PahiloPost

May 27, 2018 | १३ जेठ २०७५

मृगौला रोगीले जस्तै कलेजो रोगीले राहत पाउन नेता नै रोगी हुनुपर्ने?


सागर बुढाथोकी/पहिलोपोस्ट

मृगौला रोगीले जस्तै कलेजो रोगीले राहत पाउन नेता नै रोगी हुनुपर्ने?
डा सुधांशु केसी कलेजो रोगको क्षेत्रमा चिनिएको नाम हो। वीर अस्पतालमा कार्यरत उनी कलेजो विशेषज्ञ मध्यका एक हुन्। 

नेपालमा कलेजो रोगको उपचारमा उनको विशेष योगदान छ। विभिन्न नयाँ प्रविधि सरकारी अस्पतालमा भित्राएर जटिल मानिने कलेजो उपचारलाई उनले सहज पार्न महत्वपूर्ण भुमिका खेलेका छन्। 

सोही कारण मेडिकल क्षेत्रका जानकारहरु उनलाई ‘फादर अफ मोडर्न हेपाटोलोजिस्ट’ भन्छन्। उसो त डा केसी दूर्गम क्षेत्रमा 'हेल्थ क्याम्प' चलाएर समाजसेवामा समेत सक्रिय छन्। 


केसी डाक्टर बन्न चाहन्नथे, बने। कलेजो रोगमा उनको चासो थिएन। यसैको विशेषज्ञ बने। सरकारी जागिरमा रुचि थिएन, वीर अस्पतालमै रहे। समाजसेवामा समेत अकस्मात जोडिए। डा केसीसँग उनको डाक्टरी यात्राबारे पहिलोपोस्टले गरेको कुराकानी:

डाक्टर बन्न रुचि नभएको मान्छे कसरी डाक्टर बन्नु भयो ?
म काठमाडौं डिल्ली बजारको रैथाने।  सानैदेखि पिएचडी सकाएर नामको अगाडि डा लेख्ने चाहना थियो। मेडिकल डाक्टर हैन। हजुरबाले धैरे माया गर्नुहुन्थ्यो। हजुरबा मलाई डाक्टर बनेको हेर्न चाहनुहुन्थ्यो। म उहाँको कुरा मान्न तयार थिइनँ।

हजुरबा सिकिस्त बिरामी बनेर आर्मी अस्पतालमा भर्ना हुनुभयो। ३० पोका रगत  चढाएपछि बल्ल होस आएको थियो। होसमा आउनेबितिकै उँहाले ‘तैले डाक्टर बन्नु पर्छ। यसरी नै ज्यान बचाउनुपर्छ’ भन्नु भयो। त्यही घटना नै मेरो जीवनको ‘टर्निङ पोइन्ट’ बन्यो। म १० कक्षामा पढ्थे।

त्रिचन्द्र कलेजमा आइएस्सी बायोलोजीमा गरे। बिएस्सी सकाए। त्यसपछि मेरो मेडिकल यात्रा सुरु भयो।

एमबिबिएस पढ्न बंगलादेश पुग्नुभयो ? कसरी तय भएको थियो यात्रा ?
एकजना साथीले 'बंगलादेशमा छात्रावृति छ' जाउँ भने। मलाई मन लागेन। फर्म उसले नै ल्यायो, उसैले भरिदियो। मैलै हस्ताक्षर गरें। चार महिनापछि नाम निस्कियो। त्यसपछि म बंगलादेश गए।

सन् १९८८ मा गएर १९९५ मा एमबिबिएस सकेर म फर्कें।

त्यतिबेलाको बंगलादेशको अवस्था कस्तो थियो?
सुरुवातमा त्यहाँको बस्ने खाने  र वातावरणमा घूलमिल हुन गाह्रो थियो।  म त्यहाँ सबैभन्दा गोरो। एप्रोन जस्तो गोरो केटा आयो भनेर मलाई हेर्न आउँथे। म फर्स्ट पनि भएँ। खान लाउन उनीहरु भन्दा राम्रो देखेर त्यहाँको साथीहरु इर्श्या गर्थे। म हिन्दु। उनीहरु मुस्लिम धेरै कुरा मिल्दैनथ्यो। अनिश्चिकालिन बन्द हड्तालले कलेज बन्द हुन्थ्यो। दिक्क लाग्दो थियो बसाई।
म फर्किन लागेको थिएँ। त्यही अर्को नेपाली साथी पुगेपछि बस्न मन लाग्यो। 

एमबबिबिएस सकेर काठमाडौं आउने बितिकै डाक्टर बनिँदो रहेछ त?
बंगलादेशबाट आएर स्वास्थ्य मन्त्रालय गएँ। जागिर दिन आग्रह गरें। त्यहाँको हाकिम यसरी हाँस्यो कि मैलै अपराध गरेजस्तो। उसले जागिर आफै खोज्नुपर्ने बतायो। घरबाट नजिक वीर अस्पताल थियो। जान आउन सजिलो र नजिक भएर वीर अस्पताल आए। वीर अस्पताल मेरो रोजाई थिएन। डेढ वर्ष 'भोलिन्टियरिङ' गरें। त्यसपछि विकास समितिबाट मासिक ३ हजार तलबमा नियुक्ती भएँ।

सुरुमा बच्चाको डाक्टर बन्छु भन्ने थियो। कान्ति अस्पतालमा पनि इन्टर्नसिप गरें। बच्चाहरुसँग खेलेर इन्जोय गर्दै थिएँ। एकदिन बच्चाको ढाँडको पानी निकाल्नु पर्ने थियो, बच्चा यति रोयो कि त्यसबाट बच्चाको डाक्टर बन्ने रहर मर्यो। फेरि वीर नै फर्कें।

वीर अस्पतालमा टिक्न गारो। कहिले कता जा भन्थ्यो कहिले कता ‘पेन्डुलम’ जस्तो भएको थिएँ म। हेपाटोलोजीमा कसैको नजर गएको थिएन। यसमा कोही आउन रुचाउँदैन थिए। हेपाटोलोजीमा मेरो पनि चासो थिएनँ। तर, टिक्न त्यही सुरुक्षित थियो। त्यही काम गर्न थालें। डाक्टर सन्तोषमान श्रेष्ठ अर्थात फादर अफ हेपाटोलोजिस्टबाट धेरै कुरा सिकें।

त्यही क्रममा अध्ययन गर्न जापान गएँ। सन् २००० मा जापानमा पोस्ट ग्राजुयसन सकें। जापानमा पनि भाषाको गाह्रो भयो। त्यहाँको स्वास्थ्य मन्त्रालयबाट स्विकृती लिएर अस्पतालमा काम गरें। सन् २००४ मा जापानबाट पिएचडी सकाएँ। त्यता बस्ने अफर धेरै थिए। तर, नेपालमै केही गर्नु पर्छ सोचेर फर्कें।

नेपाल फर्केपछि हेपाटोलोजी विभागको सुधारका लागि तपाईबाट के भए?
सन् २००४ बाट आएपछि नि भोलिन्टियर काम गर्नुपर्छ भन्ने भयो। म यत्रो पढेर सिकेर आएको  भोलिन्टियरिङ गर्दिनँ भन्ने अडान राखें। त्यसपछि १ महिना 'फ्रि'मा काम गरें। अनि करारमा नियुक्ती भएँ। सन् २००४ देखि काम गरेपनि स्थायी भएको त बल्ल ३ वर्षमात्र भयो। मुद्दा मामला गरेर जितेपछि बल्ल सरकारी भइयो।

म वीरमा जोइन भएदेखि नै मोडर्न उपकरणहरु ल्याउने, नयाँ पद्दतिले उपचार गर्ने कामको सुरुवात भयो।

कलेजो रोगको अवस्था र उपचार प्रणाली के छ नेपालमा ?
नेपालमा चेतनाकै कमी छ। कलेजो विभाग स्थापना र सञ्चालन गर्न डाक्टर सन्तोषमानले गरे। मोडर्न हेपाटोलोजीको विकास गर्न मैले योगदान गरिरहेको छु। किनभने अहिले धेरै नयाँ प्रविधि भित्रिएको छ। लिभर क्यान्सरको उपचार। एन्जियोग्राफीको उपचार मैलै नै गरेको हो।

हेपाटाइटिस सीको उपचार म आएपछि मात्रै नियमित हुन थालेको हो। हाइब्रो स्कान मैले नै सुरुवात गरेको हो। नेपालमा लिभर समबन्धि एडभान्स उपचार गर्ने म नै हो। अब यहाँ लिभर ट्रान्सप्लान्ट मात्र गर्न बाँकी छ। त्यो बाहेक हामी लिभरको सबै उपचार गर्न सक्छौ।
विगत ३ वर्षदेखि हामीले लिभर सम्बन्धि पढाइरहेको छौँ। डाक्टरहरु उत्पादन हुदैँछन। 

कलेजो रोग के कारणले हुन्छ ?
रक्सी, हेपाटाइटिस बि र सी नै कलेजो रोगको मुख्य कारण हो। हेपाटाइटिस ए र इ जस्तो कमन रोग बिग्रेर पनि कलेजो रोग हुन्छ। चेतना नभएर पनि हो। जण्डिस हुन्छ मान्छे जडिबुटी खान गएर बिग्रन्छ। समस्या परेपछि मात्र उपचारमा आउँछ।

नेता मृगौला पीडित भएकै कारण मृगौला पीडितले डायलासिस गर्न सरकारबाट राहत पाउँछन। लिभर सिरसिस गर्न सरकारबाट कुनै पनि सहयोग छैन। अब लिभर पीडित जनताले राहत पाउन पनि नेता नै बिरामी हुनुपर्ने।  मृगौला जस्तै लिभर पनि महत्वपूर्ण अंग हो। खर्च दुबैमा उस्तै छ। तर, नेता बिरामी भएका रोगको मात्रै जनताले राहत पाउँछन्।

भूकम्पछि दूर्गममा गएर क्याम्प पनि गर्नुभयो?
हामी साथीहरु मिलेर औषधि जम्मा गर्छौँ। आफ्नो खर्च आफै गर्छौ। केही उपकरणहरु जुटाएका छौँ। 
पहिला हामी प्रत्येक महिना फरक फरक ठाउँमा गएर हेल्थ क्याम्प गर्यौ। १ वर्षपछि हामीले ६ /६ महिनामा जाने निर्णय गर्यौ। एकपटक जादाँ २५ / ३० लाख खर्च हुन्छ। त्यो हामीलाई विभिन्न क्षेत्रमा काम गर्ने मानिसहरुले सहयोग गरिरहेका छन। हामी डाक्टर नै नदेखेको ठाउँमा एकैचोटी ३२ जना स्पेसलिष्ट डाक्टर पुग्छौँ।

सरकारी र निजी दुबैमा काम गर्नुहुन्छ, सरकारी अस्पतालमा मात्रै काम गरेर बाँच्न सकिन्न ?
डाक्टरी पेशा सर्भिस ओरियन्डेड पेशा हो। जहाँ काम गरेपनि फरक पर्दैन। सरकारीमा काम गरेर खान पुग्ने तलब हुन्न सुरुमा। प्राइभेटमा नगइ सुखै छैन। सरकारले राम्रो व्यवस्था गरे निजीमा जानै पर्दैन। सरकारले हामीलाई ओभर टाइम गर्न दिएर त्यही अनुपातको सुविधा दिए म किन नर्भिक जान्छु। सरकारले हामीलाई काम दिनु पर्यो नि रोक्न सक्नु पर्यो नि। म आफ्नो ड्युटी पुरा सकेर मात्र नर्भिक जान्छु। अरु डाक्टर के गर्छन मलाई थाहा हुन्न।

सम्बन्धित सामाग्री

एसएलसी बोर्ड टपर विशाल: 'जो कलिलै उमेरमा बने क्यान्सर विशेषज्ञ'

‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने एक्ला डाक्टर, जसले उपचारकै लागि विदेश जानु पर्ने बाध्यता अन्त्य गरे

इबोलाको औषधि पत्ता लगाउने टिमका सुदीप खड्काको जीवनका टर्निङ र ट्विस्टहरु, भन्छन् : नेपालमै केही गर्छु

पोस्टमार्टमका 'ब्रान्ड' वस्तीको कसैले सुन्न नचाहेको कथा

२४ वर्षीया छोरीले दिइन् बावुलाई आफ्नै कलेजो



मृगौला रोगीले जस्तै कलेजो रोगीले राहत पाउन नेता नै रोगी हुनुपर्ने? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट