PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाजुराको बडीमालिकामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, पाँच घाइते



पहिलोपोस्ट

बाजुराको बडीमालिकामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, पाँच घाइते

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

जीप दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। घाइते हुनेमा बूढीनन्दा नगरपालिका–९ का सत्य माविका शिक्षक तथा नेपाल शिक्षक महासंघका अध्यक्ष जनकबहादुर शाही, गौमुल गाउँपालिका– ६ का गोरखबहादुर रोकाया, हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का खडक रोकाया, स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगरका २५ वर्षीय कर्णबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

घाइते भएकामध्ये स्वामीकार्तिक गाउँपालिका–५ जेराका सिंहबहादुर शाही र हुम्ला जिल्ला श्रीनगर गाउँपालिकाका कर्णबहादुर रोकायाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वलीले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अछामको बयलपाटा रिफर गरिएको प्रहरीले जनाएको छ। रिफर गरिएकामध्येको टाउकोमा चोट लागेको छ।

कोल्टीबाट मार्तडी आउँदै गरेको से १ ज ९४० नं को जीप जिल्ला स्वास्थ्य कार्यालयको परिसरबाट ५० मिटर तल साँफे–मार्तडी राजमार्गमा खसेको प्रहरीको भनाइ छ। गाडी चालक भने फरार रहेको प्रहरीले बताएको छ। चालकको खोजी कार्य भइरहेको वलीले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell