको केही प्रगति भएको भन्ने जानकारी प्राप्त भएको छ,' एडिबीका एक अधिकारीले भने, 'यसबारे अर्को साता आवश्यक निर्णय हुन्छ।' निर्भिकको कम्पनीले आयोजनाका लागि आवश्यक गिट्टी, बालुवा लगायत निर्माण सामग्री आपूर्तिको जिम्मा लिएको थियो। त्यस बापत पैसा लिए पनि कबुल बमोजिम सामान उपलब्ध नगराएको चिनियाँ ठेकेदारले गुनासो गर्दै आएको थियो।

आयोजनाको प्रगति नेपाल नागरिक उड्डयन प्राधिकरणले मुख्य ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसन कन्सट्रक्सनलाई ६ पटक सुधारको सूचना (नोटिश टु करेक्सन) दिइसकेको छ। यद्यपि, गत डिसेम्बर अन्तिममा सक्ने लक्ष्यका साथ अघि बढाइएको आयोजनामा अहिलेसम्म आधा काम पनि सकिएको छैन।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले १ माघ २०७१ शिलान्यास गरेको विमानस्थलको अहिले धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, डोमेस्टिक भवन, प्रशासनिक भवन, टावर, फायर एन्ड रेस्क्यु भवन निर्माण भइरहेका छन् । आयोजनाको ठेक्का सम्झौता ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

काममा तीब्रता

एडीबीले सहयोग रोक्ने चेतावनी दिएपछि विमानस्थलको काम तीब्र रुपमा अघि बढाइएको छ।

आयोजना प्रमुख ओम नारायण शर्माका अनुसार अहिले ठेकेदारले विमानस्थल निर्माणको काम सन्तोषजनक छ। उनले भने, 'करौडौँको निर्माण सामाग्री थुपारिएका छन्। रनवेको सब बेस लेयर र बेस लेयरको काम जेठसम्म सकिने देखिएको छ।'

उनले असारपछि रनवे पिच हुन थाल्ने बताउँदै वर्षातअघि पिच बाहेकको रनवेको काम सबै सक्नेगरी काम अघि बढेको बताए।

उनका अनुसार चार महिनाभित्र टर्मिनल बिल्डिङको छाना छाउने काम बाहेकका निर्माण कार्य सकिनेछ। ‘घरका ढलान र वालका काम जुन सम्ममा सकिन्छ भने छाना छाउने काम थप चार महिनासम्म सकिनेछ,' शर्माले भने। उनले रनवे पिच गर्ने र टर्मिनल प्वाइन्टको छाना छाउने समय केही ढिला भएकोले ठेकेदारको म्याद थप्नुपर्ने बताए।

एडीबीले नदिए आफ्नै स्रोतमा

एडीबीले सहयोग रोके आफ्नै स्रोतमा विमानस्थल निर्माण गर्ने प्राधिकरणले जनाएको छ। ‘अहिलेसम्म एडीबीले सहयोग नरोक्ने जानकारी पाएका छौं,' स्रोतले भन्यो, 'यदि रोक्यो भने हामी आफ्नै स्रोतमा विमानस्थल निर्माण अघि बढाउँछौं।

७ सय ८७ विघामा यो विमानस्थल निर्माण भइरहेको छ। सात वर्ष अघि नेपाल सरकार र एसियाली विकास बैंकको सम्झौतामा कुल ८ अर्ब ५५ करोडको लगानीमा चीनको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको थियो।

एडीबीले नेपाल नागरिक उड्ययन प्राधिकरणलार्इ लेखेको पत्र :



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell