PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई आयो उत्तर कोरियाबाट बधाई : 'राजनीतिक स्थिरता राख्न सफल हुनुस्'



प्रधानमन्त्री ओलीलाई आयो उत्तर कोरियाबाट बधाई : 'राजनीतिक स्थिरता राख्न सफल हुनुस्'
उत्तर कोरियाली प्रधानमन्त्री पाक पोङ जु (बायाँ) र सर्वोच्च नेता किम जोङ उन। फोटो : telegraph.co.uk

काठमाडौँ : केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा देशविदेशबाट बधाई तथा शुभकामना सन्देश आउने क्रम जारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यरातमै ‌समकक्षी ओलीलाई फोनमा बधाई दिएका थिए। 

चीन, पाकिस्तान र बंगलादेशबाट मात्र हैन उत्तर कोरियाबाट समेत ओलीलाई बधाई सन्देश प्राप्त भएको छ। 

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएका अनुसार त्यहाँका प्रधानमन्त्री पाक पोङ जुले शुक्रबारै प्रधानमन्त्री ओलीलाई बधाई सन्देश पठाएका हुन्। 

सन्देशमा दुई देशका जनताको आपसी हितका लागि दुई देशबीचको परम्परागत मैत्री र सहयोग निरन्तर कायम रहने विश्वास लिइएको छ। ओलीलाई राजनीतिक स्थिरता र आर्थिक विकासको जिम्मेवारीमा सफलता प्राप्त होस् भनी कामना पनि सन्देशमा गरिएको छ। 

पाक पोङ जु कोरियाको सत्तारुढ वर्कर्स पार्टीको सेन्ट्रल कमिटीका पोलिटिकल ब्युरोको अध्यक्ष मण्डलका सदस्य र उत्तर कोरियाको स्टेट अफेयर्स कमिसनका उपाध्यक्ष पनि हुन्। 

ओली झैँ पाक पनि दोस्रो पटक सन् २०१३ मा प्रधानमन्त्री नियुक्त गरिएका हुन्। पहिलो पटकको प्रधानमन्त्री कालमा पूँजीवादी शैलीमा तलब दिने प्रणाली ल्याएको आरोपमा उनलाई बर्खास्त गरिएको थियो। 

उत्तर कोरियाका प्रधानमन्त्रीमा कार्यकारी अधिकार हुँदैन तर सरकार प्रमुख उनै हुन्। समकक्षीका हैसियतमा ओलीलाई पाकले बधाई सन्देश पठाएका हुन्। 

सन् १९४८ को उत्तर कोरियाको संविधानमा प्रधानमन्त्री पद निकै शक्तिशाली थियो र कार्यकारी अधिकारसमेत थियो। किम इल सुङ आफै सन् १९७२ सम्म २४ वर्ष प्रधानमन्त्री थिए। सन् १९७२ को संविधानले उत्तर कोरियामा राष्ट्रपति पद जन्माई सबै शक्ति त्यहीँ सारेको थियो। 

अहिले त्यहाँका प्रधानमन्त्रीको काम वर्कर्स पार्टीको केन्द्रीय कमिटीले पारित गरेका नीतिहरु कार्यान्वयन गर्ने हो। प्रधानमन्त्री कार्यालयसँग नीति बनाउने अधिकार हुँदैन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell