PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


पुस्तक अंश : जीवन समग्रतासँग जिउने कला


पुस्तक अंश : जीवन समग्रतासँग जिउने कला

  • डा नम्रता पाण्डे/डा. प्रद्युम्नराज पाण्डे
दिनमा सबैभन्दा सजिलो चिज छ भने त्यो होला अरूलाई दिने अर्ति र उपदेश । हामीले देखेको विश्वमा धेरै परिवर्तन आइसक्यो तर हामीले दिने सुझाव र सल्लाहमा परिवर्तन आएको छैन । जुन आफूले पालना गर्न गाह्रो हुन्छ तर दिन सजिलो हुन्छ । त्यसैले होला महात्मा गान्धीको एउटा सुन्दर भनाइले हामीलाई बार–बार याद दिलाउँछ, ‘संसार सुध्रिएजस्तो देख्न चाहन्छौ, त्यो आफैंबाट शुरु गर ।’ यसको अर्थ जीवनलाई परमात्माको र अस्तित्वको उपहार मानेर उत्सवपूर्ण जीवन जिउन छोडी, जीवनलाई एउटा आकांक्षामा राख्ने र जीवनलाई सधैं अभाव र अपूर्ण ठान्ने मानिसप्रति सिधा सूत्र हो महात्मा गान्धीको । जीवनका सफलताका सूत्रहरू, धन कसरी कमाउने, असल नेतृत्व कसरी लिने, शान्ति र सुखी कसरी बन्ने, शरीर स्वस्थ कसरी राख्ने आदि आदि अरूले लेखेका किताब पढेर त्यस्तै बन्ने कोसिस गर्छौं हामी, हामीले आफूलाई बाहेक अरू कसैलाई बदल्न सक्दैनौं, आफूबाहेक कसैलाई प्रेरित र रूपान्तरण गर्न पनि सक्दैनौं तर हाम्रो जीवनको एक चौथाइ समय सारा व्यक्तिहरू र अरूलाई नै बदल्नमा व्यथित गरिरहेका हुन्छौं । श्रीमती श्रीमान्लाई बदल्नमा लागिपरेकी हुन्छिन् भने, श्रीमान्÷श्रीमतीलाई बदल्ने चेष्टा जीवनभरि गरिरहन्छन् । त्यस्तै, आमाबुबाले छोरा छोरीलाई, प्रेमीले प्रेमिकालाई एवं प्रमिकाले प्रेमिकालाई। राजनीति त अरूलाई बदल्ने प्रयासको व्यावहारिक रूप हो । राजनीतिको मर्म नै अरूमा दोष देख्नु र उसलाई बदल्ने प्रयास गर्नुमा छ । त्यसैकारणले त राजनीति कहिल्यै पनि जीवन विकासको उचित मार्ग बन्न सकेको पाइँदैन ।

चाणक्यले भन्नुभएजस्तै ‘परमात्मा चित्रमा होइन चरित्रमा बसेको हुन्छ’, त्यसैले आफ्नै आत्मालाई मन्दिर बनाउने चरित्र निर्माण स्वयंले गर्नु जरुरी छ । हामी बाहिर देख्दा जति सुन्दर छौँ, जति सुन्दर पहिरन र सुन्दर पद, सम्पत्ति प्राप्त गरे पनि भित्रको चरित्र कस्तो छ स्वयंलाई मात्र थाहा हुन्छ । स्वयंको त्यो चरित्र थाहा पाउन पनि आफ्नै किताब आफैंले पढ्नु जरुरी हुन्छ । हामी चित्र परिवर्तन गर्न लागि पर्छौं तर चरित्र परिवर्तन गर्न भुल्छौँ । ती किताबका पाना जसमा हाम्रा चरित्रहरूले कुन–कुन ठाउँमा कस्ता भूमिका निभाए र हाम्रै चरित्रको कारण कस्ता–कस्ता असल या खराब कर्म गर्न हामीले स्वयंलाई प्रेरित ग¥याँैं ? एकपटक आँखा चिम्लेर आफैले आफैलाई प्रश्न गर्‍यौँ भने थाहा लाग्छ जुन चरित्रको प्रस्तुत नगर्दा पनि बेश हुन्थ्यो तर हामीले गरिसक्यौंँ, केही धैर्यता र कुशलता अनि होशपूर्ण अवस्था अपनाएर द्वैध चरित्रको प्रस्तुति नदिएको भए त्यो कर्मले मलाई पश्चात्तापमा लग्ने थिएन कि भन्ने विगतका कर्मप्रतिको परिणामले वर्तमानमा पिरोलेको पाइन्छ ।

कुछ लोग जमा है मन्दिर में ,कुछ लोग जामा मयखाने में 
कुछ उलझ गए है पूजा में ,कुछ उलझ गए पैमाने में 
मन्दिर जाओ या मयखाना ,जीवन रहजाता अनजाना 
अथ बोध शरण गच्छामी,भज ओशो शरण गच्छामी
–सद्गुरु ओशो सिद्धार्थ

जुन दिन हाम्रो सोचाइ महान् हुन्छ त्यही दिनदेखि महान् व्यक्तिको सँगत आफूसँग रहेको अनुभूति हुन थाल्छ । सोचले आफूलाई महान् बनाएको अनुभूति हुन सके मात्र बाहिरी भौतिकताले पनि महानताको अनुभूति मिल्छ । अन्यथा के चिज प्राप्त ग¥यो भने व्यक्ति महान् हुन्छ भन्ने भौतिक सम्पन्नताको मापदण्ड अझैसम्म भेटिएको पाइँदैन । राजनीतिमा सफल उच्च ओहोदामा पुगेको व्यक्ति होस् या भौतिक सम्पत्ति र व्यापार व्यवसायमा सम्पन्नता हासिल गरेको व्यक्ति होस्, धार्मिक गुरु भएर ख्याति बटुलेको व्यक्ति होस् या राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरको नोकरी गरेर बाहिरी प्रसन्नता हासिल गरेको व्यक्ति होस् भित्रबाट सन्तुष्ट छैन भने उसले आर्जन गरेका सबै समृद्धि उसलाई नै कौडी बराबरको खोक्रो लाग्ने गरेको पाइएको छ । एन–मौकामा विशिष्ट व्यक्ति पनि जीवनभरको मरिमेटी भौतिक सम्पन्नताले खाली, खोक्रो र पछुताउमा लगेको व्यक्त गर्छन् । उनीहरूका आफ्नै किताबका पानाले यी बताइरहेका हुन् । जीवनमा महान् बन्ने उद्देश्यले मानिस बन्न भूलेका त छैनौँ हामी ? आफैंले आफैंलाई गर्ने प्रश्न हो यो । एक मिनेटले जीवन बदलिन सक्दैन तर एक मिनेट सोचेर लिएको निर्णयले पूरा जीवन बदल्न सक्छ । हतारको निर्णय र फुर्सदको पछुतावले कुनै शान्ति मिल्नेवाला छैन ।

 एउटा फक्रेको फूल देख्नासाथ त्यसको सुन्दरताले हामीलाई आकर्षित गर्छ । त्यसको रंग र सुन्दरताले खिचेर एकछिन एक सेकेन्डका लागि हामी आफूलाई सुन्दर फूल नै अनुभूति गर्छाँैं । हामीले झट्ट देख्ने त्यो बाहिरी सुन्दरताले त हामीलाई आकर्षित गर्छ भने त्यसको नदेखिने लुकेको पक्ष वासना (सुगन्ध) गहिराइमा गएर मात्र अनुभूति गर्न सकिन्छ । एकक्षण आकर्षण गर्ने सुगन्ध र यसभित्र सुगन्ध छ भन्ने बोध गर्न सक्नु विल्कुल फरक कुरा हुन् । जीवनलाई पनि बाहिरी झट्ट देख्दा गरिने मूल्यांकन र गहिराइमा जीवनको रस, जिउनु, हुनुको बोध गर्नु र जीवन लयमा रमाउन सक्नु नै समग्रतामा जीवन जिउने कला जान्नु हो । हामीले जीवनप्रति लगाउने बाहिरी अर्थभन्दा लयबद्ध र सन्तुलित छ जीवन । कुनै एक चिजमा सफलता देख्नु र त्यसका लागि मरिमेट्नुभन्दा पनि जीवनका सबै पक्ष –धन, परिवार, प्रेम, सम्बन्ध, नोकरी, अध्यात्म, शान्ति र आनन्द सँगसँगै प्राप्त गर्न सक्नु नै समग्रतामा जीवनको अर्थ खुल्छ । एउटा कुरा प्राप्त ग¥यो अर्को बिग्रिरहेको छ भने त्यो सफलताले सुख दिँदैन भने एकपछि अर्को गर्दै खोजिने सफलता पनि मृगतृष्णा सरह हुन्छन् जसले कहिल्यै पूर्णता दिँदैनन् ।

हाम्रो समाज, राष्ट्र, अन्तर्राष्ट्रिय स्तरमा र स्वयं घरमा सोध्ने र उनीहरूलाई भित्रबाट बुझ्न कोसिस गर्ने हो भने सबैले जीवनलाई दूःख भनेर परिभाषा गर्ने र जीवनमा पाउनुपर्ने थुप्रै कुरा बाँकी रहेको, जीवन अझै संघर्षमै गुज्रिरहेको र अरूलेजति आफूले अझै अर्थात् सुगन्ध जुन देखिँदैन तर अनुभूति सफलता हासिल नगरिसकेको गुनासो र आफ्नै जीवनप्रति गर्न सकिन्छ । सामान्य मानिस सिकायतले भरिएको पाइन्छ । मानिस बहिर्मुखी मात्रै हुने, पाएको सफलता र सुन्दर जीवन, सुन्दर परिवार, आफू र आफ्नो परिवारलाई जाउलो खान पुग्ने नोकरी र कमाइ, मिहिनेत अनुसारको शिक्षा, पद, गाडी, बंगला आदि÷आदि जति पनि भौतिक सफलता छन् त्यसप्रति चित्त नबुझ्ने र जीवन नै अभाव र अपूर्णतामा बितिरहेको अनुभव सुनाउनेहरूको कमी हुँदैन । हामी यति बहिर्मुखी हुनुमा आनन्द र केही प्राप्त गरेजस्तो अनुभव गर्छौंँ आफूभित्र हेर्ने र आफ्नो किताब पढ्ने फुर्सद कहिल्यै भेट्दैनौंँ । त्यही अन्तर्मुखी हुने कला नजान्दा नै जीवनलाई आकांक्षाको विशेषण दिन पुगेका छौं । साथीभाइसँग सन्चो÷बिसन्चो हालखबर सोध्दै जाँदा कुरा निस्कन्छन् आजकल मैले जीवनमा कसरी आनन्द प्राप्त गर्ने भनेर फलानाको किताब पढ्दै छु । जीवनलाई कसरी तनावरहित बनाउने भनेर फलानाको किताब पढ्दै छु । अन्तर्मुखी हुने कला आत्मरूपान्तरणको विज्ञान हो भने राजनीति अरूलाई वदल्ने दुष्प्रयासको एउटा नाम हो भन्दा अनुपयुक्त नहोला । अरूलाई वदल्ने कोशिसबाट नै अरूलाई होच्याउने, अरूमा दोष देख्ने, अरूमाथि विजय हासिल गर्ने खेलको शुरुवात हुन्छ । शोषण, दमन, कलह, वैमनश्य एवं अहंकारका सारा खेलहरू अरूलाई सुधार्ने प्रयासका नतिजा हुन् ।

शान्ति, प्रीति, भक्ति, मुक्ति, आनन्द, सुख र उमंग हामीभित्र छ । यिनीहरू सबैको अभाव नै दूःख, अशान्ति र सिकायत हो । त्यसैले बहिर्मुखी स्वभावको सामान्य मानिसले बाहिरी सम्पन्नता गुमाउन चाहदैन भने अन्तर्मुखी, चेतना जागरण भएको मानिसले भित्रको सम्पन्नता गुमाउन चाहँदैन । यही भित्री बोधको, भित्री ज्ञानको, भित्रको दृष्टिको, सहि दृष्टिको ज्ञान हुनु महत्वपूर्ण पक्ष रहेछ जुन हरेक व्यक्तिले जन्मदै साथमै लिएर आएको छ । आफूभित्र नियाल्नासाथ आफ्नो किताबका पाना पल्टाउनासाथ सही दृष्टि खुल्छ जसले बाहिरको सृष्टि पनि सुन्दर देख्न थाल्छ ।

प्रेमको सन्देश फैलाएर, पूर्ण मानिस भएर, भित्री र बाहिरी दुवै आयामबाट समृद्ध भई पूर्णताको जीवन जिउन सक्नु नै मानिसको विकास र सफल जीवनको मापन रहेछ । एउटा कहानी सुनेका थियौंँ –एक जना वृद्ध मानिस सधैं आफ्नो जीवनदेखि दिक्क र असन्तुष्ट भएर एक जना मनौवैज्ञानिककोमा गएछन् । मनौवैज्ञानिकले वृद्ध मानिसलाई आफ्ना सारा समस्या बताउन अनुरोध गरेछन् । उनले एक÷एक गर्दै आफ्ना समस्या बताउन थालेछन् । उनका समस्या अनेकांै थिए, अशान्ति, बेचैनी, तनाव, निराशा, असफलता, आदि आदि । उनको कुरा पूरै सुनेपछि ती मनोवैज्ञानिकले कलम र कागज दिदै बृद्ध मानिसलाई भने – तपार्ईंंको जीवन सुधार्न को–को सुध्रिनुपर्ला ? ती वृद्ध मानिसले केही बेरमै करिब ५० जना व्यक्तिको नामावली तयार पारे । मनोवैज्ञानिकले त्यो कागज हेर्दै सोधे ‘तपार्ईंंको नामचाहिं खोइ ?’ पाठक वृन्द, यो कहानी अरू कसैको होइन, तपार्ईंं–हाम्रै हो । ती वृद्ध व्यक्तिले केवल ५० जनाको नाम लेखे सुध्रिनुपर्ने सूचीमा, हामीलाई यो अवसर दिने हो भने आफूबाहेक सबै चिनेका तथा नचिनेका व्यक्तिको नाम लेख्ने थियौं सुध्रिनुपर्ने सूचीमा । मानिसको आधारभूत समस्या नै यही हो । हामीलाई लाग्छ कि सारा समस्या अरू व्यक्तिको कारणले भएका हुन् र अरू व्यक्ति सुधिए हाम्रो जीवन खुसी, सुखी एवं सम्पन्न हुने थियो । सिकायत, असन्तोष र दूःखको प्रारम्भिक कारण नै यही हो र मनुष्यको विनाश पनि यहीँबाट शुरु हुन्छ । अरूमा समस्या देख्ने बानीको दुईवटा परिणामा हुन्छन् ः एक, आफ्नो समस्याबाट दृष्टि पर हट्छ र दुई, अरूलाई परिवर्तन गर्ने दुष्प्रयास शुरु हुन्छ । जीवनका महत्वपूर्ण सत्यमध्ये एक यो हो कि आफू स्वयंले नचाहेमा अरू कसैले पनि कसैलाई बिगार्न या सुधार्न सक्दैन । कसैको अर्ती र कसैको किताब पढ्दैमा आफूमा रूपान्तरण ल्याउन सकिँदैन । हाम्रो भित्री सत्तासम्म पुग्ने साँचो केवल हामीसँग मात्र छ, अन्य कसैसँग छैन । हामीभित्रको स्व–सत्ता निपट निजी र व्यक्तिगत अस्तित्व हो । यसकारणले, अरूलाई सुधार्न या बिगार्न खोज्नु एक असफल प्रयास मात्र हो । यो सम्पूर्ण जगतमा हामीले सचेतन रूपमा चाहेमा केवल एक व्यक्तिलाई सुधार्न सकिन्छ र त्यो हामी आफू नै हो । यसलाई अरू गहिराइमा गएर हेर्ने हो भने हाम्रा दैनिक व्यवहारबाट, हाम्रो बोलीचाली, हाम्रा कर्महरू र हाम्रा अपेक्षाको आधारबाट जीवनलाई उपहार या दूःख देख्ने आफैं थाहा लाग्छ । जन्मसँगै जीवन प्राप्त हुन्छ तर जीवन सुन्दर बनाउन विभिन्न सम्भावनालाई मूर्तरूप दिनुपर्ने हुन्छ । सुन्दर जीवनका सम्भावनालाई वास्तिकता दिन सके मात्र जीवनको फूल फक्रन्छ । आनन्द, सुगन्ध, वसन्त आउँछ र जीवन धन्य महसुस हुन्छ । यसका लागि हाम्रो जीवनप्रतिको हेराई अर्थात् दृष्टि सही हुनुपर्छ । जीवनमा समस्या र असन्तोष अनि सिकायत देख्ने बानीले र ती सिकायत अरूमा देख्ने बानीले हाम्रो दृष्टि समस्याको केन्द्र विन्दुबाट धेरै पर हट्छ । यदि समस्या कतै छ भने त्यो आफैंभित्र नै छ, र सारा जगत आफ्नो मनको प्रतिबिम्ब मात्र हो । एउटा पुरानो उक्ति छ – यथा दृष्टि तथा सृष्टि । हामीलाई सिनेमा हलमा सिनेमा हेर्दा लाग्छ नि सिनेमाको सारा कहानी पर्दामा लुकेको छ । तर, सम्पूर्ण कहानी पर्दामा नभएर प्रोजेक्टरमा लुकेको हुन्छ र त्यो प्रोजेक्टर हर कोही व्यक्ति अर्थात् हामीभित्रै छ । हाम्रो बहिर्मुखीको उदाहरण हो यो । जीवनमा सयौं सिनेमा हेरिन्छ तर साक्षीपूर्वक हेरिँदैन कति भुलक्कड छौं हामी । कसैले कथा बनाएर पात्रता जुटाएर प्रदर्शन गरेको सिनेमा वास्तविक मानेर हेर्छौं, हास्छौँ, रुन्छौँ, प्रतिक्रिया जनाउँछौं तर आफ्नै जीवनको कथा हामीले पढ्न बिर्सन्छौं । आफ्नै पात्रता र आफ्नै कहानीको मूल्यांकन गर्दैनौं । सिनेमाको प्रोजेक्टरजस्तै हामी भित्र, हाम्रो चेतनाको स्तरबाट हामीले जीवन जिउन भुलेका छौं ।

३ दशक देखिको नेपालको राजनीतिक अस्थिरता र उथलपुथल अनि राष्ट्रले भोगेका समस्या र त्यसलाई भोग्न बाध्य नेपाली जनताको एक मात्र कारण हो एकले अर्कोलाई गर्ने दोषारोपण र निजी स्वार्थ । चाहे त्यो व्यक्तिगत होस् या दलगत, नेतृत्व गणले सोच्न भ्याएको छैन वास्तवमै ऊ किन र के का लागि अस्थिरता बढाउने काम गरिरहेको छ र यसले व्यक्तिगत रूपमा उसलाई के फाइदा हुन्छ भनेर ? जीवन कति जिउनु छ ? के दिएर जानु छ ? के लिएर जानु छ ? कति भोग्नु छ र त्यस्ता कर्मले कति आनन्द र सन्तुष्टि दिन्छन् ? आफूभित्र नियालेर हेर्न भ्याएको छैन जसले आफूभित्र के छ त्यो देख्न सक्दैन, उसले मन्दिरभित्रै छिरे पनि के देख्ला ? आफूभित्र नहेर्ने र आफ्नो मूल्यांकन आफैं नगर्ने आदतको परिणाम हुन्छ–अरूमा समस्या देख्ने जसले गर्दा व्यक्ति स्वयं आफ्नो समस्याबाट दृष्टि पर हट्छ र अरूलाई परिवर्तन गर्ने दुष्प्रयास गरिरहन्छ । ओशोको लेख पढ्दै गर्दा एक ठाउँमा भन्नुभएको रहेछ चुनाव नगर । उहाँँको इशारा हो–कुनै पनि कुरालाई चुनावारा निक्र्याेल निकाल्दैमा त्यो सत्य र सही नहुन सक्छ । चुनाव एउटा गणित हो तर जीवन गणितको आधारमा जिउन थाल्यो भने हालत चुनावको परिणामजस्तै हुन्छ । प्राकृतिक रूपमा जन्मेको, हुर्केको, प्रेम पाएको, प्रेम दिन जानेको मानिसले गणितको सहारा लिएर जित हारमा जान खोज्नु प्राकृतिक होइन भन्नुहुन्छ उहाँँ । यो प्रसंग वास्तवमै सान्दर्भिक छ– अहिले सम्मका हाम्रा नेतृत्व हामीले नै चुनेर लिएका त हौँ अनि हाम्रै चुनाव सही निस्क्यो कि गलत त ?

जीवन र जगतमा भोग्दै आएका अनेकथरी चुनाव र शान्ति र स्थिरताका लागि चुनाव भन्दै कैयौं चुनाव भोगिसकेका जीवन र जनसमक्ष सद्गुरु ओशो भन्नुहुन्छ –‘कुनै चुनाव नगर । जीवन र जगत्लाई प्राकृतिक रूपमा चल्न देऊ । जीवन र जगत््लाई यसको समग्रतामा प्रस्फुटन हुन देऊ ।’ ओशो भन्नुहुन्छ –मानिसले जति प्रतिस्पर्धा गरेर चुनाव जिते पनि र शक्ति हत्याए पनि खुसी र आनन्दित हुन सक्दैन किनकि खुसी र आनन्द आफ्नै स्वभावमा रहँदा प्राप्त हुन्छ । आफंैलाई जान्नु र आफ्नै स्वभावमा रमाउनु अनि होश, ध्यान र प्रेमको मार्गमा चल्नु नै आनन्दको मार्ग हो । चुनाव जितेर पनि पुग्न चाहेको त्यहीँ र पु¥याउन चाहेको त्यहीं हो जहाँ सुख र आनन्दको अनुभूति मिलोस्। आफूलाई मिलोस र अरूलाई पनि मिलोस् । सन्तहरूका वाणी बुझ्न कठिन र राजनीतिलाई परिवर्तनको माध्यम मान्नेहरूले सजिलै विश्वास गर्न सक्दैनन् । तर, हामीले हाम्रै देशको इतिहास र विश्वको इतिहास हेर्दा पनि त्यो राष्ट्रको स्थिरता र शान्ति राजनीतिक या आर्थिक परिवर्तनले आएको भेटिँदैन बरु त्यस देशका राजनीतिक नेतृत्व र त्यहाका जनताहरूको मानवीय स्वभावमा आएको परिवर्तनले सबै किसिमका विकासमा मद्दत पुगेको उदाहरण भेटिन्छ । सच्चा राजनीतिले त मानवीय प्रसन्नता बढाउँछ । हाम्रो राजनीतिक परिपाटी र हाम्रा राजनेताले कतिसम्म जनतालाई प्रसन्न पार्ने काम गर्न सफल भए त आजसम्मको इतिहास हेर्दा ? व्रिस्टन चर्चिल भन्नुहुन्छ, ‘कुनै पनि राजनेतामा देशमा विकासका सकारात्मक परिवर्तन यो–यो कारणले यति समयमा हुन सक्छ भन्ने खुबी भएको हुनुपर्छ र बोलेको कुरा सम्भव हुन नसकेमा के–के कारणले असफल भइयो खुलाउन पनि सक्नुपर्छ । बोल्नमा हाम्रा राजनेता जति काविल छन् । विकास किन हुन सकेन, बाधक तत्व के, समाधानका उपाय के यिनले पत्तालगाउने र थाहा भएपनि खुलस्त गर्ने र त्यसअनुसार अगाडि बढ्ने हिम्मत गरेको कहिल्यै भेटिएन । किनकि त्यो हिम्मतका लागि निःस्वार्थ भाव आवश्यक हुन्छ । निःस्वार्थी राजनेताको अभाव नै आजको मुलुकको यो अवस्थाको कारण हो ।


हो कुनै पनि युगमा, कुनै पनि देशमा परिवर्तन ल्याउन क्रान्तिको जरुरी छ । तर, त्यो चुनावी क्रान्ति मत र मतान्तरको होइन ध्यान, होश र प्रेमजस्ता गुणले सु–सम्पन्न आध्यात्मिक क्रान्तिको जरुरी छ । किनकि ध्यान, होश र प्रेमबिना स्वयंको मनस्थिति परिवर्तन हुँदैन । मनस्थिति परिवर्तन नभएसम्म परिस्थिति सुध्रिनेवाला छैन । व्यक्तिले गर्ने राजनीति –उच्च तहको नीतिमा होश, प्रेम र ध्यानको जरुरत पर्दैन ? राजनीति आफँैंमा एउटा अस्तित्वगत चेतना हो जसको उद्देश्य सकारात्मक परिवर्तन, शान्ति र स्थिरता कायम गर्नु हो । तर बिडम्बना हामीले हाम्रो देशमा उल्टो गुणहरू सामना गरिरहेका छौँ । राजनीतिकै कारण दिन प्रतिदिन दूःख, कष्ट, अस्थिरता, अराजकता, अपराध र भ्रष्टाचार बढ्दै गएका छन् । कतिपय अवस्थामा त राजनेताबाट पाउने आश्वासन र झुटा बाचाले जनतामा स्वयंको स्व–सम्मान नष्ट भएको अनुभूति हुने गर्छ । राजनीति झुटको खेती भएर प्रस्तुत भएको छ । सीप, ज्ञान र दक्षता बिनाको राजनीतिले केही गर्न नसकिने पुष्टि नै भइसकेको छ किनकि सीप, ज्ञान र दक्षता त होश, प्रेम र ध्यानको प्रतिफल हो । चुनाव नजिकिँदै गर्दा हरेक राजनीतिक घोषणा पत्रमा उद्घोष भएका हुन्छन्–हामी यो गछौँ, त्यो गर्छौंँ, देशमा परिवर्तन ल्याउँछौँ । राजनीतिले धेरै परिवर्तन पनि ल्याएको छ तर भने अनुसार देखिएन । राजनीति अरूमा दोष देख्ने, अरूमाथि विजय हासिल गर्ने र अरूलाई बदल्ने प्रयासको विषय बनिरहेको छ । होश, प्रेम, ध्यान र जीवन रूपान्तरणको विषय समेटिन नसकेको कारण नै देश विकास र जीवन विकासको नयाँ आयाम बन्न सकेको छैन राजनीति । चुनाव हाम्रो जीवनका हरेक क्रियाकलापमा कहाँ छुटेका छन् र ? हाम्रो सम्बन्धमा, कुन सम्बन्धले फाइदा दिन्छ, कोसँग नजिकिनु ठीक छ, को आफ्ना लागि काम आउनेवाला छ चुनाव गरेरै सम्बन्ध अगाडि बढेको हुन्छ प्रत्येकको जीवनमा । हाम्रा कर्म, कुन कर्मले आत्मिक सन्तुष्टिभन्दा भौतिक सुख र भौतिक सम्पन्नता दिन्छ त्यही रोजेको भेटिन्छ । प्रेम कोसँग गर्ने, कसलाई गर्ने, मलाई के फाइदा हुन्छ त्यहीअनुसार चुनाव गरेर प्रेम गर्छ मानिस । विनाकारण, अकारण प्रेमको कला जानेकै छैन । प्रेमलाई जीवन जिउने कला र जीवन रूपान्तरणको माध्यम बनाउने कला सिक्नै बाँकी छ । हाम्रा सबै कर्म, सम्बन्ध र कलामा होश, ध्यान र प्रेमको सुगन्ध भएको भए चुनावको जरुरत किन पथ्र्याे र ? सत्यतामा जीवन जिउने र सत्यको मार्गमा हिँड्ने राजनेता देशले पाएको भए सकारात्मक परिवर्तन देखिन्थ्यो र चुनावको सार्थकता रहन्थ्यो होला ।

विडम्बना नै मान्नुपर्छ त्यो सौभाग्यशाली नेतृत्व पाउन सकेन राष्ट्रले जति चुनाव गरे पनि । जति दलगत विचारधारा र मान्यता बोकेर हिँडे पनि सन्तुष्ट र जनहितको काम गर्न नसकेकोमा पछुताउने नेतृत्वगणको कमी छैन । प्रकट गर्दैनन् बाहिर–भित्र सबैसँग त्यही अनुभूति छ किनकि जनताका लागि केही गर्न नसकेको र दलगत भाषण र आदर्श छाट्दै हिँडेको तथ्य आफैंसँग छ प्रत्येक नेतृत्व तहसँग । चुनाव मिति घोषणा हुनासाथ युवादेखि वृद्धसम्म अब के घोषणा पत्र लिएर, के आश्वासन लिएर जनतासामु मत माग्न आउने हुन् भन्ने बाटो हेरिरहेका छन् । तर, नोट र भोटमा बिक्ने गरेको हाम्रो नैतिकताले गर्दा नै असल र सही नेतृत्व चयन हुन सकेन त्यसकै परिणाम हो देशले आज भोगिरहेको स्थिति । हामीले जे कुरामा होश, प्रेम र ध्यान दियो त्यही प्राप्त हुने हो । हामीले कुनै दल, कुनै नेता र कुनै विचारधारालाई ध्यान दियौं । त्यसकै चुनाव ग¥यौं र त्यसलाई नै विकसित गरायौं । हामीले देश र जनता प्रति ध्यान नै दिएनौं, होश दिएनौं, प्रेम दिएनौं अनि विकास खोजेर कहाँ पाइन्छ ? निम रोपेर आँप फलाउने दुष्प्रयास हामी सबैले ग¥यौं त्यसकै परिणति भोगिरहेछौं । सबैले चाहेर नै चुनाव हुँदै छ । चुनावको नतिजा हाम्रै कारण प्राप्त हुन्छ त्यसैले अबको चुनाव भोट र नोटको मात्र होइन जीवन रूपान्तरण र देश रूपान्तरणको नाममा गर्न सके कति सान्दर्भिक हुन्थ्यो होला ?

अरूमा दोष देख्ने बानीले हाम्रो सारा जीवन–ऊर्जा बाहिरतिर बगिरहेको हुन्छ र अरूमा समस्याको खोजीमा ऊर्जा सिद्धिइरहेको हुन्छ । यसले आफ्नो समस्यालाई त जस्ताको तस्तै राख्छ नै पर केन्द्रित हुने अर्को समस्या पनि थपिन्छ । यस्तो व्यक्तिको जीवनबाट खुसीयाली, शान्ति, आनन्द टाढा रहन थाल्छन् र झगडालु, ईष्र्यालु एवं क्रोधी प्रवृत्तिको विकास हुन्छ । अरूमा समस्या देखेपछि अरूसँगै झगडा गर्नुको विकल्प रहँदैन । झगडाले नयाँ समस्या थपिन्छ र अरू झगडा गर्ने कारण सिर्जना हुन्छ ।

फर्केर हेर्ने हो भने जीवनको आधा समय हामीले अरूलाई परिवर्तित गर्ने प्रयास गरिरहेका छौं । यसले सकारात्मकभन्दा बढी नकारात्मक परिणाम सिर्जना गरिदिएको हुन्छ । अरूलाई सुधार्न खोज्नु सर्वप्रथम, ऊ तुच्छ एवं आत्मा नभएको भन्ने घोषणा गर्नु हो । यसमा आफ्नो अहंकारको तृप्तिबाहेक अन्य केही पनि हासिल हुन सक्दैन । हामी जति अरूलाई परिवर्तित गर्ने प्रयास गर्छौं, त्यति नै उसले स्व–सम्मान नष्ट भएको एवं उसको अस्मितामाथि नै प्रहार भएको अनुभव गर्न थाल्छ । उसको सहयोगविना अरूमाथि केही थोपर्ने प्रयास गर्नु सरासर अनैतिक पनि हो । यसरी एकातिर हामीले असम्भव प्रयास गरिरहेका हुन्छौं भने अर्काेतिर हामीले सुधार्न खोजेको व्यक्तिले उसको अहंकारमा चोट लागेको कारणले हामीप्रति नकरात्मकता एवं वैरभावको विकास गरेको हुन्छ । यसरी न आफूलाई कुनै लाभ हुन्छ, न अरूलाई नै ! सन्त कवीरको एउटा श्लोक छ–
 
बुरा खोजन मै चला, बुरा न मिलिया कोई ।
जो अंतस देखा आपणा, मुझ सा बुरा न कोई ।।

उहाँ भन्नुहुन्छ खराब को छ भनेर सारा संसार मैले खोजें कोही पनि भेटिएन । अन्त्यमा, आफ्नो अन्तस्करणमा नियालेर हेर्दा आपूmभन्दा खराब कोही पनि भेटिएन । यो श्लोकमा जीवन रूपान्तरणको सार–सूत्र लुकेको छ । अरूलाई सुधार्न खोज्ने मान्छेले आफ्नो हीराजस्तो जीवनलाई ढुंगाको मूल्यमा बेच्छ र आफूभित्र खोज्ने अर्थात् स्वयंलाई सुधार्न खोज्ने मान्छेले आफूभित्रै हीरा प्राप्त गर्छ । आफूलाई सुधार्न खोज्ने मान्छेको अर्को लक्षण के हो भने आफूले जे गहिरोबाट जानेको छ र प्रयोगमा ल्याएको छ त्यही बोल्छ र अरूलाई पनि त्यहीअनुरूप सिकाउँछ । यसरी उसको जीवन सत्यमा आधारित हुन थाल्छ र ऊ सत्यको जीवित प्रतिमूर्ति हुन पुग्छ । जो व्यक्तिको जीवन सत्यले भरिएको हुन्छ, व्यक्तित्व र सौन्दर्य आफँै उसको जीवनमा अवतरित हुन थाल्छ ।

संसारमा जे सुधार आओस् भन्ने हामी चाहन्छौँ, आफूमा त्यही लागू गर्न सके विचार, सिद्धान्त मात्र नभई व्यावहारिक लाभ प्राप्त हुन्छ । आफू खुसी रहने र अरूलाई खुसी राख्ने एक मात्र तरिका यही हो । यही नै हो आफ्नो जीवनमा आनन्दको खजाना खोज्ने विधि र यही हो पृथ्वीलाई स्वर्ग बनाउने सुनौलो कला । जुन कुरा आफूभित्र दृष्टिगत हुन सक्दैन बाहिर त्यो कुरा भेटेर भेटिँदैन । 
 

जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट विद्यावारिधी गरेका पाण्डे दम्पतिले लेखेको  'आफ्नो किताब' गएको बुधबार विमोचन भएको हो। 



पुस्तक अंश : जीवन समग्रतासँग जिउने कला को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट