PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनयुद्ध र भँगेरा



किशोर नेपाल

जनयुद्ध र भँगेरा

आज बिहान इन्स्टाग्राममा भँगेराको एउटा तस्वीर देखेको थिएँ। अवोध भँगेरा। हेर्दै माया लाग्दो। त्यो तस्वीरमा क्याप्सन दिइएको थियो, “ओन्ली नाइन्टिज् किड्स रिमेम्बर दिस।”

हो, अचेल शहर र शहरका गाउँभित्र भँगेरा देखिदैन। यी काठमाडौं उपत्यकाकै मौलिक प्रजाति हुन्। वीरगन्जका बगेडी र काठमाडौंका भँगेरामा अलिकति पनि समानता छैन। कता, भँगेरा, कता बगेडी।   

भोलि जनयुद्ध दिवस। जनयुद्धसँग लामो र राम्रो सम्बन्ध भएका रातोपाटीका सम्पादकले आज शिवरात्रिको मेला भर्न पशुपति आउने नागा बाबाहरुको लिंगसँग सम्बन्धित समाचार कुनै अर्कै पत्रिकाबाट साभार गरेछन्। जनयुद्धसँग सम्बन्ध राख्ने पत्रकारले नागा बाबाको २०६३ देखि अहिलेसम्म बरालिएका जनयुद्धका कर्ताहरु अब केपी सरलाई सीएम बनाएर आ–आफ्नो थान्कोमा थन्किनेछन्। केही जानकार भन्दछन् : दुवै नेता वाठा भएकाले को सीएम हुने र को पीएम हुने भन्न गाह्रो छ। 

माओवादी नेताहरुले भँगेरा र वगेडीका बीच अन्तर देखेका छन् कि छैनन् त्यो कसैलाई थाहा छैन। तर, कम्युनिष्टको कव्जा नीति अनुसार कि एमालेले माओवादीलाई लण्ठ्याउने हो, कि माओवादीले एमालेलाई अठ्याउने हो। यो होइन भने के हो त? माओवादीका बादल र काजीले बुझे हुन्छ – महादेवले सतीदेवीको लास बोकेर हिँडेजस्तो प्रचण्डले पुत्र प्रकाशको लाश बोकेर राजनीति गर्दैनन्।
 
चितवनमा रेणु दाहाललाई नेपाली कांग्रेसले बोकेपछि कांग्रेसीहरु दंगदास परेका थिए। तर, यो खुशी धेरैबेर रहन पाएन। दक्षिण एसियामा कम्युनिष्टहरुको महान केन्द्र खोलेर त्यसको अध्यक्ष बन्ने उत्कण्ठा प्रचण्डको आत्मामा प्रवेश गरेपछि उनले केपी ओलीमा परमपिता परमेश्वरको प्रवेश भएको देखे। त्यसपछि चित्त खाने पालो आयो कांग्रेस सभापति शेरबहादुर देउवाको। उनले पनि बठ्याईं गरे। माओवादी मन्त्रीहरुलाई पदबाट हटाए। मन्त्रीबाट हटाएनन्। 

भोलि मंगलबार एघार बजे पेरिस डाँडामा जनयुद्धको वार्षिकोत्सव मनाउँदा एमालेका कति जना नेता उपस्थित हुनेछन? यो सबैको चासोको विषय हुनेछ। एमाले पार्टी माओवादी पार्टीलाई साँच्चै सुमर्न तयार छ भने पेरिस डाँडा एमालेमय हुनेछ। भावि वा सम्भावित जे जस्तो प्रधानमन्त्री भए पनि केपी ओली माओवादीले घेरिनेछन्। एमालेका दह्रा नेता तथा सचिव प्रदीप ज्ञवाली हम्मेसी झुठ बोल्दैनन्। तर, यसपटक उनले झुठ बोलेका छन्। पार्टीमा एमाले वा माओवादी कसको सुप्रिमेसी रहने हो? यो विषयमा नेताहरु मौन छन्। को 'हिज एक्सकेलेन्सी' हुने र को 'हिज हाइनेस' हुने? जबसम्म यो कुराको टुंगो लाग्दैन, तबसम्म एमाले–माओवादीको सरकार बन्दैन। किनभने, नेपालमा अरु जुनसुकै सरकार चले पनि द्वैध सरकार चल्दैन। जस्तो राजा महेन्द्र तथा राजा वीरेन्द्र र प्रधानमन्त्री सूर्यबहादुर थापाको द्वैध शासन चलेन। भर्खर मात्रै प्रचण्ड र शेरबहादुरको सरकार चलेन। त्यो त्यत्तिकै लोकमान, सुशीला र सिलवालका कारण नचलेको हो र?

भोलि जनयुद्ध दिवस। 

जनयोध्दाहरुले अब कसको जय मनाउने?

जनयोद्धाहरुले अब कुन पथ हिँड्ने?

जनयोद्धाहरुले अब नागा बाबाहरुको लिंगको तथ्यांक जम्मा गरेर देश विकासमा योगदान दिने?

अरु के गर्ने त?

जनयुद्ध इतिहास भै सक्यो। सन् नब्बेतिरका काठमाडौंका केटाकेटीले भँगेरा देखेका थिए। सन् नब्बे पछिका नेपाली जवानले जनयुद्ध देखे। जनयुद्धपछि ज्यान पाल्न विदेशिएका हजारौंलाई कसैले देखेन। ती कहाँ छन्? के गर्छन्? माओवादीहरुले त्यसको वास्ता नगरेकै राम्रो होला।
मैले एकपटक लेखेको थिएँ – प्रचण्ड नभए नेपाली राजनीतिको पात पनि हल्लिन्न। त्यस्तो पात हल्लाउन स्व. गिरिजा र सुशीलले, माधवजीले, झलनाथजीले, ओलीजीले र शेरबहादुरजीले...कसले सके? माआवादीकै चरित्रहरु : बैद्यले सके? बाबुरामले सके? बादलले सके? विप्लवले सके? कसले सके?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell