PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पागल वस्तीमाथि सरुभक्तको वकपत्र 



अनन्तराज न्यौपाने

पागल वस्तीमाथि सरुभक्तको वकपत्र 

  • सरुभक्त -
पोखराको पृथ्वीनारायण क्याम्पसमा २०३८ सालमा स्नातक तह अध्ययन गर्दै थिएँ। दसैंको छुट्टीमा शङ्करराजा श्रेष्ठलाई घान्द्रुक घुमेर आउँ भन्दै प्रस्ताव गरेँ।

अलि कान्छो भए पनि शङ्करराजा मिल्ने साथी थियो। हामीले सञ्चालन गरेको युवा नाटक परिवार (युनाप) को एक सदस्य पनि थिए। व्यवस्थापन उसको पढाइको विषय भए पनि कला, साहित्य र संस्कृतिमा उसको अनुराग थियो। नाटकमा अभिनय गर्थ्यो। पढाइमा जेहेन्दार। हाल दिवङ्गत भइसकेका शङ्कर पोखराको एउटा मणि थिए। मेरो प्रस्ताव मानिहाल्यो उसले।

उस बखत पोखरादेखि बाग्लुङसम्म बाटो बनेको थिएन। पैदल नै पुग्नुपर्थ्यो। हामी पोखराबाटै सखारै हिँड्यौं। पहिलो बास बिरेठाँटीमा भयो। दोस्रो दिन पुग्यौँ - सपनाको गन्तव्य अर्थात् घान्द्रुक। त्यस दिनको बास घान्द्रुकमै भयो।
 

नौ डाँडा ‘पागलवस्ती’को आधार क्षेत्र

तेस्रो दिन फर्कंदै थियौँ घान्द्रुकबाट। अपराह्न साढे ३ बजेको हुँदो हो। नौडाँडा भन्ने एउटा रमणीय डाँडामा आइपुग्यौं।  

पर्यटकका लागि पनि एउटा आकर्षक गन्तव्य हो नौ डाँडा। हामी आइपुग्दा केही पर्यटक चियाको चुस्की लिइरहेका थिए। अलि पर्तिर खच्चर र घोडा चरिरहेका थिए।

उघ्रेको दिन थियो। नौ डाँडाबाट तल पोखराको फेवा ताल स्पष्टै देखियो। हिउँले ढपक्कै ढाकिएका हिमाल देखिए। पोखराको छरपस्ट बस्ती र बजार पनि आँखामा नाचिरहे।

मलाई भने यति राम्रो ठाउँ छाडेर जान मन लागेन। मनोहारी दृश्यका स्वाद लिँदालिँदै चार बजिसकेको थियो। त्यस बेला हिँड्दा रात नछिप्पिई घर पुग्ने सम्भावना थिएन। मैले शङ्करराजालाई नौ डाँडामै बस्ने प्रस्ताव गरेँ।

‘हुन्छ नि,’ खुशी हुँदै उसले मानिहाल्यो।
 

उपन्यासको नायक

ऊ र म एउटा पसलमा चिया पिउँदै थियौं। अर्को चिया पसलमा एउटा माग्ने केटो केही खानेकुरा माग्न गएको देखेँ।

पसलकी साहुनीको स्वभाव केही क्रूर लाग्यो। केही दिइनन् बरु ‘बौलाहा उता जा’ भन्दै लखेटिन्। 

ऊ अलि लाटो–लाटो, अधबेस्रोजस्तो थियो। भोकाएको त्यो किशोर पटक–पटक पसलमा गइरह्यो तर गएपिच्छे साहुनीको लखेटाइमा परिरह्यो।

ऊ हे...हे...गर्दै हाँस्तै जान्थ्यो। फेरि केही दिन्छन् कि भनेर एक छिनमा नजिक आउँथ्यो। 

हामी एउटा पसलमा चियाखाजा खाँदैछौँ। अर्को पसलमा एउटा किशोर भोको भएर माग्दैछ। केही दिन्छन् कि भन्ने आशा छ उसमा।
 
पटक–पटकको यो दृश्य मेरो मनमा ‘क्याच’ भयो। भनौँन, यसले क्लिक गर्‍यो।

दुनियाँलाई पागल भनियो तर दुनियाँले पागललाई बुझेन, बुझ्न चाहेन। मैले चिया पसलको त्यही बेन्चमा ‘पागल वस्ती’को कल्पना गरेँ।

एउटा यस्तो वस्ती, त्यहाँ समाजले नबुझेकाहरू बास बसुन्। दुनियाँले नबुझेकाहरू, बुझ्न नचाहेकाहरू, अपमान गरिएकाहरू, दुनियाँले बहिष्कार र तिरस्कार गरेकाहरूको समाज होस् त्यो। तर, खासमा ती दुनियाँका असल मानिस हुन्।
 
हाम्रो समाजले देवकोटा र रिमाललाई पनि बुझेन। उनीहरूलाई समेत पागल भनियो।

धेरै पटक लखेटिँदा पनि त्यो केटाको हाँसो पृथ्वीमा लादिएको व्यवस्था विरोधी हाँसो लाग्यो मलाई। ‘भौते चौर’ भनेर खेद्दा पनि उसको अनुहारमा हीनताबोध देखिन्नथ्यो, बरु केही पाउने आश झल्कन्थ्यो।

बौलाहा भनेर साहुनीबाट लखेटिएको त्यही किशोर मेरो मनमस्तिष्कमा एउटा सशक्त विम्ब बनेर बस्यो। समाजले बौलाहा भनेर दुत्कारिरहेको एउटा माग्ने केटोबाट प्रेरित भएर मैले उपन्यासको खाका बनाएँ। अनि नौ डाँडाकै परिवेशमा ‘पागल वस्ती’को कल्पना गरेँ।

भोलिपल्ट घर आउँदाआउँदै एउटा स्टेसनरी पसलबाट सस्तो मूल्यको कापी किनेँ। त्यही कापीमा तीन/चार च्याप्टर फटाफट लेखेँ। ती च्याप्टरमा त्यही माग्ने केटाको प्रतिविम्बन छ।
 

किन रोकियो कलम?

यसपछि भने उपन्यास अघि बढेन। खासमा एउटा भावावेशमा सुरु गरिएको लेखन थियो त्यो। एउटा सग्लो उपन्यासका लागि आवश्यक पर्ने विस्तृत कथावस्तु र कल्पना पनि थिएन। 

त्यस बखत खासमा नाटक र कविता मेरा मुख्य क्षेत्र र विधा थिए। नाटक लेख्थेँ र खेल्थेँ पनि। युनापमार्फत् मञ्चन गरिन्थ्यो। नाटक मञ्चन र कवि गोष्ठीमै भुलिन्थेँ।

एसएलसीकालसम्म युधीर थापा र प्रकाश ‘कोविद’का सस्ता र सरल भनिने उपन्यासले निकै ताने। हिन्दी भाषामा गुलशन नन्दाका उपन्यास पनि खुब पढियो। सम्मान गर्छु सस्ता उपन्यासलाई।

अहिले हाम्रा ठूला साहित्यकार मानिने साथीभाइहरू ती उपन्यासप्रति हेय दृष्टि राख्छन्। तर, म भन्छु, किशोर वयका पाठकमा औपन्यासिक अभिरुचि र भाव जागृत गर्न त्यस्ता उपन्यासको भूमिका महत्त्वपूर्ण हुन्छ। तिनले अध्ययनमा अनुरागको सृजना गर्दछन् भन्ने मेरो अनुभव छ। मेरो अध्ययनशीलताको आरम्भमा ती उपन्यासको अद्भुत योगदान छ। तिनले नै मलाई उपन्यासको अध्ययनमा तल्लिन बनाए। त्यसैले त्यस्ता उपन्यास र तिनका सर्जकप्रति मेरो सधैँ सम्मानभाव हुन्छ। म जहाँ पनि श्रद्धाका साथ उहाँहरूको नाम लिन्छु। 

पछि कलेज गएपछि गम्भीर उपन्यास पढ्न थालियो। नेपालका विपी कोइराला, दौलतविक्रम, रमेश विकल, विजय मल्ल, गोविन्द गोठाले, पारिजात अनि भारतका प्रेमचन्द, शरच्चन्द, बङ्किमचन्द, टैगोर आदिका उपन्यास पढेपछि मात्र आँखा खुलेजस्तो भयो। वास्तविक औपन्यासिक साहित्य, यसको भाव, शैली र धारासित परिचय भयो।

कलेजको पढाइमा म अस्थिर स्वभावको थिएँ। धेरै कलेज चहारेँ। पृथ्वीनारायण कलेजमा पढाइ पूरा नगर्दै साइन्स पढ्ने मन भयो। अमृत साइन्स कलेजमा भर्ना हुन गएँ र एक वर्ष यही क्याम्पसको छात्रावासमा बसेँ।
 

बरालिएको विद्यार्थी

छात्रावासमा त बसेँ, तर कलेजको कक्षामा नियमित थिइन। बरु नेपाल भारत सांस्कृतिक केन्द्रको पुस्तकालयले निरन्तर तानिरह्यो। त्यहाँ उपलब्ध त्यस बेलाका भारतका मुख्य पुस्तक सबैजसो पढेँ होला। तै पनि म कविता र नाटकमै केन्द्रित थिएँ। यथार्थमा म एउटा बरालिएको विद्यार्थी थिएँ।

खासमा ‘पागल वस्ती’ मेरो पहिलो उपन्यास थिएन। ‘अविनवको आत्मकथा’ मेरो पहिलो उपन्यास हो। यसलाई पोखरा जेसिजले २०४४ मा छाप्यो। विज्ञान र खासगरी रोबोट (यन्त्र मानव)को कथावस्तुमा आधारित छ यो उपन्यास। तर, यो उपन्यास पोखराबाट बाहिर गएन। धेरैले थाहै पाएनन्। यसमा ५ कथा पनि सङ्कलित छन्। अहिले रत्न पुस्तक भण्डारले यसको दोस्रो संस्करण बजारमा ल्याएको छ।


के हो प्रेम ?

अध्ययन र अनुभवले प्रेमका बारेमा मेरो स्पष्ट अवधारणा बन्यो। हिजोआजको प्रेम क्षणिक छ। आज प्रेम, भोलि विवाह र पर्सि डिभोर्स। प्रेम भन्नेबित्तिकै शारीरिक सम्बन्धको कुरा हुनथाल्छ। म यसलाई प्रेम भन्दिन।

कुनै युवतीलाई आज प्रेम गरेर भोलि मुम्बई पुर्याउनेहरू पनि छन्। 

खासमा प्रेमको खास परिभाषा भन्न कठिन छ। प्रेम गर्ने व्यक्ति जति महान् र उच्च हुन्छ, प्रेम पनि त्यति नै अग्लो र कमनीय हुन्छ। 

प्रेम गर्नेको संवेदनशीलता, उसको विवेक, बौद्धिकता र व्यवहारबाट उसको प्रेमको आदर्शको मापन हुन्छ।
 
प्रेम गर्ने व्यक्ति उच्च आदर्शवान् र नैतिक भयो भने उसको प्रेम पनि अजम्बरी, शाश्वत र स्वार्थहीन हुन्छ। म यस्तै प्रेमका पक्षमा छु। 


अहमको सृजनात्मक व्यवस्थापन

जीवन सम्बन्धी दर्शनको खोज गर्ने अभिलाषा पहिलेदेखि नै थियो। यसक्रममा धर्म, दर्शन र आध्यात्मिक साहित्यको पनि यथाशक्य अध्ययन गरेँ।
दुनियाँका सबै धर्म दर्शनले समवेत स्वरमा अहम् त्याग्नुपर्छ भनेका छन् तर अहम् लाई नै सबैले बोकेर हिँडेका छन्। सामान्य मानव जातिको त अलग कुरा, बुद्ध र कृष्णजस्ता युगनायकहरूले पनि अहम् त्याग्न सकेको देखिएन। मलाई लाग्यो, अहमका बारेमा इतिहासले दिएको शिक्षा गलत छ।

सिद्धार्थ गौतमले मैले ज्ञान प्राप्त गरेँ, अब म बुद्ध भएँ भन्नु अहम् थियो। कृष्णले ‘गीता’–मा संसारको सर्वश्रेष्ठ मै हुँ भत्रे घोषणा गरे। त्यो पनि अहम् थियो।

म अहमबाट मुक्त छु भन्नु पनि अहम् हो। जबकि बुद्ध र कृष्ण लगायतका सबै आध्यात्मिक नायक र दार्शनिकले आफू अहमबाट मुक्त भएको दाबी गरे।

यसरी अवतार पुरुषले पनि आफ्नो महानतामा अहमलाई मिसाएको देखियो। अहमको सम्मिश्रणविना आफ्नो महानताको अस्तित्वबोध नगरेको सिद्ध भयो।

अहमलाई यो थाहा छैन। स्वयं मान्छेलाई थाहा छैन तर उसले अहमको प्रदर्शन गरिरहेको हुन्छ।

यसपछि मलाई लाग्यो, अहमबाट कोही मुक्त कोही छैन, हुन सक्तैन। मान्छे अहमसितै जन्मन्छ र मर्नासाथ उसको अहम् पनि मर्छ। जीवन ऊ अहममा जिउँछ। 

त्यसैले अहम्को नाश होइन, यसको सृजनात्मक व्यवस्थापन गर्नुपर्छ भन्ने मेरो धारणा छ। जस्तै कृष्ण, बुद्ध, रामकृष्ण परमहंस, विवेकानन्द, नेपोलियन, महात्मा गान्धीहरूले अहमको सृजनात्मक उपयोग गरेका छन्।

यही अहमलाई हिटलरजस्ताले विध्वंशात्मक प्रयोग पनि गरेका छन्। त्यसकारण के गर्दा अहमको सृजनात्मक प्रयोग हुन्छ भत्रे कुरा मानव विवेकले छुट्याउनु पर्छ।

‘मान्छे अहमयुक्त प्राणी हो, अहममुक्त होइन’, मेरो दर्शनको आधार वाक्य भनौँ वा सूत्र यही हो।


शून्यवाद मेरो मूलधार

हामी प्रयोगवादी लेखकको मूल धार के हो भन्न गाह्रो छ। हुन त, प्रयोग नै मूल धार हो। तथापि, प्रयोगवादी लेखनमा पनि अस्तित्ववाद, प्रगतिवाद, झर्रोवाद लगायतका वादहरू आउँछन्। 

यस हिसाबमा मेरो साहित्यको मूलधार शून्यवाद हो। म आफूलाई शून्यवादी साहित्यकार भन्ठान्छु। तर, शून्यवादलाई मैले मेरा रचनामा लाद्ने गरेको भने छैन। 

मेरो शून्यवाद पारिजात दिदीको जस्तो निस्सारताउन्मुख होइन। पारिजातको शून्यवादमा जीवनको निस्सारता र अर्थहीनताको सन्धान हुन्छ। तर, मेरो शून्यवाद पूर्णता उन्मुख छ। 

उहाँहरू रहितताको व्याख्यामा मात्र शून्यवादको अर्थ लगाउनु हुन्छ। तर मेरो शून्यवादमा रहितता छैन बरु युक्तता छ।

एक पटक म फेरि पछाडि फर्कन्छु। अमृत साइन्समा एक वर्ष पढे पनि परीक्षा दिइनँ। अध्ययनका लागि यसपछि कीर्तिपुर गएँ, २०४६/४७ को बेला थियो। कीर्तिपुरमा अध्ययनरत छँदै ‘पागलवस्ती’–को त्यही पुरानो पाण्डुलिपिलाई पूर्णता दिने सोच बनाएँ र लेख्न थालेँ। कथावस्तुको कल्पना गर्दै लेख्तै गर्दा पूरा गर्न लगभग एक वर्ष लाग्यो।

घान्द्रुकबाट फर्कंदा सस्तो मूल्यमा खरिद गरेको कापीमा लेखिएको अपुरो उपन्यास घरमा सुरक्षित थियो। सात वर्षपछि हुनसक्छ, निरन्तर अध्ययनले धेरै कुरामा मेरो स्पष्ट दृष्टिकोण बनिसकेको थियो।


प्रेम, अहम् र शून्यवादको सम्यक् प्रयोग 

‘पागल वस्ती’–मा प्रेम, अहम् र शून्यवादका मेरा तीन वटै जीवनदर्शनको सम्यक् र आवश्यक प्रयोग मैले गरेको छु। मेरा आफ्ना भावना र संवेदना यसमा मिसाएको छु। धर्म दर्शनप्रतिका मेरा दृष्टिकोणको सम्मिश्रण गरेको छु।

कुनै कृति वा लेखकको व्यक्तिगत प्रभाव र प्रेरणा ‘पागल वस्ती’मा छैन बरु मेरो समग्र अध्ययन, चिन्तन र दर्शनको सार यसमा छ। पढेजति सबै कृति र लेखकको साङ्गोपाङ्ग प्रभाव र प्रेरणा छ, यस्तो लाग्छ।
 
उपन्यास त मैले अरू पनि लेखेको छु – ‘तरुनीखेती’, ‘समय त्राशदी’, ‘चुली’ लगायतका उपन्यास छन्। ‘प्रतिगन्ध’ अर्को उपन्यास लेख्तैछु, अन्तिम ठाउँमा पुगिसकेको छु। 

अन्य कृति हुँदाहुँदै पनि मलाई सबैले ‘पागल वस्ती’बाटै चिन्छन्। हरेक लेखकलाई लामो समय बचाइराख्ने एउटा कृति हुँदो रहेछ। वर्डस्वर्थको ‘लुसी’, टैगोरको ‘गीताञ्जली’ र देवकोटाको ‘मुनामदन’–जस्तो। मलाई ‘पागल वस्ती’–ले टिकाइराखेको छ।

प्रेमका बारेमा नेपाली साहित्यमा धेरै कृति लेखिए तर ‘पागल वस्ती’ प्रेमको दार्शनिक पक्षको प्रयोग छ। आदिगुरु र आदिमाताका माध्यमबाट उच्च, शाश्वत र अजम्बरी प्रेमको अभ्यास र वर्णन गरिएको छ। यस्तो प्रयोग नेपाली साहित्यमा हुन सकेको थिएन। त्यसैले पाठकका मनमा ‘पागल वस्ती’ भिजेको छ। त्यसैले उहाँहरूलाई यो उपन्यास हृदयस्पर्शी लागेको हो। 

(मदन पुरस्कारप्राप्त चर्चित उपन्यास ‘पागल वस्ती’–का स्रष्टा एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त (श्रीभक्त श्रेष्ठ)सित अनन्तराज न्यौपानेको कुराकानीमा आधारित।)


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell