PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुस्ती होइन, क्रिकेट खेल्न जाने हो, जितेर आउनुस् : प्रधानमन्त्री ओली

कुस्ती होइन, क्रिकेट खेल्न जाने हो, जितेर आउनुस् : प्रधानमन्त्री ओली

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन टू को उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायरमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल सरकारले सोमबार सम्मान गरेको छ। प्रधानमन्त्री ओलीले खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमा खादा लगाएर सम्मान गरेका हुन्।

कप्तान पारस खड्कासहित दीलिप नाथ, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह र ललित भण्डारी तथा प्रशिक्षक जगत टमाटा, म्यानेजर रमन विशवाकोटी र फिजियो दिनेश भट्ट कार्यक्रममा उपस्थित थिए। अन्य खेलाडी अहिले काठमाडौंमा नरहेका कारण उपस्थित हुन सकेनन्।

खेलाडीलाई सम्मान गरेपछि प्रधानमन्त्री ओलीले राम्रो टिमलाई जितेर खेलाडीले देशको गौरव बढाएको बताए। 'नेपालीहरु इतिहास देखि नै बहादुर जाति हो। देश बचाउँदा तोपसँग खुकुरीले लडेर जितेको हो। अहिले क्रिकेटमा पनि राम्रो टिमलाई जितेर गौरव बढाएको छ। म तपाईँहरुलाई प्रशंसा गर्न चाहन्छु।' ओलीले भने। 'तपाईँहरुले आगामी दिनमा अहिलेको सफलतामा चित्त बुझाएर हुँदैन अझै सफलता हात पार्नुस्। सरकारकोतर्फबाट सम्भव भएसम्म सहयोग गर्ने वाचा गर्दछु।'

ओलीले नामिबियामा उपविजेता बन्दै वर्ल्ड कप क्वालिफायर खेल्ने नेपाली टोलीका खेलाडीलाई ३-३ लाख प्रदान गर्ने घोषणा समेत गरे।

ओलीले क्रिकेटलाई मात्र नभएर समग्र खेलकुदलाई विकास गर्नुपर्ने राजनीतिक करण अन्त्य गर्नुपर्ने जोड दिए। 'क्रिकेटको यस टिममात्र नभएर क्रिकेट खेल, अझ नेपालको खेलकुदलाई अगाडी लैजान चाहन्छौँ र त्यसका लागि सरकारले हरसम्भव प्रयास र प्रयत्न गर्नेछ।'

यसैगरी ओलीले जिम्बाबेमा वर्ल्डकप क्वालिफायर खेल्न जाँदा कुस्ती खेल्ने नभई क्रिकेट खेल्न जाने त्यसैले कसैसँग डराउनु नपर्ने भन्दै व्यङग्यात्मक शैलीमा भने। 'जिम्बाबे हरारेमा तपाईँहरुले ठूला मान्छे देख्नुहोला डराउनुपर्दैन, तपाईँहरु क्रिकेट खेल्न जाने हो कुस्ती खेल्न जाने होइन। आत्तिनुपर्दैन। नआत्तिकन क्रिकेट खेलेर जितेर आउनुस् मेरो शुभकामना।'

यस्तै कप्तान पारसले नेपाली क्रिकेट अहिले आइसीसीको निलम्वनमा रहेको प्रधानमन्त्रीलाई जानकारी गराउँदै चाँडो समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताएका थिए। उक्त प्रसंगमा प्रधानमन्त्री ओलीले अभिभावक संस्था भए र विवादमा लाग्नु नहुने र खेलमा ध्यान दिनुपर्ने बताए।

'यसमा सरकार र मन्त्रालयले ध्यान दिनेछ। क्रिकेट संघ क्रिकेट संघ नभई राजनीतिक संघ बनाउने प्रवृत्तिले गर्दा खेलको विकास हुँदैन। अब खेल क्षेत्रमा राजनीति हुनु हुँदैन। विवादले समस्या समाधान हुँदैन। कहिले ओलम्पिक कमिटी विवाद, कहिले क्रिकेट संघ विवाद। दुनियाँ हसाँउने काम अब बन्द गर्नुपर्छ।'

अबको सरकारको ध्यान विवाद समाधान गर्नेमा हुनेछ र खेलकुदको विकास गर्नुपर्छ।

उनले खेलकुदमा हावी भएको नातावादमा समेत व्यङ्ग गरे। 'खेलाडीले देशको लागि खेलेर जित्छ। कुनै आफनतले म्याराथन दौडेर हुँदैन। म्याराथन जित्न म्याराथन रनर नै चाहिन्छ।'

ओलीले यसअघि नगद सम्मान घोषणा गर्ने चलन मात्र भएपनि आफूहरुले घोषणा गरेबमोजिम आगामी शुक्रवार नै नगद प्रदान गर्दै खेलाडीलाई विदाई गर्ने बताए।

राष्ट्रिय टिमका कप्तान पारस खड्काले डिभिजन टू मा राम्रो प्रदर्शन गरेपछि सबैले क्रिकेट टिममाथि आशा राखेको र वर्ल्डकप क्वालिफायरमा राम्रो गर्न प्रयास गर्न बताए।

'हामीले यसअघि यू-१९ वर्ल्ड कप र टी-२० वर्ल्डकप खेलिसकेका छौँ। ५० ओभरमा पनि अवसर आएको छ। यहि जोश र जाँगर लाएर अगाडी बढे एकदिन अवश्य विश्वकपमा पुगिन्छ,' खड्काले भने, 'जिम्बाबेमा हुने वर्ल्डकप क्वालिफायरमा पनि राम्रो खेल्न सक्दो प्रयास गर्नेछौँ।'

नेपाली टोली आगामी शनिबार जिम्बाबे जाँदैछ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell