PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पशुपतिमा बाबाजीलाई नै 'नो इन्ट्री', नागा बाबाका कारण गौशालामा जाम



सागर बुढाथोकी

पशुपतिमा बाबाजीलाई नै 'नो इन्ट्री', नागा बाबाका कारण गौशालामा जाम

काठमाडौँ : अघिल्लो वर्ष शिवरात्रीमा पशुपति जानुभएको थियो? यो साल पनि त्यस्तै माहोलको अपेक्षा गर्नुभएको छ? यो साल पुरानै अपेक्षा लिएर पशुपति पुग्नेहरु निराश भएर फर्केका छन।

शिवजीको बुटी खाएर झ्याप हुन पशुपति पुग्ने धेरै खल्लो मन लिएर फर्केका छन्। कोही सडकमै झ्याप हुने सुरसारमा छन्। तर, प्रहरीको कडा निगरानीले धेरैलाई हैरान बनाएको छ।

बिहानदेखि भरिभराउ हुने पशुपति क्षेत्र यो वर्ष पहिलेको तुलनामा कमै मानिस भेटिए। मान्छे नगएर हैन भित्र छिर्न नपाएर।  नेपाल प्रहरीले यो वर्ष सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेकोले पाशुपत क्षेत्रभित्र छिर्न निकै गाह्रो छ।

पशुपति छिर्न सिनामंगल नजिकको बाटो, पिंगलास्थान, गौशाला चोक, जयबागेश्वरी, मित्रपार्क र गुह्येश्वरीको बाटो प्रयोग गरिन्छ। यो पटक हरेक बाटोमा प्रशस्तै सुरक्षाकर्मीहरु बसिरहेका छन्। मानिसहरु लामो लाइन भएर घण्टौँ प्रतीक्षा गर्दा पनि छिर्न पाएका छैनन्।

त्यसैको परिणाम देखिएको छ पशुपति क्षेत्र आसपासको सडकमा। मानिसहरु सडकमै भएका कारण चाबहिल चोकदेखि सिनामंगल पिंगलास्थानसम्म जाम छ। यता पुरानो बानेश्वरसम्म सवारी साधन ठप्प छ। गाँजाको गन्ध भित्रभन्दा बाहिर फैलिएको छ।

***
बाबाजीहरुलाई पनि अवरोध उस्तै छ।

'किन यस्तो यसपालि ?' 

ड्युटीमा रहेका प्रहरी जवान जवाफ दिन्छन्- 'माथिको आदेश'। विस्तृत बुझ्नको लागि ड्युटीमा रहेका अर्का सहकर्मीतिर इशारा गर्छन्।

'यसपालि पशुपतिमा गाँजा प्रतिबन्ध गरिएको छ। धेरै मानिसहरु नछिराउन आदेश छ,' अर्का सहकर्मीको जवाफ पनि उस्तै आउँछ।

विश्व सम्पदामा सूचिकृत पशुपतिलाई लागूपदार्थबाट मुक्त राख्‍न माघको तेस्रो साताबाट गाँजामुक्त गर्ने घोषणा गरिएको थियो। सोही घोषणालाई कार्यन्वयन गर्न प्रहरीले कडा निगरानी गरिरहेको छ। यसपालि पशुपतिनाथ क्षेत्र गाँजा निषेधित क्षेत्र हो। कडाइका बाबजुद गाँजाको गन्धले पशुपति क्षेत्र अछुत भने छैन।

प्रहरीले दुई बाबासहित ३९ जनालाई गाँजा बेचेको/सेवन गरेको आरोपमा पक्राउ गर्‍यो। लुकिछिपी गाँजा बेच्नेलाई प्रहरीको त्यो एक्सन काफी भएन। तर, अघिल्लो वर्ष जस्तै बाबाजीको ग्ल्यामर र गाँजाको गन्ध यो वर्ष आधाभन्दा बढी घटेको देखिन्छ।

***

पशुपति पिंगलास्थान छिर्ने गेटमा ३ जना बाबाजी प्रहरीसँग भनाभन गरिरहेका थिए। बाबाजीलाई नै छिर्न दिएका छैनन् प्रहरीले। बाबाजी भनिरहेका छन्, 'इण्डिया से आए है हम, क्युँ तङ करते हो।'

प्रहरी जवानहरु माथिको आदेश भन्दै छिर्न दिँदैनन्। आधा घण्टासम्म भनाभन चल्छ। बाबाजी भन्छन्, 'उधर से भि जाने नहीँ दिया। इधर से भी नहीँ। कहाँ से जाउँ?'

प्रहरी जवान बाबाजीहरुसँग भनाभन गर्ने मूडमा छैनन्। अरु मानिसहरुलाई जस्तै बाबाजीलाई पनि छिर्न दिएका छैनन्। बाबाजी स्मार्टफोन झिकेर धेरै ठाउँमा नम्बर डायल गर्छन्। प्रहरीले वास्ता गर्न छोडेपछि हार मानेर फर्कन्छन्।

**
गौशालाको बीच सडकमै नागा बाबाजीले सडक कब्जा जमाएका छन्। मानिसहरुको चापले जाममा परेका सवारी साधन बाबाजीको हर्कतले झनै पीडित छन्। अलिकति जाम खुलेजस्तो भएपनि बाबाजीको अवरोधले सवारी चल्न पाएको छैन। 

रमितेहरु बाबाजीको हर्कत मोबाइलमा कैद गरिरहेका छन्। ट्राफिक प्रहरी बाबाजीलाई हटाउन नसकेर हैरान छन्। गाडीको चर्को हर्नले बाबाजीलाई कुनै असर गर्दैन। उनी दक्षिणाको लोभमा हर्कत देखाइरहेका छन्। सवारी चालक पनि मेरै गोरुको बाह्रै टक्का गरेर हर्न बजाउँदै बसेका छन्। सडक ठप्प त हुने नै भयो।

त्यसो त सर्वोच्च अदालतमा नागा बाबाहरुले अश्लीलता फैलाएको आरोप लगाउँदै रोक्न आइतबार रिटसमेत दर्ता भएको थियो। तर सोमबार जुन न्यायाधीशको इजलासमा पेशी परेको थियो, त्यो इजलासै बस्न सकेन। अब शिवरात्रीपछि मात्रै यसको टुङ्गो लाग्नेछ। 

***

मुख्य गेटबाट छिर्न नपाएका केटाहरु चोर बाटोबाट छिरिरहेका छन्। पिंगलास्थानबाट चोर बाटो भएर छिर्दै गरेका केटाहरुमाथि सशस्त्र प्रहरीको डण्डा बर्सिन्छ। बिचराहरु ढाड सुमसुम्याउँदै फर्कन्छन्। गएका थिए बिन्दास हुन, फर्किरहेका थिए रुन्चे अनुहार लाएर।

***
जसरी सडकमा कोलाहल छ, ठीक उल्टो छ भित्रको स्थिति। शिवधुनि जगाएर ग्राहक कुरेका बाबाहरु निराश छन्। बाबाजीको छेउसम्म पुग्न दिएको छैन प्रहरीले। बाहिर जस्तो प्रहरीको हस्तक्षेप भित्र पनि उस्तै छ। शिवधुनि जगाएर टपलेस भएका ग्ल्यामर बाबाहरुले न त गाँजा बेच्न पाएका छन् न त विदेशीसँग पोज दिएर फोटो खिच्न नै। व्यापारै ठप्प भएको छ बाबाहरुको। शिवधुनि जगाएर कैलाशकुट जाने भर्‍याङ वरपर बसेका बाबाहरु नजिकको बाटो पूरै बन्द छ। बाबाहरु प्रहरीसँग रिसाएर केही अनुरोध गरिरहेका छन्। प्रहरीलाई बाबाजीको कुरा सुन्ने फुर्सद छैन। प्रहरीको कारण व्यापार घाटा भएको चिन्ता बाबाजीको भष्म लेप अनुहारमा प्रष्ट देखिन्छ।

***

शव जलाउने घाटको ठीक पारीपट्टी डाँडामा प्रहरी पुग्न पाएका थिएनन्। त्यहीँ भेला भएर धेरै केटाहरु बिन्दास मूडमा धूवाँ उडाइरहेका छन्। सिन्धुपाल्चोकबाट आएका ६५ वर्षीय वृद्ध गाँजा बेचिरहेका छन्। जल्दै गरेको लाशको धुवाँसँग गाजाको धुँवा 'ककटेल' भएको छ। धूम्म परेको वातावरणमा त्यहीँ मात्रै निष्फिक्री केटाहरु सर्को लाउँदै धूँवा आकाशतिर फालिरहेका छन्। यही मात्रै निषेधित क्षेत्रभित्रको खुला ठाउँ रहेछ, अरु ठाउँमा त प्रहरीको व्यापक हस्तक्षेप छँदैछ।

***
त्यही बेला अन्दाजी १२ वर्षको फुच्चे जोगीको भेषमा माग्दै आउँछ।

'ह्वाट्स अप लिटिल फकिर!'

'मुझे इंग्लिस नहीँ आता। पढे नहीँ है हम,' फुच्चेको जवाफ।

कहाँ से आए हो?

'इलाहाबाद से।'

साथ मे कौन है ?

'बाबा ‌और भैया। कल आए थे। परसोँ जाएँगे।'

कमण्डलुमा दक्षिणा हाल्दिएपछि ऊ बाटो लाग्छ। डाँडामा आएको चिसो हावाले गाँजा र जल्दै गरेको शवको मिश्रित गन्ध नाकैमा पुर्‍याइरहेको छ। घाम ढल्कँदैछ। दिनमा व्यापार गर्न नपाएका बाबाहरु सन्ध्याकालपछि व्यापार गर्ने आशमा धूनि जगाइरहेका छन्। एउटै समयमा कोही धूवाँ उडाइरहेका छन् त कोही धूवाँ बनेर उडिरहेका छन्। मानिसहरु आउने र जाने क्रम उस्तै छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell